Comments Add Comment

दाङमा कुइरेपानी-सर्रा वाईपास रोड बनाइने, घोराहीमा गाडीको चाप कम हुने विश्वास

पाण्डव शर्मा

२१ माघ, दाङ । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा सवारी चाप कम गर्नका लागि कुइरेपानी-सर्रा बाइपास रोडको योजना अगाडि सारेको छ । वाईपास रोडबाट लामो दूरीका सवारी तथा ढुवानीका साधनहरु सञ्चालन हुनेछन् ।

उपमहानगरले नगरसभामार्फत कुइरेपानी-सर्रा वाईपास रोडको अबधारणा ल्याएको हो । त्यसका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘अहिले कायम रहेको दामोदर रोडलाई विस्तार गरेर वाईपासको रुपमा प्रयोग गर्ने उपमहानगरको योजना छ,’ उपमेयर सिता सिग्देल न्यौपानेले भनिन्, ‘अहिले बिच बजारमा सवारी चाप निकै बढेको छ ।’

‘यसबाट घोराहीको मुख्य बजारमा भइरहेको सवारी चाप करिव ३५ प्रतिशतले कम हुने छ,’ न्यौपानेले भनिन्, ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने नगरपालिकाको योजना हो ।’

अहिले सोनापुर सिमेन्ट उद्योगका ट्रिपर तथा ट्रकहरु घोराही मुख्य बजार हुँदै लमही तथा पूर्वी नेपालतर्फ जाने गरेका छन् । ‘बजार क्षेत्र भित्र घोराहीको मुख्य बजार आउनुपर्ने र निजी सवारी साधनहरुलाई मात्र प्रवेश गर्ने व्यवस्था गरिने छ,’ उनले भनिन्, ‘यसले सवारी साधनबाट बजार क्षेत्रमा भइरहेको ध्वनी तथा वायु प्रदुषणलाई रोक्ने छ ।’

उपमहानगरको पहिलो प्राथमिकता सडक

उपमहानगरले नगरसभा मार्फत चालु आर्थिक वर्षमा सडक योजनालाई उच्च प्राथमिकतामा राखेको छ । ‘हामीले सडक निर्माण तथा विस्तारलाई चालु आर्थिक वर्षको सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौं,’ मेयर नरुलाल चौधरीले भने, ‘उपमहानगरका सबै वडाहरुमा पक्की सडक पुर्‍याउने हाम्रो योजना हो ।’

सडक सञ्जाल व्यवस्थित हुन नसक्दा उपमहानगरको उचित विकास हुन नसकेको मेयर नरुलाल चौधरीको भनाइ छ । अहिले रहेका सडकहरुलाई चौडा पार्दै कालोपत्रे गरिने उनले जानकारी दिए । ‘केही वडाहरुमा सडकको अबस्था निकै नाजुक छ,’ चौधरीले भने, ‘पछिल्लो पटक उपमहानगरको क्षेत्र विस्तार हुँदा धेरै ग्रामीण तथा केही निकै विकट क्षेत्रसमेत परेका छन् ।’

सबै क्षेत्रको समानुपातिक विकासका लागि सडक सञ्जाललाई मुख्य बजारसँग जोड्ने योजना ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment