१७ पुस, वीरगञ्ज । प्रदेश नं २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७४/७५ को ५ महिनामा ६ करोड २३ लाख ५८ हजार ७ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।
महानगरले नगरवासीसँग लिँदै आएको विभिन्न करबाट सो रकम संकलन भएको हो ।
जुन लक्ष्यको २७ प्रतिशत जति मात्रै हुन आउँछ । महानगरपालिकाले चालु आर्थिक वर्षमा २३ करोड ३९ लाख ११ हजार ६ सय रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा कार्यालयले १८ करोड १९ लाख ६१ हजार १ सय ५० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।
जुन लक्ष्यभन्दा ४ प्रतिशत कम हुन आउँछ । आर्थिक वर्षको सुरुको तीन महिनामा राजश्व संकलनका लागि विभिन्न छुटको प्याकेज दिने गरेको भएपनि वाषिर्क कर भएकोले आर्थिक वर्षको अन्त्यतिर वा काम परेपछि बीचमा बुझाउन आउने गरेको अनुभव महानगरपालिकाको छ ।
महानगरपालिकाले नगरवासीसँग एकीकृत सम्पत्ति कर, व्यवसाय कर, सवारी कर, मनोरञ्जन कर र आन्तरिक सम्पत्तिहरुलाई ठेक्कामा लगाएर आम्दानी लिँदै आएको छ ।
मंसिरमा मात्रै दुई करोड आम्दानी
तुलनात्मक रुपमा आन्तरिक आम्दानी बढाउँदै लगेको महानगरपालिकाले मंसिर महिनामा मात्रै २ करोड ८ लाख ९३ हजार ५ सय ९ रुपैयाँ २० पैसा आम्दानी गरेको छ । यो अघिल्ला २ महिनाको भन्दा दोब्बर बढी आम्दानी हो ।
महानगरपालिकाले असोजमा ६५ लाख ७ हजार २ सय ३४ रुपैयाँ ४६ पैसा र कात्तिक महिनामा ९९ लाख ५९ हजार २ सय २८ रुपैयाँ १२ पैसा राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्षको अन्त्यतिर मात्रै धेरै आम्दानी हुने गरेकोमा यस वर्ष मंसिर महिनाको राजश्व संकलन राम्रो देखिएको राजश्व फाँटका कर्मचारीहरुले बताएका छन् ।
स्थानीय तहमा जनप्रतिनिधिहरु आउनुको साथै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकोले मंसिरमा राजश्व संकलन राम्रो भएको राजश्व फाँटका प्रमुख अधिकृत मनोज कर्णले बताए ।
वर्षको अन्त्यमा बढी राजश्व
नगरका बासिन्दाहरुले आर्थिक वर्षको अन्त्यतिर मात्रै गएर विभिन्न राजश्व बुझाउने गरेका छन् ।
महानगरपालिकाको तथ्याङक हेर्ने हो भने अन्य महिनाको तुलनामा जेठ र असार महिनामा बढी राजश्व संकलन हुँदै आएको देखिन्छ ।
गत आर्थिक वर्षको असार मसान्तमा महानगरले ३ करोड ३७ लाख ६० हजार ९ सय २४ रुपैयाँ आम्दानी गरेको छ । जुन मासिक रुपमा संकलन भएको राजश्व विवरणका अनुसार सबैभन्दा बढी हो ।
यस्तै आर्थिक वर्ष २०७२/७३ मा पनि जेठ असार महिनामा नै अन्य महिनाको भन्दा बढी राजश्व संकलन हुने गरेको छ ।
महानगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार सो आर्थिक वर्षको असार महिनामा महानगरपालिकाले ४ करोड, ८२ लाख, १३ हजार ७ सय ९० रुपैयाँ ८६ पैसा राजश्व संकलन भएको छ ।
प्रतिक्रिया 4