Comments Add Comment

पत्रिका समाचारः संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान, विनोद चौधरी कता ?

 शपथका लागि रातभर तयारी, रातिसम्म मुकाम पुगेनन् प्रदेश प्रमुख

७ माघ, काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा अलग–अलग विषयहरु परेका छन् । पत्रपत्रिकाहरुले आज आर्थिक, सामाजिक, राजनीतिकदेखि पर्यावरणसम्मका विषयलाई आफ्ना पृष्ठहरुमा समेटेका छन् ।

सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथ लिन लागेको समाचारलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले विभिन्न शीर्षक दिएर लेखेका छन् ।

एमाले–माओवादी एकताका लागि पछिल्ला दिनहरुमा ती पार्टीका शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । यो विषयलाई पनि आजका पत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

कांग्रेस संसदीय दलको चुनाव हुन लागेको र पार्टी सभापति शेरबहादुर देउवासँग प्रकाशमान सिंह भिड्न लागेकोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ । कालिकोटमा फैलिएको भाइरल प्रकोपलाई मुख्य समाचार बनाएको कान्तिपुरले स्मार्ट लालपुर्जा ल्याउने गृहकार्यमा सरकार जुटेको खबरलाई पनि मुख पृष्ठमा स्पेश दिएर छापेको छ ।

यसका अलावा स्थानीय तहमा १५ हजार कर्मचारी करारमा भर्ना गर्न लागिएको, सातै प्रदेशमा सचिव खटिएको लगायत समाचारले पनि पत्रपत्रिकामा ठाउँ पाएका छन् ।

संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान

कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्न लागेको विषयलाई आज नयाँँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ । तर कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल समूहका धेरै नेता विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । समाचार अनुसार बन्द सूचीको प्राथमिकताका आधारमा सांसद् छनोट भएमा देउवाको पक्षमा ३७ र पौडेलको पक्षमा २२ सांसद् हुनेछन् ।

‘नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको दाबेदार हुन्, नयाँ पत्रिका दैनिकले आफ्नो खबरको अगाडि लेखेको छ, ‘त्यसमध्ये पनि सिंह दाबेदार हुन् । संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । तर सिंह भने देउवाको प्रतिष्पर्धीका रुपमा आफूलाई उभ्याउनकै लागि भए पनि उम्मेदवार बन्ने सोचमा छन् ।

निर्वाचनअघि एमालेबाट कांग्रेस प्रवेश गरेका उद्योगपति विनोद चौधरी भने कतै पनि खुलेका छैनन् । कांग्रेसभित्र उनले कुन पक्ष लेलान् भनेर चासोका साथ हेरिएको छ ।

मधेसी रिझाउँदै कांग्रेस, तालमेल टुंगो दुई दिनभित्रै

 

फाइल तस्वीर

डा. बाबुराम भट्टराईको अभिव्यक्तिलाई मुख्य समाचार बनाएर छापेको अन्नपूर्ण पोस्ट दैनिकले कांग्रेसले मधेसी दल रिझाउन कसरत गरेको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार कांग्रेसले राष्टियसभा निर्वाचनको मनोनयन अघि नै तालमेलको टुंगो लगाउने गरी संघीय समाजवादी फोरम र राजपासँग छलफल अघि बढाएको छ ।

माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी अन्नपूर्णको समाचारमा उल्लेख छ ।

 शपथका लागि रातभर तयारी, शनिबार रातिसम्म मुकाम पुगेनन् प्रदेश प्रमुख

कालिकोटको भाइरल प्रकोपपछिको कान्तिपुरको प्राथमिकतामा प्रदेशसभाका निर्वाचित सदस्यको शपथग्रहण तयारी परेको छ ।

कान्तिपुरका अनुसार सातै प्रदेशका प्रदेशसभाका निर्वाचित सदस्यको आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएपछि रातभर तयारी गरिएको छ । कतिपय प्रदेश प्रमुख तथा सांसद् शनिबार राति अबेरसम्म पनि मुकाम पुगेका छैनन् । उनीहरु बाटोमै रहेको र आइतबार निर्धारित समयभित्र पुग्ने समाचारमा उल्लेख छ ।

सातै प्रदेशमा खटिए सचिव

सरकारले सातवतै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सचिव खटाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी भएको समाचार नागरिक दैनिकमा छ ।

समाचार अनुसार प्रदेश १ मा रामकृष्ण हुमागाईँ, २ मा लावण्यकुमार खनाल, ३ मा चतुर्भुज ज्ञवाली र ४ मा देवीप्रसाद ज्ञवालीलाई खटाइएको छ । यस्तै प्रदेश ५ मा सनदकुमार दवाडी, ६ मा भरतबहादुर ढुंगाना र ७ मा युवराज सुवेदी खटिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले एउटा प्रदेशमा १३ कर्मचारीका दरले ७ वटा प्रदेशमा ९१ कर्मचारी खटाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार एउटा प्रदेश प्रमुखका लागि कार्यालयमा १३ र निजी सचिवालयका लागि १२ कर्मचारी खटिनेछन् ।

कालिकोटमा भाइरल ज्वरो, गाउँभरि बिरामी

कान्तिपुर दैनिकले आज कालिकोटमा फैलिएको भाइरल ज्वरोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार प्रकोप नियन्त्रणमा नआउँदा गाउँका सबैजसो बिमारले थलिएका छन् । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १८ बिरामी भेटिएका छन् ।

अब स्मार्ट लालपुर्जा

सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी स्मार्ट लालपुर्जा मार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ ।

कान्तिपुर दैनिकका अनुसार पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्वीर प्रस्ट नभएको जस्ता आम गुनासा सम्बोधन गर्न यसलाई ल्याउन लागिएको हो ।

समाचार अनुसार भूमिसुधार मन्त्रालयले यसको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको छ ।

बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

नयाँ पत्रिका दैनिककै पहिलो पृष्ठमा बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च भए पनि ४८ अर्ब घाटा लागेको समाचार छ ।

गत आर्थिक वर्ष ०७३–७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ अर्ब ३१ अर्ब मात्रै भएको समाचारमा उल्लेख छ । सरकारले विनियोजन गरेभन्दा २ खर्ब १८ अर्ब रुपैयाँ कम खर्च हुँदा पनि सरकारले खर्चको स्रोत भने जुटाउन सकेन ।

स्थानीय तहमा १५ हजार कर्मचारी करारमा भर्ना गरिँदै


सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्ने अनुमति दिने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकका अनुसार, कर्मचारी अभावमा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो ।

सरकरले स्थानीय तहलाई अहिलेसम्म प्राविधिक र अन्य समूहका आवश्यक कर्मचारी दिन सकेको छैन । कानूनको अभावमा स्थानीय तहले कर्मचारी भर्ना गर्न पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment