Comments Add Comment

गुल्मीमा १ बजेबाट मतगणना सुरु हुँदै


२२ मंसिर, तम्घास । गुल्मीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ । जिल्लाका बिभिन्न स्थानबाट गएराति सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम तम्घास ल्याइएको छ ।

शुक्रबार बिहान जिल्लास्थित राजनीतिक दलहरुको सर्बदलीय बैठकले १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । क्षेत्र नं. १ को मतगणना जिल्ला प्राविधिक कार्यालय र जिल्ला समन्वय समितिको हलमा गरिने भएको छ ।

यसैगरी क्षेत्र नं. २ को जिल्ला प्रशासन कार्यालय गुल्मीको भवनमा मतगणना गरिने भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

मतगणना सीसी टीभी क्यामराको निगरानीमा गरिने भएको छ । अन्य जिल्लाहरुमा तारजाली सहित मतगणना गरिएपनि गुल्मीमा भने तारजाली राखिएको छैन ।

दलका प्रतिनिधिहरुलाई भने मतपत्र छुन नदिइने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । दलका प्रतिनिधिहरुलाई मतगणना भन्दा केही टाढा राखेर डेक्स बेञ्चमा राखिने छ ।

गुल्मी जिल्लामा ६५ दशमलव ४६ प्रतिशत मत खसेको थियो । क्षेत्र नं. १ कुल १ लाख ९६ हजार ३ सय ३७ मतदातामध्ये ७० हजार ६ सय ५० मत खसेको थियो ।

यसैगरी क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १४ जना मतदातामध्ये ५८ हजार ८९ मत खसेको थियो ।

गुल्मीमा क्षेत्र नं. १ मा एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी तथा क्षेत्र नं. २ मा एमालेका गोकर्ण विष्ट र कांग्रेसबाट चन्द्र केसी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment