Comments Add Comment

चितवनमा ‘मेयर कप’ अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

दर्शकलाई प्याराफिटको व्यवस्था

२० माघ, चितवन । चितवनमा पहिलोपटक ‘मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल’ प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं. २२ को आयोजनामा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म पर्यटकीय नगरी पटिहानीमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

वडा अध्यक्ष विष्णुराज महतोका अनुसार प्रतियोगितामा बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम र भारतको फ्रेन्च क्लब कोलकत्तासहित नेपालका विभागिय टोली एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल संघको टिम र न्यू डाईमण्ड एकेडेमी काठमाडौंको सहभागिता रहनेछ ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समापन गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष महतोले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रचार-प्रसार समितिका संयोजक रामहरि सेढाईंले बताए ।

यस्तै, तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ र अन्य चार विधामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

पर्यटकीय नगरी पटिहानीमा यसअघि पद्मोदय युवा क्लवले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको थियो ।

प्याराफिटमा बसेर भलिबल हेर्न पाइने

यसपटक आयोजकले दर्शकको सहजताको लागि प्याराफिटको व्यवस्था गर्दैछ । वडा अध्यक्ष महतोले ८ सय जना दर्शक बस्न मिल्ने गरी प्याराफिट निर्माण गर्न लागिएको जानकारी दिए । दर्शकहरुलाई लागि ५०, १०० र २०० रुपैयाँटिकट मूल्य तोकिएको छ ।

नकआउट लिग कमको आधारमा खेलाइने प्रतियोगिताको खाली समयमा सांस्कृतिक कार्यक्रम समेत गर्न लागिएको आयोजकले जनाएको छ ।

यस्तै यसपटक विभिन्न खेल सामाग्री रहेको स्टल, होटल, सूचना केन्द्रलगायतका गरी २० वटा स्टल समेत प्रतियोगितास्थलमा राखिने अध्यक्ष महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment