‘चल रे !’
सानो छडीले टाउकोमा सोठ्याएपछि हात्ती लम्कियो । हात्तीको ढाडमा बसेका छौँ, हामी चार जना तिघ्रे-तिघ्रे ।
बिहान कणर्ालीको चिसापानीमा भुँडी उकासेपछि हामीले आफ्नो घुम्ने योजना फरक पार्यौँ, एकाएक । बेस्सरी घाम चर्केको हुनाले सियाँल ताक्दै बर्दिया राष्ट्रिय निकुञ्ज डुल्ने योजना बन्यो ।
गणेश शाहले सुझाए यो कुरो । अनि, सुधन पौडेल, नगेन्द्र रेग्मी र मैले सहीछाप ठोक्यौँ । त्यसपछि आमवासाबाट हामी दक्षिणतिर दगुरेथ्यौँ, सास न बास भएर । बस्ती र जंगलको देखादेख, भेटघाट र आमनेसामनेमा हाम्रा मन परे, आँखा परे, पैताला परे ।
ठाकुरद्वारा पुग्न निकै समय लाग्यो । तालु सेक्ने वैशाखको गर्मीले पसिना, उकुसमुकुस, घमौरा सबै ल्यायो शरीरमा । काछ पाछेर म आच्छु-आच्छु भइरा’थेँ ।
पानी पुर्याउनै हम्मे भो ज्यानमा !
‘ओठ मात्र भिजाउँछु ल’ भनेर पानीको बोतल लिनेले आधा रित्याएपछि आफ्नो वचन सम्झन्थ्यो, बल्ल-बल्ल । पानी चोराचोर खुबै भयो यो डुलाइमा ।
‘लाख सूर्यसँग जम्काभेट !’
म बोली रहेको छु, पसिना पुछ्दै ।
मुखको एक पत्र राम्रैसँग डामिएको थियो । नाके डाँडीमा तातो रापले खुइल्याएको थियो, छाला । दक्षिणतिर बेस्सरी हुइँकिएका हामीलाई ओरई नदीले स्वागत गर्यो ।
घना वनसँग भेटघाट हुन छाडेन । वन, बस्तीको लुकामारीमा वेगिएको बाटोमा हामी पनि दगुर्यौँ, खुबै-खुबै ।
शिवपुरमा पानी पिइयो फेरि ।
खाएको पानीले पसिनाका छाँगा-छहरा बनाएर शरीरबाट सोसेको सोसेकै गर्यो । ताल भएन, खहरिएर उर्लिरह्यो पसिनाको छाल ।
आमवासाबाट हुर्दुराएको एक घण्टामा ठाकुरद्वारा पुग्यौँ । सानो बजारजस्तो कल्याङमल्याङमा एकछिन रोकिनुपर्ने भयो, हामीले ।
‘हात्ती चढ्ने र निकुञ्ज हेर्ने टिकट आउँदै छ !’
गणेशले हामीलाई ठाकुरद्वारा मन्दिर घुमाउँदै भनेका थिए ।
शाहको हार्दिकता र स्नेहप्रति मन पग्लिरहेको थियो । जीवनमा धनभन्दा नि ठूलो रै’छ मन ।
ठाकुरद्वारा वरपर दैलेख, जुम्ला, कालीकोटतिरकाहरु बढ्ता भेटिए । विकट कर्णालीकाे अन्तर-कुन्तरबाट झरेका ती मनुवाले बर्दियाका थारु-चौधरीसँग जीवनको घामपानी झेलिरहेको सुनियो ।
०००
हात्ती लस्कियो ।
छेदु चौधरी थिए, माउते । उनी हात्तीका टाउकामा बसेर वरपरको संसार हामीलाई बताइरहेथे ।
२०३८ सालमा बर्दिया वन्यजन्तु तथा आरक्षण भनिए पनि ०४५ सालदेखि त्यसको नाम बेग्लिएछ, बर्दिया राष्ट्रिय निकुञ्ज ।
नौ सय ६८ किलोमिटरमा फैलिएको यो निकुञ्ज १४ सय ४१ मिटर सुकरमालाको अग्लो उचाइमा रहेछ । यस्तै, एक सय ५२ मिटर होचो ठाउँ रहेछ, मनाउघाट ।
पूर्वपश्चिम ७० किमि र उत्तरदक्षिण चौडाइ १०-२० किमिमा फैलेको रहेछ ।
निकुञ्जको ढोकैमा अनेक सूचनापाटी थिए । बाघ, गैँडा, गोही, हरिण, चराचुरुंगीका जानकारी पढिरहँदा मैले साथीहरुलाई ठट्टा गरें, ‘साक्षात दर्शन गर्न आएका छौँ । यो तस्बिरमा मन किन खर्चिनु ?’
अनि, सबैले ‘हो-हो’ भनेपछि हाम्रो बगाल थारु संग्रहालय छिरेर हात्ती चढ्न यता आएथ्यो । जतिसक्दो चाँडो हात्तीमार्फत् वन विचरणमा हामी आकुलिएका थियौँ, हतारिएका थियौँ, हुर्दुराएका थियौँ ।
छेदुले ‘चल रे’ भनेको हात्ती ढोई थियो । हात्तीसारबाट निस्केर उत्तरतिर लागेको थियो ।
कुइनेटामा ढेडु र हरिणका बथानले हामीलाई बाटो छाोडिदिए । दुईसिंगे रतुवाका माझमा सप्लाएका भालेले पहरा दिइरहेका थिए । कति धेरै मोटाघाटा, चिल्ला र सफा हरिण !
अघि गोही पनि हेरेथ्यौँ । गैँडासँग भरे भेटघाट गरौँला भनेका थियौँ ।
‘थुनेर राखेको गैँडालाई के हेर्नु !’ मैले भनेको थिएँ । ‘त्यो कतै जाँदैन । जहिले हेरे पनि भो नि !’
शाहले मेरै कुरालाई सघाएका थिए ।
अनि, हामी रुखमाथि बनाइएको हात्तीसार उक्लेका थियौँ । हौदा कसेर आएको हात्ती त्यही रुखमुनि आएर उभिएपछि हामी हौदाको चारै कुनामा बसेका थियौँ, छरिएर ।
‘चल रे !’
छेदुको बोली मसिनो छ । एकदमै मिहीन । तर, बुझिन्छ प्रष्ट ।
साथीहरु हल्ला गर्न थालेपछि मैले भनेँ, ‘जति चुप बसिन्छ, उति जनावर भेटिने सम्भावना बढ्ता हुन्छ Û’
तैपनि, साथीहरु हल्ला गर्न छाडेनन् ।
‘शान्त है शान्त !’
मैले रोक्न पनि छाडिनँ ।
हात्तीले वनको गोरेटो समातेर खोलातिर आफूलाई पसायो । यो कणर्ालीको भँगालो रहेछ ।
‘डुब्छ कि क्या हो ?’
हात्तीको खुट्टा पूरै डुबेको देखेपछि नगेन्द्रले सोधे ।
छेदुले हात्ती धपाउँदै भने, ‘यसले जसरी नि बचाउँछ !’
खोलामा मज्जैले पानी खायो हात्तीले । एकाउन्न, बाउन्न, त्रिपन्न, चौवन्न लिटर पानी खाला भनेर हामी चारले गलफती गरेका थियौँ ।
‘कम्तीमा पनि पचपन्न लिटर त खान्छ-खान्छ !’
छेदुले भनेपछि टुंगियो कुरो । उनी परे माउते । माउते भनेपछि हात्ती त ‘उठ्-बस्’ गर्छ । हामी त त्यही हात्तीका जिउमा बसेका बिचरा मनुवा !
‘यसको नाउँ के हो ?’
‘चम्पाकली !’
मैले उत्तर पाएँ छेदुबाट ।
खोलाबाट उक्लेको हात्ती ठाउँ-ठाउँमा घाँसका त्यान्द्रातुन्द्री सुँडले बटारबुटुर गरी चरुँलाझैं गर्न थाल्यो । हात्तीका काननिर आफ्ना खुट्टाले घोचेर ढोई धपाउन छाडेनन् छेदुले ।
‘चल रे !’
छेदुको बोली बेला-बेलामा लठ्ठीसँगै बज्रिरहन्थ्याे । त्यतिबेला हात्तीको लस्काइ अलिक चाँडो भइहाल्थ्यो । हामी पनि हल्लिन पुग्थ्यौँ, झोलुंगाका बच्चाजस्तो ।
उत्तरतिर लागेको चम्पाकलीको उमेर चालीस भएछ । उसलाई बर्दियाको यही जंगलबाट ल्याएर सधाइएको रे !
‘अहिले ठीक छ !’
‘पहिले नि ?’ मैले प्रश्न गरेथेँ ।
‘धेरै बदमास । धेरै नै चलाख पनि !’ छेदुको उत्तर थियो ।
‘कस्तो बदमासी ?’ मेरो खसखस ।
चम्पाकलीले छेउको रुखको डाली भाँचेर लम्क्यो । सुँडले लहरालाई तानेर सजिलो पारिदिन्थ्यो, हाम्रो बाटो ।
‘जंगलका भाले हात्ती बोलाएर हात्तीसारमा राखेका अरु हात्तीसँग मिसमास गरेर भगाउने । यस्तो बदमासी निकै गर्यो चम्पाकलीले । तर, पछि हार खायो । अहिले ठीक छ !’
छेदुको उत्तर सुनेर सबैजना हाँस्यौँ ।
हाँसो निकै जोडदार भएछ । नजिकैका रुखमा बसेका काला-काला ढेडुका बथान रुख-रुखमा हाम फाल्न थाले ।
वनै हल्लिने गरी आवाज आयो हर्लङ-हर्लङ । रुखका हाँगा जुधेर सर्लङ-सर्लङ आवाजले वनै थर्कियो ।
‘हात्ती रिसाउँछ पनि ?’ सुधनले सोधे ।
‘मज्जाले भोकाएको बेला, बिरामी परेको बेला बेस्सरी रिसाउँछ । अझ, पोथीसँग सहवास गर्न नपाएको झ्वाँकमा खुबै रिसाउँछ !’ छेदुले पछाडि फर्केर भने ।
अनि मुस्काए मुसुक्क ।
‘उपचार के त उसको कामवासना रोक्ने ?’ मेरो खुलदुलीमा खुसखुस हाँसे साथीहरु ।
‘सिक्रीले बाँधेर राख्ने । अनि, खानै नदिने । त्यसपछि उसको फुर्ति सेलाइहाल्छ नि !’ छेदुले उत्तर दिए ।
उनको उत्तर सुनेर हामी सन्न भयौँ ।
‘हात्तीको नैसर्गिक अधिकारलाई अवरोध पारेको अपराधमा जेल सजाय पो हुने देखेँ मैले । किनभने मान्छेले यौन सम्बन्ध राख्न पाऊन् भनेर अदालतले कैदीका लोग्नेस्वास्नीलाई महिनामा एक पटक भेटाउने आदेश दिएको मैले पढेथेँ !’
मेरो उत्तरमा शाह, रेग्मी र पौडेल खित्काएरै हाँसे ।
चम्पाकली लुरुलुरु लम्किरहेकै थियो । उसलाई यता-उता, उता-यता लम्काइरहेथे छेदुले ।
‘१७ वैशाख ०७४ को दिन, बर्दियामा जंगली पाहुना भएको लेख्न पाए हुने रुखका बोक्रामा !’ मेरो तर्क ।
‘अमीट हुन्छ त्यो !’ रेग्मीले सही थापे ।
‘बरु रुख सुक्छ । रुखमा खोपेको जाँदैन !’ शाहले भने ।
घना वन छ । लडेका रुख र सुकेका ठुटामा झ्याउ पलाएर उमि्रएका बेग्लै खालका बुट्यान देखेर जीवनका उकाली-ओरालीलाई सम्झेर एक पटक हृदयतिर फर्कें । कसले जित्यो, कसले हार्यो । कुनै समयमा ठडिएको रुख आज लडेको छ, भुइँमा । त्यो सोत्राम्मिएको ठुटोमा अर्को बिरुवा लहलहाएर अग्लिइरहेको छ, निरन्तर ।
शायद जीवनको उतारचढाव यस्तै हो, जीतहार यस्तै हो । सधैँ एकैनासे जीत हुँदैन कसैको नि !
माउतेले हामीमाथिको रुखका हाँगालाई फेरि भाँचे । केहीलाई लठ्ठीले पन्छाए ।
‘टोपी, चस्मा उडाउला !’ छेदु बोले ।
‘मुख भत्काएचैँ राम्रै चिनो हुन्छ, बर्दिया राष्ट्रिय निकुञ्जको !’ मेरो बोलीमा सबैले हाँसो थपी-थपी वनै घन्काए ।
घाँसको ढड्यान बढेको थियो, बेस्सरी । बर्खाको जंगल हात्ती नै छोपुँलाझैँ गरी लहलहाएको थियो । हाम्रै खुट्टामा नि बेरिन आइपुग्थे, कतिपय थरि-थरिका लहराहरु ।
‘जुत्ता तान्ला नि लहराले !’ मैले भनेँ ।
‘ठीक छ त गैँडाले लाउला !’ गणेशले ठट्टा गरे ।
मैले थपथाप गरेँ, ‘एउटा जुत्ता लिएर आउला कोहलपुर । त्यै बेला समातेर उसलाई सोधपुछ गरौँला !’ मेरो कुराले फेरि खित्का छुटायो ।
घना वन थियो । वनमा खयर, साल, पीपल, सिमलका ठूला-ठूला रुखहरु देखिन्थे । अनेक लहरामा जेलिएका रुख र बुट्यानको भरिलो संसार देखेर मनै भएथ्यो हरियै । भुइँमै बिलाएकादेखि आकाशको बादल छुँला-छुँला खालका रुखका टुप्पा र हाँगा !
‘एक वर्ष वनमै बस्ने हो भने शरीरमा कमिला, कीरा र सर्पले स-साना गोरेटा बनाउँथे होलान् !’
छेदुलाई पनि छोएछ । उनी पनि मुसुक्क हाँसेको देखेँ ।
‘चम्पाकली पनि प्रभावित भई कि क्या हो ?’ गणेशले ठट्टा गरे ।
डुब्दो घाममा हामी जंगल पसेका छौँ । घाम, रुख, ढड्यान र जेलिएका लहरासँगै हात्तीको लस्काइ । त्यो लस्काइमा हाम्रा अनौठा रहर छन्, अगम इच्छा छन्, अपार भोक छन् ।
‘डर के हुन्छ यसरी घुम्दा ?’ नगेन्द्रको चौ-चौ छ ।
‘जेको पनि डर छ । धेरै-धेरै डर हुन्छ नि !’ छेदुको सोझो उत्तर ।
ढड्यानलाई मर्याकमुरुक पारेर अघि बढिरहेको छ, हात्ती । सानातिना बिरुवा भाँचिन्छन् । कतिचैँ माड्मुडिएर विस्तारै ठडिन्छन्, हामी दुई-चार पाइला अघि बढुन्जेलमा ।
‘बाघको हुन्छ, भालुको हुन्छ !’ छेदुको बोली सुन्छु ।
‘अझ ठूलो डर जंगली हात्तीकै हुन्छ !’ यो बोली पनि छेदुकै ।
सबैका मन डराए । अनुहारमा त्रासका काला बादल कुदे सरर्र-सरर्र । चुपचाप सबैका मुख । शरीरको रगत अघिसम्म तातो थियो, अहिले हठात् सेलायो । एक्कासि सातो गयो सबैको ।
‘मत्ताहरु ढोई खोज्नै हिँडिरहेका हुन्छन् । अकस्मात् त्यसरी तिनका सामु परिए, बाँचिने चानस कमै हुन्छ !’
‘जोगिनै गार्हो हुन्छ !’
छेदुले सत्य बोले । तर, हाम्रो मुटुमा अत्यासको आगो बल्यो ह्वारह्वारी ।
हात्ती ढड्यानघारी छिचोल्दै कता-कताबाट खोला छेउ पुग्यो । नदी किनार पुग्नुअघि हात्तीले कान पट-पट बजाएको थियो । भुइँमा सुँड बजारेर बङ-बङ आवाज निकालेको थियो ।
त्यसपछि माउतेले यो खोलातिर ल्याएको थियो, हात्तीलाई । हाँगाको पर्दा, लहराको झल्लरमल्लर माझमा छौँ ।
हात्तीले त्यस्तो गर्दा अत्तालिएको थिएँ म । अरुका अनुहार नि नीलाकाला भएथे ।
एकछिन हात्ती रोकिएपछि खोलापारि गैँडा ओर्लिरहेको देखियो । पानी खाएर आइरहेको गैँडा हामी भएतिरै हान्निएर वेगिइरहेको देखाए, छेदुले । सास दबाएर मैले हेरेँ । साथीहरु नि धुकधुकी रोकेरै सामुन्नेको विशाल गैँडा हेरिरहेथे ।
सबैले एउटा अजंगको गैँडा हामीसँगै जुध्न कान ठाडा-ठाडा पारेर आइरहेको देख्यौँ । थोरै बगर नाघेर खोलाको गढतीर उक्लिएलगत्तै हात्ती र गैँडाको जम्काभेट भइहाल्थ्यो ।
‘मैले अघि नै हात्तीले कान पटपट पारेको र सुँड बजारेको देख्नेबित्तिक्कै अड्कल काटेको थिएँ । यतै केही छ होला भनेर !’ छेदुले यति भनिनसक्दै खोलाबाट बेतोडले आइपुग्यो गैँडा ।
हात्तीले पनि स्वाँस्वाँ-सुँसुँ र माउतेले पनि हाहा-हुहु गरेपछि गैँडा पनि बेतोडले घना वनतिर वेगिएर लुप्त भयो ।
हामी त चपक्कै भएथ्यौँ डरले ।
‘यो जुध्नै आएथ्यो । तर, साहसचैँ गरेन !’
छेदुका कुरा सुनिरहेका छौँ हामी ।
एकछिन त सातै गयो । सामुन्ने जुध्न आएको गैँडा देखेर । ऊ भागेपछि फेरि वातावरण अर्कै भयो ।
‘किन त्यो टुप्लुकिएको ?’ शाहले सोधे ।
‘त्यो पोथीको रनाहामा थियो कि ?’ रेग्मीको अनुमान ।
‘हामी चढेको हात्तीलाई परबाट उसकै पि्रया पो देख्यो कि ?’ पौडेलको अड्कल थियो ।
गैँडा भागेतिरै हात्तीलाई घुमाएर बाटो लाए, छेदुले । अलिक दबदबे हिलो देखियो ।
‘हैन, त्यसको बाटै यता पर्छ !’ छेदुले साथीहरुको खसखस मेटे ।
हामी पश्चिमतिर लाग्यौँ । घाम र छायाँको चित्र लोभलाग्दो देखिन्थ्यो, वनमा । वनफूलका झुप्पा-झुप्पाले रुख झकिझकाउ देखिन्थे ।
वन फेरि बाक्लियो । ठूला रुख होइन, पोथ्रा थिए । र, काला बाँदरका बथान थिए, अचाक्ली । झुण्डका झुण्ड बाँदर पानी खाएर यी पोथ्रातिर गइरहेका देखिन्थे ।
हरिणका बगाल झन् बढी देखिए । एउटा ठूलो काले र अरु राता सुन्दर पोथीको हुलमा एउटा पुरुष झाँकको तुजुग खुबै देखिन्थ्यो ।
घाम झरिरहेको छ, निकै तल । मलाई छायाँमा उभिएका रुख र घामको रङमा पोथ्राको जीवनको नापजोख गर्न मन छ । तर, हात्तीको लस्काइमा त्यो सजिलो छैन ।
पश्चिम-उत्तर भएर सानो खोल्सोतिर जाँदा जताततै खेत जोतेजस्तै देखियो ।
‘यो बँदेलको काम !’ छेदुले चिनाए ।
‘बँदेल यहाँ धेरै छन् । त्यो पनि खतरनाक जन्तु हो !’ चौधरीको बोली एकनास छ ।
त्यहाँ पानी रसाएको थियो । त्यहाँको माटो र हिलोलाई चम्पाकलीले सुँडमा दल्यो । अनि, आफ्ना भुँडी र खुट्टातिर हलुका फ्याँक्यो पनि ।
‘यो पनि चिनो हो बर्दिया निकुञ्जको !’
हात्तीले हुर्याएको हिलो गणेशको जुत्तामा लागेछ । अनि, मैले भनेथेँ ।
म चैँ चम्पाकलीको पुच्छरतिर बसेको थिएँ । उसको भुँडीमा जोतिएका थिए, मेरा खुट्टाहरु । कसो-कसो पुच्छरले मेरा खुट्टामा हान्थ्यो हात्ती ।
पानी खाएर आइरहेको गैँडा हामी भएतिरै हान्निएर वेगिइरहेको देखाए, छेदुले । सास दबाएर मैले हेरेँ । साथीहरु नि धुकधुकी रोकेरै सामुन्नेको विशाल गैँडा हेरिरहेथे ।
‘भर्खर पानी खाएको भुँडीमा खुट्टा नराख न यार !’
उसको पुच्छर चलाइलाई यस्तै ठानिरहेको थिएँ म ।
तर, खुट्टा त्यहाँ नराखी मलाई धरै थिएन । चम्पाकलीको पुच्छरले हिर्काउन पनि छोडेन, हलुकासँग खुट्टा राख्न नि छोडिनँ मैले ।
माउतेले सुकेका रुख लडेका ठाउँमा एक्कासि हात्ती उभ्याए । अनि, उनी लुसुक्क लागे झाडीतिर ।
हाम्रा मुटु चिसा भए ।
‘त्यसरी पिसाब फेर्न जाँदा झण्डै हामीले पो तुक्र्यायौँ !’
‘किन नि ?’
‘तपाईं जाँदा यो लुरुलुरु हिँडेको भए, हाम्रो के गति हुन्थ्यो नि !’
छेदुसँग मेरा कुरा भए ।
उनी हात्तीमा चढे अनि भने, ‘चल रे !’
अनि उत्तर दिए, ‘मेरो आदेशबिना यो हिँड्दै-हिँड्दैन !’
‘यसले मेरो बोली चिनिसकेको छ !’ छेदुले आत्मविश्वास पोखे ।
हाम्रा अनुहारमा एउटा चमक आयो । अघिको डर भागेर बेपत्तियो ।
‘बार्ह वर्ष भो हात्तीसँग मेरा दिन बितेका !’
छेदुका कुराले अघि चपक्कै भएका हाम्रा मन फेरि उठे । किनभने, बार्ह वर्ष भनेको एक जुगै हो । त्यो जुग हात्तीका शरीरमा होइन, आनीबानी पढेरै बिताएका छेदुसँग थियौँ, हामी यतिबेला ।
हात्ती लस्केर दक्षिणतिरको खर, ढड्यान काटिएको आपट्टे फाँटतिर लाग्यो । दक्षिणतिरबाट अर्को हात्ती पनि त्यहीँ टुप्लुकियो । वन विहारमा जानेहरु थिए, त्यसमा पनि ।
चराहरुका अनेक बथान थिए, यो चौरमा । उत्तरतिरको खोँचमा बाँदर, हरिणका बथान जोत्तिइरहेका थिए, भुइँमा । तिनको भोजन बटुल्ने दौडले सबैलाई एकचित्त पारेको थियो ।
चकमन्न र रुखपातमा हावाको सुस्तरी संवाद । घरि-घरि यो अलौकिक दृश्यले मन हुत्याउँछु र रमाउँछु । जंगलको यो सुन्दरता विशेष लाग्छ मलाई ।
बीचको भागबाट हामी दक्षिणतिर लाग्यौँ । पूरै ढड्यान काटेर अनि डढेलो लगाइएको रहेछ यहाँ । कालै चौरमा गोधूलीको उज्यालोले अनेकौँ नयाँ रुपरंग देखाउँथ्यो ।
‘किन यसो गरेको ?’
‘नयाँ घाँस चाहियो नि !’ छेदुको उत्तर आयो ।
हामी लम्किरहँदा अघि देखिएको हात्ती भेटिछाड्यौँ । त्यो रामकली पनि अझ ठूलो थियो ।
हात्ती लर्केर बनेको सुकिलो गोरेटो भेटियो । त्यतै लस्कियो चम्पाकली नि ।
हामी वनको माझ लम्केर फेरि खोला तर्यौँ । चम्पाकलीले पानी राम्रैसँग खायो ।
‘हो, पचपन्न लिटर !’
यतिबेला हामी नबोल्दै एक्लै बोले छेदु । शायद अघिको खुलदुली आउला भनेर उनलाई लागिरहेको होला ।
खोला तरिरहँदा छेदुको बोली सुनियो, ‘मानिसहरु हप्तौँ बस्दा पनि यहाँ एउटा जीवजन्तु नहेरी र्फकन्छन् । तपाईंहरु त भाग्यमानी !’
‘हो, निकै भाग्यमानी । जंगलमा मस्ताना गैँडा देख्नु भयो !’ छेदुले गर्व गरे ।
गणेशले अरु थपे, ‘अरु फोसामा हरिण देख्यौँ, बाँदर देख्यौँ, चरा देख्यौँ, गोही देख्यौँ !’
हाँसो मच्चियो ।
घाम डुब्नै लाग्दा हामी हात्तीसारमा पुग्यौँ । हात्तीबाट तल झरी ओर्लेर सियाँलमा सुस्तायौँ ।
‘अब कहाँ लाने ?’ मैले सोधेँ ।
‘यसलाई बाँध्ने ठाउँमा । सिक्री पर छ !’
छेदुको बोलीसँगै हातको लठ्ठी चल्यो, चम्पाकलीको पुच्छरमा ।
‘चल रे !’