Comments Add Comment

फुङ्लिङ नगरपालिकामा समस्या नै समस्या

धुलाम्मे सडक,खानेपानी समस्या र गुणस्तरहीन फोन सेवा

१४ पुस, ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका भित्र समस्यै समस्या देखिएपछि नागरिकहरुले गुनासो गर्न थालेका छन् ।

नगर क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै नगरवासीहरुले समाधानका लागि आग्रह गरेका हुन् ।

टेलिकमले प्रदान गरेको थ्री जि र एडीएसएल सेवा गुणस्तर नभएको नगरवासीले गुनासो गरेका छन् ।

उनीहरुले नगरपालिका र टेलिकमले टेलिफोन, मोवाईल र ईन्टरनेटको गुणस्तर विस्तारमा ध्यान नदिदा अहिलेको समयमा पनि मोवाईलमा थ्रीजी र नेटवर्कको समेत गुणस्तर नभएको बताएका छन् ।

फुङ्लिङ नगरपालिकाका स्थानीय पुन्य बराल सामान्य कुराकानी र जानकारी लिन पनि अझै नगरपालिका क्षेत्रकै डाँडा र ल्याण्ड लाईन भएको स्थानसम्म दौडनुपर्ने बाध्यता रहेको बताउँछन् ।

टेलिकमले थ्रीजी सेवा सबै टावरमार्फत विस्तार नगर्दा नगरपालिकाका १, २, ३ र ८ का स्थानीय सबै भन्दा बढी मारमा परेको बरालको भनाइ छ ।

अर्का स्थानीय नारायण बरालको भनाइ पनि उस्तै रहेको छ । सबै वडासम्म मोवाइलको टावर नआउने समस्या रहेकाले अझै पनि फुङ्लिङ नगरपालिकाको केही वडाका स्थानीय ल्याण्ड लाइन राखेको केन्द्र तर्फ धाउनुपर्ने अबस्था रहेको बताउँछन् ।

सञ्चार र सामाजिक संझालको जमानामा पनि फुङ्लिङ नगरपालिका भित्रका स्थानीयनै यस्तो सेवाबाट बन्चित हुनुपरेको बताउँदै उनले नगरपालिकालाई फ्री वाईफाई जोन बनाउने घोषणा गरेर स्थानीय तहको चुनावमा भोट मागेका उम्मेदवारले अहिले आएर वाईफाई मात्र नभई मोवाइल टावरको समेत कुरा भुलेको स्थानीयको गुनासो रहेको छ ।

वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे सडक अझै उस्तै

फुङ्लिङ नगरपालिका क्षेत्र भित्र कच्ची र पक्कि धेरै सडक सञ्झाल छन् । पाँच वर्षभित्र सबै वडाका कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने योजना बनाएका फुङ्लिङ नगरपालिकाका मेयरको योजना अनुरुप काम भइरहेको नगरपालिकाले बताए पनि सदरमुकाम भित्रकै मध्य सडकमा चौविसै घण्टा धुलो उड्दा मुख छोपेर हिड्न बाध्य भएको स्थानीय भरत लिम्बुले बताए ।

सदरमुकाम भित्रको पुरानो बैक लाइन क्षेत्रमा कोही पनि स्थानीय मुख नछोपि हिड्न र बस्न सक्दैनन्, सडक पक्की भए पनि आसपासका कच्चि सडकबाट आउने हिलो र धुलोले सो सडक पनि ढाक्दा चौविसै घण्टा धुलो उड्छ, कसरी हिड्ने लिम्बु प्रस्न गर्छन ।
नगरपालिकाले सडकको स्तर उन्नति, निर्माण र मर्मतमा ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ ।

सडक निर्माणसँगै ढल निर्माण र निकास नहुँदा ढलको पानी नै सडकमा दौडदा समस्या अझै बढेको पाथिभरा क्याम्पसका प्राध्यापक समेत रहेका स्थानीय सजन पौडेलको भनाइ छ ।

सदरमुकाम भित्र मात्र नभइ सदरमुकामबाट दोभान, सिवा, सुकेटार, नाङ्खोल्याङ् हुँदै थेचम्बु जाने सडकको पनि स्तर उन्नति नहुँदा हिउँद र वर्षात दुबै समयमा स्थानियले समस्या बेहोर्नु परेको स्थानिय खगेन्द्र चाँगेलिको गुनासो रहेको छ ।

अस्पतालको स्तरउन्नती नहुँदा समस्या

फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जिल्ला अस्पताल ताप्लेजुङका कर्मचारी र चिकित्सकलाई सेवामा सुधार गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।

अस्पतालमा उपचारमा पुगेका आˆना आफन्तदेखि स्थानीयसम्मको उपचारमा लापरबाही भएको मेयरको भनाइलाई लिएर अस्पताल र नगरपालिका बीच भित्रभित्रै चर्काचर्कि परे पनि अस्पतालको सुधार र व्यवस्थापनमा गुनासो नघटेको नगरपालिकाकै कर्मचारी बताउँछन् ।

केही दिन अघि मेयर छत्रपति प्याकुरेलले महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा आयोजित औपचारीक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयले कमि कमजोरी सुधार नगरे कर्मचारी र प्रशासनको छानविन गर्ने चेतावनि नै दिएका थिए । तर, पनि अस्पतालको फोहोर व्यवस्थापन, शौचालय र बाथरुम सरसफाइ, बिरामिलाई गर्ने व्यवहारमा परिवर्तन नभएको स्थानीयको गुनासो छ ।

स्थानीय वासी दीपक थापा जिल्ला अस्पतालमा अति आवस्यक पर्ने एस रे मेसिन, सिटी स्क्यान सहितको सेवा विस्थारमा पनि नगरपालिकाले ध्यान दिनुपर्ने बताउँछन् ।

अस्पतालकै फार्मेसिमा सबै प्रकारका औषधि नपाइने र दुई पाला पर्तिरको निजी क्लिनिकमा सबै औषधि पाइने बेतिथिको अन्त्यमा पनि अहिलेसम्म नगरपालिका र प्रशासनको ध्यान नगएको थापाको गुनासो रहेको छ ।

जिल्ला अस्पतालमानै पनि सरकारले निशुल्क भनि तोकेको औषधि पर्याप्त मात्रामा नपाउनु नगरपालिकाका मात्रै नभइ जिल्लाका स्थानीयको लागि दुखत भएको उनको भनाइ छ ।

स्थानीय दिपेन्द्र घिमिरे जिल्ला अस्पतालमा आएका बिरामीलाई नहेरी डाक्टर निजी क्लिनिकमा पनि जाने चलन ताप्लेजुङमा पनि भएकोमा यस तर्फ पनि ध्यान दिन नगरपालिका सहित अस्पताल प्रशासनलाई सुझाव दिन्छन् ।

पार्किङस्थल निर्माण र टहरा व्यवस्थापन मुख्य चुनौति ताप्लेजुङ सदरमुकाम फुङ्लिङलाई मेचिको अन्तिम जिल्लाको रुपमा लिईन्छ । झापा, इलाम, पाँचथरबाट आउँने सबारीको अन्तिम बिन्दु फुङ्लिङ बजारनै हो ।

तर, नगरपालिका भित्र पार्किङ् गर्ने क्षेत्र निर्माण नहुँदा सानु सडककै दायाँ बायाँ बस, ट्याक्सि र ट्रक रोकेर राख्ने गरीएको छ ।

यसले गर्दा सवारी सञ्चालन देखि लिएर पैदल यात्रुलाई यात्रा गर्न समेत समस्या हुने गरेको छ ।

सानु सडक आसपासमानै सडकसम्म फैलने गरी पसल गर्ने, टहरा निर्माण गर्ने र चिया देखि तरकारीसम्म विक्री गर्नेहरुको संख्या बढेकाले दुर्घटनाको जोखिम अझै बढेको स्थानीय योगेश्वर निरौलाको भनाइ छ ।

सबै ठाउँमा समान सडक विस्तारमा ध्यान नदिदा र पार्किङ र बजारलाई व्यवस्थापन नगर्दा नगरपालिका भएको अनुभुति अझै हुन नसकेको निरौलाले गुनासो गरे ।

केही महिना अघि नगरपालिका कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीवीच पार्किङका विषयमा जग्गा निर्धारण गरी सोही स्थानमा पार्किङ गर्ने सहमति भए पनि अझै कार्यान्योयनमा आउन सकेको छैन ।

सुविधासम्पन्न पार्किङको व्यवस्था भए ससुल्कनै भए पनि पार्किङ गर्न नगरवासी तयार रहे पनि संबन्धित निकायको यो वषयमा अझै ध्यान नपुगेको स्थानिय सजन पौडेल बताउँछन् ।

यता फुङ्लिङ नगरपालिकाले भवन र टहरालाई व्यवस्थापन गर्न सूचना प्रकाशित गर्दै पहिलो काम सुरु गरेको बताएको छ ।

घर, टहरा, भवन लगायतका संरचना बनाउँदा नगरपालिकाको निर्माण ईजाजत लिनुपर्ने र त्यसो नगरे जरिवाना गर्ने तयारी भएको नगरपालिकाले बताएको छ ।

घर टहरा व्यवस्थापन गरे केही हदसम्म सडक अतिक्रमण रोकिने नगरपालिकाको बुझाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment