Comments Add Comment

कथाः दोसाँध

कहिले राम्रो हुन सकिन्न रैछ । कहिले आफ्नो हुन सकिन्न रैछ । माया पाउन पनि भाग्य नै चाइने रैछ । मायाको लागि तड्पिँदा जीन्दगी जाने भयो । यस्तो भेदभाव सहन धेरै गाह्रो हुने रैछ । यसरी पीडा दिनुभन्दा सिधै गोली हान्दिनु नि…

यो कस्तो बेचैनी ? यो कस्तो बेहोसी ? यो कस्तो पीडा ? यो कस्तो भाव ? अचानक यसरी फुरेको यो भावले पागल बनायो । जीवनको परिभाषाभित्र रुमल्लिएको यो परिवेशले आज आफैँलाई घायल बनायो ।

सबथोक भएर पनि केही नभए जस्तो । पानी बीनाको माछा जस्तो । सागरको किनारमा सुख्खा बालुवा जस्तो । हिमालमा अग्लिएको टाकुराको ढुंगा जस्तो । आकाशमा कावा खाँदै गरेको पङ्क्षी जस्तो । गन्तव्य पहिल्याउन नसकेर यात्रामा अल्मलिएको यात्री जस्तो ।

पहिचान हराएको आन्दोलन जस्तो ।

ऊ आफ्नो अनुहार ऐनामा हेर्छे । अहो, आज मलाई के भो । अचानक यो कस्तो भाव आयो । के मैले बिहान लगाएको सिन्दुर मेरै लागि हो ? या मैले अरु कसैका लागि पहिरिएकी हुँ ?

के यो निधारमा लत्पतिएको सिन्दुर नै मेरो परिचय हो ? या, त्यस सिन्दुरको बहानामा मैले बाँचिरहेको यो जीवन नै मेरो परिचय हो । वा, मैले जन्माएका दुई सन्तानको जीवन मेरो परिचय हो ? अथवा, उनीहरुको खुशीका लागि मैले पूरा गर्ने कर्तव्य नै मेरो परिचय हो ?

परिचयको खोजीमा मैले बिताएका ती रातहरु जसले मलाई आफ्नो परिचय खोज्न बाध्य पार्छ । ती दिनहरु जहाँ मैले आफ्नो दैनिकी चलाइको छु, त्यहाँनेर मैले देखेका र भोगेका कथाहरु । जसले मलाई आफ्नो भविष्यप्रति चिन्तित तुल्याउँछ ।

केवल दिन रात गर्नु मात्र जीवन हो ? वा, हात मुख जोर्नु मात्र जीवन हो ? अथवा, जीवन के हो भनेर बुझ्न र जान्नका लागि रात दिन गर्नु नै जीवन हो ?

कसैले भनेको याद आउँछ । मान्छेलाई कमसेकम दुई सय वर्ष आयु चाहिन्छ । जन्म्यो, हुक्र्यो, बढ्यो, पढ्यो । २५ बर्ष त कम्तिमा उमेर जान्छ । त्यसपछि केही गर्न खोज्यो । हण्डर खायो, ठक्कर खायो । अनि, फेरि नयाँ काम थाल्यो । चालिसको हुन्छ । केही व्यापार व्यवसाय वा जागिरमै लाग्यो भने पनि रिटायर्ड हुँदासम्म ६० बर्षको हुन्छ ।

राम्रो हुनुभन्दा सजिलो हाम्रो हुनु रहेछ, त्यसरी नै माया पाउन पनि भाग्यमा नै हुनु पर्ने रहेछ

उसले त्यसबेलासम्म धेरै कुरा सिकेको हुन्छ, जसलाई उसले व्यवहारिक जीवनमा लागू गर्न भ्याइरहेको हुँदैन । त्यसबेला प्राप्त गरेका अनुभवलाई पूँजीकृत गर्न सकिरहेको हुँदैन ।

आज मेरो जीवनमा पनि अनुभवले काम गरिरहेको छैन । के यतिन्जेलको अनुभवले मैैले जीवनमा नयाँ सोच ल्याउन सक्दिन ? केही फरक गर्न वा मेरो तिमीसँगको जीवनको अनुभवका आधारमा नयाँ निर्णय लिन पाउँदिन ? जसरी मान्छेले पूरानो सोच र चिन्तनलाई नफालेसम्म सही ढंगले अगाडि बढ्न सक्दैन, त्यसरी नै म पनि पूरानो बोझलाई मिल्काएर अगाडि बढ्न चाहन्छु ।

तिमी मलाई आज के भयो ? भनेर सोध्दै छौ । मैले भनी सकें त । जीवनमा कहिल्यै पनि राम्रो हुन सकिन्न रहेछ । राम्रो भन्दा पनि हाम्रो हुन बरु सजिलो रहेछ । किनभने एकपटक कसैको भइसकेपछि सक्कियो । जीवनको विकल्प नै रहेन रहेछ । जस्तो म तिम्रो भइसकें ।

अब के म तिमीलाई त्याग्न सक्छु ? के तिमी मलाई त्याग्न सक्छौ ? जसरी आज मैले मेरा सबै भविष्यका रुपरेखाहरुलाई तिलाञ्जली दिएर तिम्रो घर चहारेँ, के तिमी यही रुप रेखाको परिधिभित्र रहेर बाँच्न सक्छौ ?

जसरी राम्रो हुनुभन्दा सजिलो हाम्रो हुनु रहेछ, त्यसरी नै माया पाउन पनि भाग्यमा नै हुनु पर्ने रहेछ । हो, आज मलाई तिमीले दिएको मायाले भन्दा अरुकै मायाले तानिरहेको भान हुन्छ । खै किन हो किन ? तिमीले रातमा दिएको मायाभन्दा उसले दिनमा दिएको माया नै प्यारो लाग्छ ।

तिमीले साथमा लगाएको मायाभन्दा पनि उसले यादमा लगाएको माया साह्रो लाग्छ ।

हो, म अब यसरी त्यो मायाका लागि तड्पिन सक्दिन । किनभने उसको मायाको रापले मलाई तताइरहेको छ । तिमी मलाई रातमा जति जति नजिक ल्याइरहेका हुन्छौ, म त्यति नै तिमीबाट टाढा भइरहेको हुन्छु ।

तिमी त केबल तनले माया गरिरहेका छौं, ऊ त मेरो मनमा सजिइरहेको छ । जसरी तिमी एकाबिहानै काममा जान्छौ, त्यसपछि बल्ल मेरो वर्तमान पनि तिमीसँगै नै हराउँछ ।

भो, अब म तिमीबाट यस्तो भेदभाव भएको देख्न सक्दिन । धेरै सतायौ तिमीले । आज पनि मलाई टाढा हुन दिएनौं । जसरी मेरो वर्तमान टाढा हुन्छ, तिमी विगत बनेर कसरी यही बाटोबाट आउँछौ ? मेरो मनमस्तिस्कमा ।

विगतको सुखभन्दा पनि वर्तमानको दुःखले सताएको बेला, भन त विगत ? के तिमी वर्तमानलाई चिन्छौ ? के तिमी वर्तमानसँग बसेर कुरा गर्न सक्छौ ? तिमी वर्तमान जीवन बारेका दृष्टिकोण र सोचसँग परिचित छौ त ? के वर्तमानमा मैले भोगिरहेका तीतामिठा अनुभवहरुसँग जानिफकार छौ ? कि तिमी विगतमै रमाइरहेका त छैनौ ? र, कतै मेरो जीवन आज पनि मैसँगै छे भन्ठान्छौ की ?

भन त विगत । तिमी कुन दुनियाँमा छौ । र, जति जतिबेला मेरो वर्तमान मसँग नजिक हुन्छ । तिमी त्यही बेला कताबाट आइपुग्छौं ? कुन बाटो भएर पस्छौ, मेरो मन मस्तिस्कमा ?

के तिमीलाई याद भएर आउन मेरो घरको गेटमा टासिएको कुकुरदेखि सावधान लेखेको बोर्डसँग डर लाग्दैन ? या, समसाँझै मेरो घरको मूलढोकामा झुण्डिएको भोटे लाल्चाले रोक्दैन ?

त्यति मात्र होइन, तिमीलाई मेरो घरको प्यासेजै प्यासेज हिँडेर मेरो बेडरुममै आइपुग्न लाज पनि लाग्दैन है ?

म त्यही गीत हुँ । जसको सुर र तालले मेरो वर्तमानलाई आनन्द दिइरहेको हुन्छ । मेरो वर्तमान जतिबेला मेरो तनलाई एउटा नाचघर ठानेर व्यवहार गरिरहेको हुन्छ । ठीक त्यति नै बेला तिमी विगतको एउटा भयानक पर्खाल बनेर बीचमा खडा भइदिन्छौ

तिमी यहाँ आइपुग्दा एउटा दृश्य देखिरहेका छैनौ ? या, देखेर पनि बुझ पचाइरहेका छौ ? मेरो बेडरुममा तिमी मेरो वर्तमान मज्जासँग सुतिरहेको देख्दैनौ ? सँगैको लोबेडमा दुई थान प्रगति र उन्नतीहरु निदाइरहेको तिमीले देखिरहेका छैनौं ? त्यतिले पनि तिमीलाई रोकेन भने मेरो रंगिएको निधार त पक्कै देख्यौ नै होला ।

गलामा सजिएको पोते र त्यसमा उनिएको मंगलसूत्र त झन् मजाले देख्यौ होला ।

के तिमीलाई थाहा छ, एउटी नेपाली नारीका लागि सबैभन्दा ठूलो जीवन सिन्दुर हो भन्ने ? उसको त्याग भनेकै उसको वर्तमान हो । तै पनि तिमी मेरो घर आँगनमा यता उति डुलिरहेका छौं ? उसको सुर र ताल भनेकै त्यही नै हो, जसलाई उसको वर्तमानले संगीतको झङ्कार ठानेर बजाइरहेको हुन्छ ।

हो, म त्यही गीत हुँ । जसको सुर र तालले मेरो वर्तमानलाई आनन्द दिइरहेको हुन्छ । मेरो वर्तमान जतिबेला मेरो तनलाई एउटा नाचघर ठानेर व्यवहार गरिरहेको हुन्छ । ठीक त्यति नै बेला तिमी विगतको एउटा भयानक पर्खाल बनेर बीचमा खडा भइदिन्छौ ।

जतिबेला मेरो वर्तमानले मेरो विगतलाई भुलाउन नयाँ–नयाँ संगीतमा सार मिलाइ रहेको हुन्छ । जतिबेला मेरो वर्तमान गितारका तारहरु तानतुन पारिरहेको हुन्छ, ठीक तिमी विगतको थोत्रो सारंगी बनेर मेहेफिलमा जमिरहेका हुन्छौ ।

विगत, म मेरो वर्तमानलाई भुल्न सक्दिन । मेरा उन्नति र प्रगतिलाई त्याग्न सक्दिन । यसरी म मेरो विगतको यादलाई मस्तिष्कमा बोकेर वर्तमानमा जीउन सक्दिन । तिमी यसरी पीडा नदेऊ । बरु सिधै गोली दागिदेऊ । म मेरो विगत र वर्तमानको दोसाँधमा बाँच्न सक्दिन …।

(सिग्देलको प्रकाशोन्मुख कथा संग्रह मनोनेटबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment