Comments Add Comment

मनकामना मन्दिरमा पुजारीका छोराको हर्कतः दर्शालु र सुरक्षाकर्मीलाई दुर्व्यबहार

१८ पुस, गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई दुर्व्यबहार हुने गरेको गुनासो आउन थालेको छ ।

मन्दिरका मुल पुजारीका छोरा निशान थापा मगरले उनीहरुलाई दुर्व्यबहार गर्ने गरेको खुलासा भएको हो ।

पुजारीको पोशाक लगाएर मन्दिरको गेटमा बसेर भक्तजनहरुलाई दुव्र्यवहार गर्ने गरेको स्रोतको भनाइ छ । ‘दर्शनका लागि आउने भक्तजनलाई लात्ताले हान्छु भन्ने, गाली गर्ने, हातपात समेत गर्न खोज्छन्, केही दिनअघि त झडप नै पर्ला जस्तो भएको थियो,’ स्रोत भन्छ । मगरको व्यवहारले भक्तजनसँगै स्थानीयहरु आजित भएका छन् ।

मन्दिरमा इन्सान थापा मगरका तीन भाइ र एक कुटुम्व भान्जा पुजारीको रुपमा काम गर्छन् । तर, इन्सानका छोरा निशान पनि पुजारीको पोशाक लगाएर मन्दिरमा पुजा गर्न बस्छन् ।

मुख्य पुजारीका छोरा भएकाले उनलाई कुनै रोकतोक छैन । करिब एक/दुई घण्टा पुजा गरेपछि मन्दिरको गेटमा आएर बस्ने र भक्तजनहरुलाई थर्काउने, गाली गर्ने मगरको दैनिकी जस्तै बनेको स्रोतको भनाइ छ ।

भक्तजन मात्र होइन उनले मन्दिर क्षेत्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई समेत दुर्व्यबहार गर्ने गरेको आरोप लागेको छ । ड्युटिमा खटिएका सुरक्षाकर्मीको अपमान गर्ने र अनावश्यक झन्झट दिने गरेको स्रोत बताउँछ ।

‘आˆनै बाबुलाई पनि टेर्दैन, मन्दिरमा काम गर्नेहरुलाई पनि जागिर खाइदिन्छु भन्दै धम्की दिन्छ, मन्दिरमा एकलौटी अधिकार जमाउन खोज्छ,’ स्रोत भन्छ ।

मनकामना मन्दिर दर्शनका लागि दैनिक हजारौ भक्तजनहरु आउने गर्छन् । तर, पुजारीको पोशाक लगाएर भक्तजनलाई दुव्र्यबहार गर्दा नराम्रो सन्देश जाने भन्दै स्थानीयहरु चिन्तित छन् । ‘पुजारीको काम त पुजा गरेर भक्तजनलाई खुशी पार्ने हो, अहम भावना लिएर डन प्रवृति देखाउन मिल्छ र ?,’ एक जना भक्तजनले भने ।

यता निशानका बुवा इन्सान थापा मगरले भने भक्तजनहरु लाइनमा नबसी जवरजस्ती मन्दिर घुस्न खोज्ने र नपाए झगडा गर्ने गरेको बताउँछन् । ‘लाइनमा नबसी भित्री बाटोबाट छिर्न खोज्छन् अनि पाएन भने झगडा गर्न खोज्छन् त्यही भएर सामान्य विवाद भएको होला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment