बिहीबार, ६ वैशाख, २०७५
OnlineKhabar.com

वीरगञ्जमा कविताका विरुवा !

सुरेश बिडारी


भैया सुतल बाडे कुछो ना कहेली,

बेटीके पाँचै बजे जगादेली माई

बेटी हउ कहके सब काम करावेली

वीरगञ्ज कुम्हालटोलकी रश्मी गुप्ताले तराई मधेसमा छोरीमाथि हुने विभेद कवितामार्फत बोलिन् । उनको ‘हे राम हम काहे बेटी भईनी ’ शीर्षकको कवितामा समाजको तीतो यथार्थ थियो ।

कोपिला कोमल छ, तर कमजोर होइन

एक्लो छ तर तर स्वतन्त्र होइन

वीरगञ्ज नगवाकी आरती साहले कोपिला शीर्षकको कवितामा कमजोरलाई हेप्ने प्रवृत्तिदेखि भ्रुण हत्यासम्मका कुरालाई समेटिन् ।

आजको कोमल कोपिला भोलि चट्टानसरी बलियो हुन्छ भन्ने भाव उनको कवितामा थियो ।

नेपाललाई चाहिने ओलिभ आयलदेखि ईन्जिन आयल

फ्युल अफ फ्लाईटदेखि सेल अफ टर्च लाईट

हातमा सेट हुने ह्यान्डसेट मोबाईलदेखि

ल्यापको टपमा राखेर चलाउने ल्यापटप

यहाँको व्यपार मोष्टली करोडौंमा खेलाउँछ

त्यसैले ३द्यच्व् नेपालको थोरै ट्रेड हब कहलाउँछ

रोहित वर्णवालले लेखेको ‘माई भिउ प्वाइन्ट ३द्यच्व्’ कविताको अंश हो यो ।

नेपाली र अंग्रेजी दुवै भाषाको प्रयोग गरेर लेखिएको यो कविताले वीरगञ्जको वास्तविकता बोलेको छ । वर्णवालले त्यही कवितामार्फत वीरगञ्जको वेथितिलाई समेत प्रहार गरे ।

यहाँ सम्भावना छन्, तर सम्भव छैन,

दक्ष छन् तर लक्ष्य छैन

प्लान छ, तर प्लान्टेसन छैन

यहाँ कानुन छ, तर पालना छैन

अल आर अस्तव्यस्त

यहाँ छैन केही वास्ता

पुस २२ गते शनिबार विद्यालयमा अध्ययनरत १५ जना भाइबहिनीहरुको कविता सुन्ने अवसर मिल्यो । कसैले आफ्नै कक्षाका साथीहरुको आनीवानीलाई कवितामा उतारे । कसैले आफ्नो भोगाइ त केहीले प्रेमका भावनाहरुलाई कवितामार्फत पस्किए । कसैले दर्शकलाई हँसाए त कसैले भावुक बनाए ।

वाचन भएका कविताले सहभागी सबैको मन छोए । कविता सकिएपछि मात्रै होइन, बीचबीचमा पनि तालीको गडगटाहटले हल गुञ्जियो ।

वीरगञ्ज राजनीतिक आन्दोलनमा जस्तै साहित्यिक आन्दोलनमा पनि अग्रज नै मानिन्छ । यहीको माटोबाट हुर्केका स्थापित साहित्यकारहरु धेरै छन् । तर पछिल्ला दिनहरुमा साहित्यिक माहोल कमजोर छ भन्दा गलत हुँदैन सायद ।

वीरगञ्जमा नियमित हुने ‘प्रभात काव्य यात्रा’ खासै जम्न सकेको छैन । त्यसले नयाँ पुस्तालाई समेटन सकेको देखिँदैन । अन्य साहित्यिक प्रतियोगिताहरु शुन्य प्रायः छन् । स्कुल कलेजहरुमा कहिलेकाहीँ आयोजना हुन्छ ।

यही वीरगञ्जमा २२ पुस शनिबार ‘वर्ड वारियर्ज स्पोकन वोर्ड’ कविता समूहले ‘स्पोकन वर्ड पोएट्री लाइभस् वीरगंज’ कविता वाचन कार्यक्रम गर्‍यो । ‘राइट टु स्पिक’ प्रोजेक्ट अन्तर्गत, अलुम्नाइ इन्गेज्मेन्ट इन्नोभेसन फन्ड (एइआइएफ) र काठमाडौँमा रहेको सतोरी सेन्टर फर द आर्ट्सको सहयोग र वीरगञ्जकै ‘संस्कृति’ युवा समूहको सहकार्यमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यालयमा अध्ययन गर्दै गरेका छात्रछात्राहरुको कविता आफ्नै शैलीका थिए । उनीहरुको लय पनि आफ्नै थियो । पुराना शैली र लयभन्दा विल्कुल फरक । कवितासँगै स्कुले उमेरका भाइबहिनीहरुले देखाएको नृत्य र गाएको गतिले सहभागीलाई मन्त्रभुग्ध बनायो ।

यी साना–साना विद्यार्थी भाइबहिनीहरुकै सक्रियतामा कविता वाचन कार्यक्रम आयोजना गरिएको संस्कृतिका आँशु सर्राफ बताउँदै थिए । ‘हामीले त समन्वय मात्रै गरिदिएका हौं, भाइबहिनीहरुकै सक्रियतामा कार्यक्रम सफल भयो’ उनले भने ।

भाइबहिनीहरुका कविता सुनेर बसेका वीरगञ्जका वरिष्ठ पत्रकार एवं व्यङग्यकार मुकुन्द आचार्यले साहित्यिक कार्यक्रमहरु साहित्यका लागि स्वास्थ्यवर्धक हुने बताए । उनले पारसमणि प्रधानको कविताको अंश– ‘ कविता कवि होस, कवि कविता तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ भाव भए पो हुन्छ ।’ भन्ने पंक्ति सुनाउँदै कवितामा शब्द मात्रै नथुपार्न सल्लाह दिए ।

रुख विरुवाजस्तै साहित्यलाई हुर्कन पनि वातावरण चाहिन्छ । डायरीमा कोरिएका कविता सुन्ने सुनाउने वातावरण चाहिन्छ । त्यस्तो वातावरण वीरगञ्जमा निर्माण हुन सकेको छैन । साहित्यमा बामे सर्दै गरेका साना केटाकेटीका कविता स्तरीय थिए । अलिकति शब्दमा निखारताको कमी देखिन्थ्यो ।

कार्यक्रम सकिएपछि होटल बाहिर निस्कँदै गर्दा शितलहरको चिसो सिरेटोले सोध्दैै थियो– खोई त यिनीहरुलाई वातावरण ? खोई त यिनीहरुका लागि माहौल ? खोई त यिनीहरुका लागि अवसर ?

२०७४ पुष २४ गते १०:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this