Comments Add Comment

पिंकी भन्छिन्- संसदमा महिला र पुरुषको परीक्षण भयो, अब तेस्रोलिंगीलाई हेर्नुस्

१८ मंसिर, काठमाडौं । गुन्युचोलीमा सजिएकी युवतीको तस्वीर डा. बाबुराम भट्टराईकै ब्यानरको एक छेउमा देखिन्छ ।सडकमा यी युवती पनि अन्य उम्मेदवारहरुजस्तै माला र खादा लगाएर भोट माग्न व्यस्त भइन् । तर, यिनी महिला उम्मेदवार होइनन् र पुरुष उम्मेदवार पनि होइनन् ।

चुनावमा उनको एजेण्डा नै यस्तो रहेछ कि संसदमा पुरुष र महिलाको परीक्षण भयो, अब मतदाताहरुले हाम्रो क्षमताको परीक्षण गरेर हेर्नुस् ।

सबैलाई थाहा भएकै कुरा हो कि आगामी संसदमा महिला र पुरुषहरु अवश्य नै छिर्नेछन् । तर, यी पिंकी गुरुङलाई ‘भाग्य’ ले साथ दियो भने भावी प्रतिनिधिसभामा उनी एकमात्रै तेस्रोलिंगी सांसद हुनेछिन् । आम निर्वाचनमा तेस्रोलिंगीका तर्फबाट आफ्नो उम्मेदवारी घोषणाले आगामी संसदलाई महिला र पुरुषको परिधिबाट बाहिर निकाल्ने पिंकीको भनाइ छ ।

पिंकी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीबाट आँखा चुनाव चिन्ह लिएर समानुपातिक उम्मेदवार बनेकी छिन् । र, सडकमा भोट माग्न महिला र पुरुषहरुझैं सक्रिय बनेकी छिन् मौनसमय सुरु नहुँदासम्म ।

संसदमा छिर्नका लागि चुनावी मैदानमा उत्रेकी एकमात्र तेस्रोलिंगी उम्मेदवार पिंकी तेस्रो लिंगीहरुको साझा संस्थाकी केन्द्रीय अध्यक्षसमेत हुन् ।

तेस्रो लिंगी भन्नासाथ धेरै मानिसहरुले नाक खुम्च्याउँछन् र उनीहरुलाई हेय दृष्टिले हेर्छन् । उनीहरुको शरीरमाथि धेरै मानिसको चासो हुन्छ । र, यौनजन्य नजरले मात्रै उनीहरुलाई हेर्ने गरिएको पाइन्छ, हामीले यौनिक अल्पसंख्य समुदायकी एकमात्र उम्मेदवार पिंकीलाई यहीँनेरबाट सोध्यौं-

मान्छेहरुले साहित्य, सौन्दर्य र अन्य वैचारिक विषयमा छलफल गर्छन् । तर, तपाईहरुलाई भेटिसकेपछि केवल यौनिक विषयमा मात्रै सोधखोज हुँदा कस्तो लाग्छ ?

एकदम दिक्क लाग्छ । तेस्रोलिङ्गी र समलिंगीलाई यौनसँग, सेक्ससँग मात्रै जोडेर हेरिन्छ । त्यसदेखि बाहेक हामीमा जुन फरकखालको क्षमता हुन्छ, फरक खालको सोच हुन्छ । हामी पनि अरु मानिसहरु सरह अध्ययनशील छौं । अरु मानिसहरुमा जस्तै हामीमा पनि भावना छ । हामीले पनि केही कामहरु गर्न सक्छौं । वौद्धिकता र इन्टलएक्चुआलिटी हामीमा पनि हुन्छ ।

तर, यो कुरा सोचिँदैन र निम्न स्तरमा हामीलाई मूल्यांकन गरिन्छ । समलिंगी र तेस्रो लिंगी भनेपछि खालि शारीरिक र यौनरुपमा मात्रै मूल्यांकन गर्दिने । र, त्यसदेखि बाहेक एकदमै अण्डरस्स्टिमेट गर्दिने ।

तपाईहरुमाथि महिला र पुरुष दुबैले समान व्यवहार गरेनन्, भेदभाव गरे भन्ने गुनासो हो ?

हामीलाई मान्छेको जस्तो व्यवहारै भएन । पशुपतिमा मैले आफ्नै पैसाले मेवा किनेर खान खोज्दाखेरि मलाई मेवा बेच्ने मान्छेले पहिले पैसा मागेे । किनभने, यो तेस्रो लिङ्गी हो, योसँग पैसा हुँदैन भन्ने उनले सोचे । मान्छेहरुमा यस्तो विभिन्नखाले पूर्वाग्रहका सोचहरु छन् ।

हामी तेस्रोलिङ्गी र समलिङ्गीलाई कसैले कठैबरा भन्ने दृष्टिकोणले हेर्छन् । कसैले बिचरा भन्नेखालको तरिकाले हेरिदिन्छ, यो पनि एकखालको विभेद नै हो । कसैले चाहिँ एकदम विभेद र लाञ्छना नै गर्दिन्छ । कसैले एकदमै धेरै अण्डरइस्टिमेट गरिदिन्छन् । यिनीहरु केही गर्न नसक्ने कमजोर हुन्छन्, पढेलेखेको हुँदैनन्, यिनीहरुलाई केही गर्नै आउँदैन भन्ने ठान्छन् । र, खाली यौनसँग मात्रै सम्बन्धित कुराहरुलाई मूल्यांकन गरिदिन्छन् ।

यस्ता कुराहरुलाई आधार बनाएर जुन विभेदहरु हुन्छ नि, यसले हामीमाथि धेरै नै मानसिक चोट, भावनात्मक चोटहरु दिने गरेको छ । यस्तो कारणले गर्दाखेरि हामीमा भएको क्षमता र वौद्धिक विकासमा यसले अड्चन ल्याइरहेको छ ।

यही भावनात्मक चोटले गर्दा नै तपाईलाई संसदभित्र छिर्न मन लागेको हो कि ?

हो, यही विभेदको अन्त्य गर्न नै हामीले यो उम्मेदवारी दिएका हौं । मान्छेमा रहेको सोचाइमा परिवर्तन ल्याउनुपर्छ भनेर पनि मैले उम्मदेवारी दिएको हो । तेस्रो लिंगी पनि संसदमा आए भन्दाखेरि त मानिसहरुले केही न केही सोच्न बाध्य हुन्छन् नि ।

तेस्रो लिंगी पनि यो स्तरसम्म आइपुगेछन् भन्दाखेरि मान्छेको सोचाइ परिवर्तन गर्नका लागि म एउटा उदाहरण हुन सक्छु भने मैले किन उम्मेदवारी नदिने ?

आम जनताले जसरी महिला र पुरुषलाई परीक्षण गरेर हेर्छन् र उसको क्षमताको कदर गर्छन् भने यो चुनावी अवस्थामा मैले उम्मेदवारी दिएर जनतामा मेरो प्रतिनिधित्व जनाउने कि नजनाउने ? र, मेरो आफ्नो परीक्षण गर्नेखालको मौका जनताले दिने कि नदिने भन्ने मेरो एउटा उद्देश्य हो । म परीक्षणमा सफल भएर गएँ भने पक्कै पनि म आफ्नो क्षमता अनुसार काम गर्नेछु ।

भनेपछि समाजमा महिला र पुरुषहरुको मात्रै वर्चश्व रहनुहुँदैन भन्ने तपाईहरुको माग हो ?

तेस्रोलिङ्गी भगवानले दिएको बरदान हो । फरक किसिमको लैंगिक पहिचान स्वरले निर्धारण गर्ने अथवा लवाइले मात्रै निर्धारण गर्ने पनि होइन, प्रकृतिले निर्धारण गर्ने कुरा हो ।

समाज भनेको विभिन्नखाले मानिसहरुका समुदायको एउटा समूह हो । फरक मान्छेमा फरक खालको नेचर हुन्छ । फरक खालको सोचाइ हुन्छ । र, त्यो सोचाइ अनुसार मूल्य मान्यताहरु बनेका हुन्छन् ।

तर, अहिलेको सामाजिक परिधि महिला र पुरुषमा मात्रै निहीत छ । त्योभन्दा हामी फरक भएका कारण महिला र पुरुषको परिधिभित्र रहेको समाजले हामीलाई बहिस्कार गरेको छ, घृणा गरेको छ । आत्मसम्मान र आफ्नो स्वाभिमान गुमाएर बस्नुपर्ने बाध्यता छ, यो भनेको एकदमै नारकीय जीवन हो । यही कारणले हामी नेपालका अन्य नागरिकहरु भन्दा धेरै नै पछाडि परेका छौं ।

समलिंगी र तेस्रोलिंगीहरु संसारभरि हुन्छन् । मानव सृष्टिदेखि नै भएको हो । यसको कारण महिला र पुरुषको सम्बन्ध नै हो । जेण्डर आइडिन्टिटीमा धेरै भेराइटी हुन्छ । डाइभर्सिटी नै नेचर हो ।

तर, अहिले नयाँ संविधानले तेस्रो लिंगीहरुलाई पहिचान दिएको छ हैन र ?

संविधान त लेखियो । हाम्रो कानूनी लडाइँपछि तेस्रो लिङ्गीको पहिचान त दियो । तर, तेस्रो लिङ्गी भनेर नागरिकता लिने करिब ६६ जना जति मात्रै हुनुहुन्छ अहिलेसम्म । संविधानले उल्लेख गरे पनि त्यसलाई संरक्षित गर्ने कानून अझै बनेको छैन ।
हामीलाई सामाजिक, पारिवारिक स्वीकार्यता छैन । पठन पाठन, रोगजारीको सुविधा छैन । विभेद र लाञ्छना खेप्नुपरेको छ । हरेक प्राणीलाई स्वाभिमान र स्वतन्त्रता चाहिन्छ, हामी त मान्छे हौं ।

तपाईले महिला र पुरुषहरु भन्दा हामी कम छैनौं भन्न खोज्नुभएको हो ?

हामीसँग पनि महिला र पुरुषहरुको जस्तै क्षमता हुन्छ । अझ हामीमा त महिला र पुरुष दुबैका विशेषता एकै व्यक्तिमा हुने भएकाले विशेष खालको क्षमता हुन्छ । कोही साथीहरु साहित्य, लेखहरु लेख्नुहुन्छ । कोही साथीहरु आर्टिस्ट हुनुहुन्छ । धेरै साथीहरु मेकअप आर्टिस्ट त तपाईहरुले देख्नु नै भएको होला । अहिले कोरियोग्राफी डिजाइनर धेरै साथीहरु छन् ।

सोसाइटीमा अरुले जसरी कामहरु गर्छन्, त्योभन्दा धेरै काम गर्न सक्ने क्षमता हाम्रो समुदायमा हुन्छ । तर, हामीलाई समाजमा स्वीकार्यताको वातावरण छैन । यसले गर्दा कतिले लुकेर आफ्नो प्रतिभाहरु देखाइरहेका हुन्छन् । अथवा लुकेर बसेका कारणले प्रतिभा देखाउन नपाइरहेको अवस्था छ । अहिलेचाहिँ तेस्रोलिंगीहरुले खुलेर देखाउने अवसर पाइरहेका छन् र देखाइरहेका पनि छन् । विस्तारै समाज परिवर्तन हुँदैछ ।

तपाईले निकै मार्मिक तर रोचक कुरा गर्नुभयो, कि यो समाज महिला र पुरुषको परिधिमा मात्रै सीमित रहनुहुँदैन । तपाईको पोशाक र श्रृंगार हेर्दाखेरि महिला नै भन्न सकिन्छ । तर, बोली ठ्याक्कै पुरुषको जस्तो छ । तपाई महिला र पुरुषभन्दा भिन्नै हो वा दुबैको मिश्रण ?

जसरी हाम्रो आत्मा महिलाको छ र शरीर पुरुषको हुँदाखेरि आत्मा र शरीरको तालमेल मिलेको छैन, त्यसलाई मिलाउनका लागि हामीले आफ्नो आत्मा अनुसारको पहिरन लाउने हो ।

अरु महिला र पुरुषभन्दा हामी फरक नै हुन्छौं । मेरो स्वर पुरुषको जस्तो छ, हेर्दा महिलाजस्तो देखिन्छ, पक्कै पनि हामी जन्मिँदाखेरि पुरुष, वालक भएर जन्मेको हो । हुर्कँदै बढ्ने क्रममा आफ्नो चाहना, जुन आत्मानुभूति छ, त्यो तेस्रो लिङ्गी भएका कारणले गर्दाखेरि आफ्नो पहिचान महिलाको जस्तो बनाएका छौं । हाम्रो आत्माको सोचाइ र जुन भावना छ, त्यो टोटल्ली महिलाको जस्तो हुन्छ ।

जैविक लिंग जस्तो छ, त्यसको ठीक विपरीत, पुरुष भए महिला र महिला भए पुरुषको आन्तरिक अनुभूति हुने र जैविक लिंगको विपरीत चाहना र लैगिंक पहिचान बनाएर बस्छन् । यस्तो खालको व्यक्तिलाई हामीले तेस्रो लिङ्गी भन्ने हो ।

तपाईको अनुभवमा पुरुष र महिला भन्दा तेस्रोलिङ्गीहरु कमजोर हुन्छन् या क्षमतावान् ?

महिला र पुरुषको भन्दा हामीमा दुईवटा खालको क्षमता र गुण हुन्छ । शारीरिक रुपमा हामी पुरुष हौं । र, भावनात्मक रुपमा, मानसिकरुपमा अनि आत्मिकरुपमा हामी महिला हौं । मेल र फिमेलको समायोजित स्वरुप हामी एउटै व्यक्तिमा हुन्छ । जसरी महिला र पुरुषमा दुईथरिको क्षमता र गुण हुँदैन, हामीमा त्यस्तोखालको क्षमता र गुण हुन्छ ।

नेपालमा तेस्रोलिङ्गीहरुको संख्या कति छ ? तपाईहरुको समुदायमा कति सदस्यहरु छन् ?

हामीले सदस्य बनाएका छैनौं । तर, सन् २००१ देखि अहिलेसम्म ५/६ लाखको संख्या छ । हाम्रो रिसर्चले नेपालमा ९ लाख तेस्रोलिंगीहरु छन् भन्ने छ । यति नै छ भनेर यकिन आँकडा आउन सकेको छैन ।

तर, अहिले पहिचान लुकाएर बसेकाहरु धेरै छन् । एकदमै टप लेभलका सेलीब्रेटीहरु छन् । राजनीतिक पृष्ठभूमिका मान्छेहरु छन् । सुनील दाइ नभएका बेलामा पनि तेस्रोलिंगी सांसदहरु थिए । सेना प्रहरी र सरकारी कर्मचारीमा पनि तेस्रोलिंगीहरु छन् ।

तपाईको विचारमा तेस्रोलिंगीमाथिको व्यवहारको कसीमा नेपाली समाज विस्तारै फेरिँदै गएको जस्तो लाग्छ या पुरानै छ ?

समुदायभित्र कुनै विषयवस्तुलाई लिएर सकारात्मक धारणा राख्नेहरु पनि हुन्छन् र समाजभित्रको कुनै सदस्य नकारात्मक सोच राख्ने पनि हुन्छन् । समाजभित्रको यस्तो विविधखालको सोचाइलाई हामीले कसरी एकरुपता कायम गर्ने र सोचाइ परिवर्तन कसरी गर्ने भन्ने चुनौतीको कुरा हो ।

जसरी एउटा पुरुष र महिलासँगै बस्दाखेरि यिनीहरु बिगि्रए भनेर समाजले हेर्छ, त्यो कुनै मानिसको व्यक्तिगत सोचले निर्धारण गर्ने कुरा हो । यस्तोखालको सोचाइ समाजमा जहिले पनि हुन्छ । समाजमा सबै समानुभूतिखालको सोचाइ राख्ने मानिसहरु कहिल्यै हुँदैनन् ।

हाम्रो तेस्रोलिङ्गको विषयलाई लिएर पनि समाजमा यस्तै हुन्छ । कोही मान्छे बुझ्ने हुन्छन्, कोही नबुझ्ने हुन्छन् । कोही बुझ्नै नचाहने हुन्छन् त कोही बुझेर पनि बुझ पचाउने हुन्छन् । समाजमा चारथरि मान्छे हुन्छन् ।

हामीलाई सकारात्मक रुपमा बुझ्ने मान्छे त्यो हो, जो आफूभन्दा पृथकखालको नेचरलाई ग्रहण गर्न सक्छ । जसले आफूभन्दा फरकखालको नेचर भएको व्यक्तिलाई ग्रहण गर्न र स्वीकार्न सक्छ, त्यो मान्छेले यो विषयलाई सकारात्मक रुपमा र सामान्यरुपमा लिन्छ ।

तर, मानिसमा समझदारीको लेभलको इन्डिङ पोइन्ट कहिल्यै हुँदैन । यसको लेभल माथि-माथि बढ्दै जान्छ । मानिसको आफ्नो सांस्कृतिक पृष्ठभूमि कस्तो हो, उ कस्तो कल्चरमा हुर्किएको छ र उसको मुख्य स्वाभाव कस्तो हो ? यसले समाजभित्र रहेका यौनिक कुराहरु निर्धारण हुन सक्छन् ।

त्यसैले मान्छेको सोचाइ अहिलेको अहिल्यै बदल्न गाह्रो हुन्छ । त्यसका लागि हामी तेस्रो लिंगीलाई हेरेर, बुझेर, नजिकबाट संगत गरेर मात्रै बुझ्न सकिन्छ ।

यसअघि पहिलो संविधानसभामा नेकपा संयुक्तका तर्फबाट सुनिलबाबु पन्तले तेस्रोलिङ्गीको प्रतिनिधित्व गर्नुभएको थियो । अहिले उहाँ बेलायतमा हुनुहन्छ, तपाई यस संस्थाको अध्यक्ष हुनुहुन्छ । अहिले तपाईहरु बाबुराम भट्टराईको नयाँशक्तिमा लाग्नुको कारणचाहिँ के हो ?

हामी नयाँशक्तिमा संस्थापना कालदेखि नै लागेका हौं । माओवादी छाडेपछि हामी बाबुरामलाई भेट्न गयौं । हामी पनि नयाँशक्तिमा बस्न इच्छुक छौं भनेपछि हामीलाई राख्नुभयो । नयाँशक्ति पार्टी घोषणा हुनुभन्दा अगाडिदेखि नै हो हामी लागेको ।

तेस्रो लिङ्गीहरु बाबुरामकै नयाँशक्तिमा लाग्नुको कारणचाहिँ के हो ?

बाबुराम सरको जुन स्वच्छ छविको छाप छ, त्यसले गर्दा आम नेपाली जनतामा उहाँ लोकपि्रय हुनुहुन्छ । सरकारमा हुँदा स्वरोजगारमार्फत युवाहरुलाई रोजगार दिनुभयो । उहाँ अर्थमन्त्री हुँदा उहाँको सरकारले हाम्रो समुदायका लागि सधैंको भन्दा बढी रकम छुट्यायो । काठमाडौंको सडक त्यहीबेला विस्तार भयो । संविधान पनि बन्यो । त्यसमा हाम्रो अधिकारको मुद्दा सम्वोधन भयो ।

संविधान बनाउने बेलामा हामीले डा. बाबुरामलाई भेट्या हो । उहाँले हाम्रो समुदायलाई बुझ्नुहुन्छ भन्ने लाग्यो । हाम्रो मुद्दालाई सपोर्ट गर्नुहुन्छ भनेर आएको हो ।

तर, बाबुरामको पार्टीले राष्ट्रिय दलको मान्यता पाउँदैन भन्छन् कि ?

हिजो हाम्रै भोटले नेकपा संयुक्तले संसदमा प्रतिनिधित्व गरेको हो । हाम्रो समुदायले हामीलाई संसदमा पुर्‍याउँछ र बाबुराम सरले नेतृत्व गरेको पार्टीलाई पनि राष्ट्रिय पार्टी बनाउनेछ । किनभने, हाम्रो समुदायबाट कांग्रेस, एमाले र माओवादीलगायत कसैले पनि एक जनासम्म उम्मेदवार उठाएका छैनन् । नयाँशक्तिले मात्रै तेस्रो लिंगी समुदायलाई संसदमा उम्मेदवार बनाएको छ । त्यसैले देशैभरिबाट हाम्रो भोट नयाँशक्तिको आँखा चिन्हमै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment