Comments Add Comment

अस्थायी मुकाम जनकपुर तोकेको विरोधमा वीरगञ्ज बन्द, जनजीवन प्रभावित


४ माघ, वीरगञ्ज । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा आजबाट अनिश्चितकालीन वीरगञ्ज बन्द आह्वान गरिएको छ । वीरगञ्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले बन्द–हडतालको बाटो रोजेको हो ।

बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बन्न पुगेको छ । कलकारखाना, बजार र शैक्षिक संस्थामा पनि बन्दको असर देखिएको छ । यद्यपि, बन्दकर्ताहरुले एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध पुर्याएका छैनन् ।

सरकारले बुधबार प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेपछि जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर संघर्ष समितिले अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो । यसअघि संघर्ष समितिको आयोजनामा वीरगञ्जको घण्टाघरमा रिले अनशन चलिरहेको थियो ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले मधेश आन्दोलनको केन्द्र रहेको वीरगञ्जलाई प्रादेशिक राजधानी नतोकेर यस क्षेत्रका नागरिकमाथि सरकारले अन्याय गरेकोले कडा आन्दोलनमा उत्रनु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment