Comments Add Comment

मंगलापुरमा एक करोडमा जेष्ठ नागरिक मिलन केन्द्र बन्ने

४ चैत, बुटवल । रुपन्देहीको मंगलापुरमा करिब एक करोड लागतमा सुविधासम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ ।

बुटवल-बेलहिया ६ लेन सडकसँग जोडिएको झण्डै १४ कठ्ठा क्षेत्रफलमा केन्द्र बन्ने भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं. ९ मा बन्ने केन्द्रको सोमबार शिलान्यास भएको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्कहरु निर्माण गरिनेछ ।

निर्माण हुन थालेको केन्द्र नजिकैं ऐतिहासिक रामजानकी मन्दिर छ । जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुयाउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो ।

यस्तो बन्दै छ ज्येष्ठ नागरिक मिलन केन्द्र ।

केन्द्रको शिलन्यास गर्दै नगर प्रमुख बासुदेव घिमिरेले जेष्ठ नागरिक मिलन केन्द्रलाई नमूना बनाइने बताए । जेष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्र उपयोगी हुने उनको भनाइ छ ।

जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यान समेत निर्माण गरिने वडा अध्यक्ष नारायण न्यौपानेले बताए । यसअघि तिलोत्तमा वडा नं. ४ डिङ्गरनगरमा पनि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको छ ।

नेपालमा ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment