Comments Add Comment

आशालाई शाख र प्रदीपलाई लोकप्रियता जोगाउनै पीर

१८ मंसिर, पोखरा । कांग्रेस युवा नेता प्रदीप पौडेल प्रतिनिधि सभाको टिकट लिन आकांक्षी थिए । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको टिकटका आकांक्षी प्रदीपलाई क्षेत्र नम्बर २ को पार्टीले प्रदेशसभा क मा टिकट दिएर मैदान उतार्‍यो ।

विद्यार्थी राजनीतिक आन्दोलनबाट मूलधारको राजनीतिकमा आएका प्रदीपको विश्वास थियो, प्रतिनिधिसभामा मैले सजिलै जित्छु ।

‘जहाँबाट टिकट पाए पनि जनताको मन जितेको छु’ प्रदीप भन्छन्, ‘मैले युवाको मनमा के छ भन्ने बुझेको छु । मेरो उम्मेदवारी युवाको प्रतिनिधित्व हो । अभिभावकको आशा हो र नयाँ पुस्ताको विश्वास हो ।’

विद्यार्थी राजनीतिमै छँदा उनी लोकप्रिय बने । नेवि संघको नेतृत्व गर्दै नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा उनी लोकप्रिय मतका साथ केन्द्रीय सदस्य बने ।

कुनै सरकारी पद र प्रतिष्ठाको स्वाद नचाखेका नेता पौडेललाई यसपटक आफ्नो लोकप्रियता जोगाउँदै प्रदेश संसदको यात्रा तय गर्ने रणनीतिमा छन् ।

पौडेलको प्रतिस्पर्धी छिन्, विनाविभागीय मन्त्री आशा कोइराला । सरकारको कुनै जिम्मेवारी तहमा वा जनप्रतिनिधि भएर जनताको सेवा गर्न नपाएका पौडेलले सांसद र मन्त्रालयको जिम्मेवारी सम्हालेकी कोइरालासँगको प्रतिस्पर्धालाई उनले त सहज रुपमा हेरेका छन् तर, अरुले त्यति सहज रुपमा हेरेका छैनन् ।

वामगठबन्धनबाट माओवादी नेतृ कोइराला आफ्नो शाखलाई जोगाउँदै संसदसम्मको यात्रा तय गर्ने होडमा छिन् ।

पहिलो संविधान सभा २०६४ को निर्वाचनमा एमाले उम्मेदवार किरण गुरुङसँग झिनो मतान्तरले पराजित भएकी उनी दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सभासद बनेकी थिइन् । पूर्व शिक्षिका कोइरालाले माओवादी सशत्र संघर्षका बेला थुप्रै यातनासमेत खेपेकी थिइन् ।

यो क्षेत्र एमालेको गढको रुपमा मानिन्त । यो क्षेत्रबाट कांग्रेसबाट एक पटक अमरराज कैनी, एमालेबाट दुई पटक किरण गुरुङ र दुई पटक टुकराज सिग्देलले जितेका थिए ।

अहिले एमाले–माओवादी गठबन्धन र त्यसमाथि पनि महिला भएका कारण आशाले साहानुभूति मत समेत गरी चुनाव जित्ने विश्वास व्यक्त गर्छिन् ।

तर, एमाले र माओवादी गठबन्धनका बीच चुनावी प्रचारमा राम्रो तालमेल हुन सकिरहेको छैन ।

पौडेल समग्र तनहुँलाई पोखरासँग जोडेर विकास गर्न, पर्यटन प्रवद्र्धन, विद्युत, सडकका पूर्वाधार, रोजगार, लागयतका एजेन्डामा घरदैलो गरिरहेका छन् ।

उनी भन्छन्, ‘पोखरासँग जोडिएको यस क्षेत्रले फाइदा लिन सकेको छैन, पर्यटकको आकर्षणका लागि मादी र सेती जलविद्युतको पानीलाई उपयोग गरी पोखराको लेकसाइड बनाउन सकिन्छ ।’

पौडेलले ग्रामीण सडक सुधार र राजमार्ग विस्तार गर्नुपर्नेमा जोड दिँदै समृद्ध तनहुँ र समृद्ध प्रदेश नम्बर ४ को परिकल्पना लिएर घरदैलोमा पुगिरहेका छन् ।

पहिलो संविधानसभामा मतदाताबीच पुगिसकेकी र मन्त्री हुँदा त्यस क्षेत्रमा गरेका विभिन्न सहयोगका कारण पनि उनले सहयोगी र महिलाको मत तान्न सक्ने क्षमता आफूसँग भएको कोइरालाले दबी छ ।

कोइरालाले स्थिर सरकारले मात्र विकास निर्माणलाई तीव्ररुपमा अगाडि बढाउन सकिने मतदातालाई बुझाउँदै छिन् ।

विद्यालय, स्वास्थ्यचौकी, विपन्न महिलाको आर्थिक उन्नती, ज्येष्ठ नागरिक सम्मान र रोजगारलाई प्राथमिकता दिने र समृद्धिको बाटोमा तनहुँलाई पुर्‍याउन कोइराला बताउँछिन् ।

‘उद्योग, कृषि र पर्यटनको माध्यमबाट रोजगार वृद्धि गरिनुपर्छ,’ उनतले भनिन्, ‘प्रदेशको राजधानी जोडिएकाले कतिपय मन्त्रालय यस क्षेत्रमा स्थापना गर्न गर्न पनि मैले पहल गर्नेछु ।’

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाको ५ र ६ नम्बर वडा यो प्रदेशमा पर्छ । स्थानीय तहमा शुक्लागण्डकीमा कांग्रेस र माओवादी मिलेर कांग्रेसका मेयरले जीत गरे पनि बहुमत एमालेकै छ ।

शुक्लागण्डकी नगरपालिकामा ३२ हजार ३ सय २२ मतदाता छन् ।

म्याग्दे गाउँपालिकाको अध्यक्षसहित धेरै पद कांग्रेसले नै जित हासिले गरेको थियो । म्याग्दे गाउँपालिकामा १६ हजार १ सय २ मतदाता छन् । व्यास नपाको ५ र ६ नम्बर वडाको अध्यक्षमा पनि कांग्रेसका उम्मेदवार नै विजयी भएका थिए । यी दुवै वडामा ७ हजार ६ सय ६५ मतदाता छन् ।

प्रदेश १ मा कुल ५६ हजार १ सय ५३ मतदाता छन् । यस प्रदेशमा पौडेल वा कोइराला जसले जिते पनि थोरै मतान्तरले जीत हासिल गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment