Comments Add Comment

ठोरीको सेवा केन्द्र सार्ने निर्णय बिवादमाः टर्च बालेर जनप्रतिनिधि खोज्दै नागरिक

२१ माघ, वीरगञ्ज । पहिलो बैठकबाटै ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा लैजाने निर्णय गरेर विवादित बनेको ठोरी अर्को विवादमा परेको छ ।

गाउँपालिकाले केन्ऽ सार्ने निर्णय गरेसँगै त्यसको विरोधमा सुवर्णपुरवासी आन्दोलित भएपछि ठोरी गाउँपालिकाको नेतृत्व तनावमा छन् ।

सुवर्णपुरवासीले थालेको आन्दोलनका कारण गाउँपालिकामा दिनप्रतिदिन समस्या बढ्दैछ । आन्दोलन सुरु भएको ६ दिन वितिसक्दा पनि आन्दोलनरत पक्ष र गाउँपालिका प्रमुखबीच वार्ता नभएका कारण समस्या बढ्दै गएको हो ।

गत माघ १५ गते ठोरी गाउँपालिकाको प्रथम गाउँ परिषद्ले वडा नं ५ सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी संघर्ष समिति नै गठन गरेर पाँचदिनदेखि आन्दोलनमा छन् । उनीहरुले गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।

वडा नं ५ का गाउँपालिका उपाध्यक्षसहित ८ जना र वडा नं ३ को २ जना गरी १० जना प्रतिनीधिहरुको असहमति हुँदाहुँदै पनि गाउँपालिका प्रमुखले एकलौटी हिसाबले केन्द्र सार्ने निर्णय गरेको आरोप संघर्ष समितिले लगाएको छ ।

निर्णयको विरोधमा उत्रिएका सुवर्णपुरवासीले ६ दिनदेखि वीरगञ्ज-ठोरी सडक खण्डमा सवारी साधन सञ्चालन हुन दिएका छैनन् भने बजार पनि पूर्ण रुपमा बन्द छ ।

सुवर्णपुरमा जारी आन्दोलनलाई अझै उचाइमा पुर्‍याउन उपाध्यक्ष शान्तिमाया थिंङ अध्यक्षतामा ८ जना जनप्रतिनीधि बसेर नयाँ संघर्ष समिति समेत गठन गरिएको छ ।

आइतबार बसेको बैठकले संघर्ष समितिको संयोजकमा काँग्रेसका नेता जरी लामा संयोजकत्वमा ४ जना सह-संयोजक रहेको १०१ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।

त्यस्तै बैठकले युवा, महिला र बुद्धिजीवि परिचालन समिति समेत गठन गरेको छ । आन्दोलनलाई अझ सशक्त बनाउन नयाँ संघर्ष समिति नयाँ गठन गरिएको युवा परिचालन समितिको संयोजक विश्वराज घिमिरेले बताए ।

जनसंख्याको आधारमा गाउँपालिकाको सबै भन्दा ठुलो वडा भएपनि सुवर्णपुरका जनतालाई परिषदको निर्णयले निराश बनाएको उनी बताउँछन् ।

सेवा केन्द्र यथावत कायम राख्नु पर्ने, सबै वडामा समानढंगले बजेट विनियोजन गर्नु पर्ने , १५ शय्याको अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ ।

वार्तामा नआएको आरोप

समस्या समाधानका लागि वार्ता टोली गठन भइसकेको तर आन्दोलनरत पक्ष वार्तामा नआएकोले समस्या भएको ठोरी गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले बताए । ‘आन्दोलनरत संघर्ष समितिको संयोजकलाई वार्ताका लागि इलाका प्रहरी कार्यालयमा बोलाएको आएनन्,’ उनले भने ‘ ठारीको वडा नं १ चौतारा सबैभन्दा पश्चिममा पर्छ, पूर्वमा सुवर्णपुर पर्छ । बहुसंख्यक जनताको हितलाई ध्यानमा राखेर बीच भागमा पर्ने वडा नं ४ मा केन्द्र राख्ने निर्णयमा पुगेका हौं । माग न्यायचित हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

ठोरी गाउँपालिकाका प्रवक्ता राम प्रकाश कुँवरको नेतृत्वमा वडा नं २ को अध्यक्ष किशोर तामाङ र वडा नं ४ का बई बहादुर पाखि्रन सदस्य छन् ।

जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष ठाकुर न्यौपानले आईतबार आन्दोलनरत सुवर्णपुरवासीसँग भेट गरी संवादका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

गाउँपालिकाको ४ वटा वडा अन्धकार

आन्दोलनकै कारण ठोरी गाउँपालिकाको ४ वटा वडामा अन्धकार छाएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ नं वडामा मंगलबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । सुवर्णपुरको बाघ मोर्चा र गाउँपालिका ४ को माली वस्तीको बीचमा रहेको ओरिया खोलाको बीचमा दुईवटा पोल ढलेको र मर्मत हुन नपाएकोले विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ ।

आन्दोलनकारी गाडी चल्न नदिएका कारण विद्युतको पोल मर्मत हुन नसेकेको हो । विधुत सेवा अवरुद्ध हुँदा खानेपानी आपुर्ती समेत बन्द भएको छ । खानेपानीको बैकल्पिक स्रोत नभएका ठाउँमा खानेपानीको चरम अभाव हुने संकेत देखिएको स्थानीय बताउँछन् ।

विद्युत सेवा अवरुद्ध हुँदा विजयवस्तीमा रहेको रेडियो विजयवस्तीको प्रशारण हुने समय नै कटौती गरिएको छ । ‘विद्युत सेवा अवरुद्ध भएका कारण अहिले प्रशारणको समय छोट्याएका छौं ।’ रेडियो विजय वस्तीका प्रवन्धक सन्तोष श्रेष्ठले भने ‘यस्तै अवस्था रहृयो भने एक दुई दिनमा रेडियो नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।

बन्दले गर्दा हुलाकी राजमार्गको काम समेत ठप्प भएको छ । गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले भने बिद्युत सेवा सुरु गराउन पहल भइरहेको बताए । ‘कसले ढालेको हो पत्ता लगाएर कारबाही पनि गर्छौ । गाउँपालिकाका बासिन्दालाई अन्धकारमा बस्न दिँर्दनौं ।’ उनले भने ‘ रातिराति काम गराएर भएपनि बिजुली बाल्छौं ।’

वडा नं ३ का वासिन्दा टर्च बालेर प्रतिनिधि खोज्दै

सेवा केन्द्रको विषयलाई लिएर ठोरी गाउँपालिकाको वडा नं ३ मा पनि आन्दोलन सुरु भएको छ ।

सेवा केन्द्र गाउँपालिकाको मध्य भागमा हुनुपर्ने माग राख्दै वडा नं ३ का बासिन्दाहरुले आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनका लागि वडा नं ३ का बासिन्दाले पनि आन्दोलन परिचालन कमिटी गठन गरेका छन् । स्थानीय श्याम श्रेष्ठको संयोजकत्वमा १०१ सर्वदलीय संघर्ष समितिको परिचालन समिति गठन गरिएको हो ।

आन्दोलन परिचालन कमिटिले आइतबार दिउँसै टर्च बालेर जनप्रतिनीधिहरुलाई खोजेका छन् । गाउँपालिकाको वडा नं ३ ब्रम्हनगर स्थित ढुंगे बजारबाट सुरु भएको जुलुस वडा नं ३ का वडा अध्यक्ष सूर्यबहादुर लामा लगायतका जनप्रतिनीधिहरुको घर अगाडि प्रदर्शन गर्दै सम्पन्न भएको थियो ।

गाउँ परिषदको निर्णय प्रति असन्तुष्टि देखिन थालेपछि मोबाइल समेत स्वीच अफ गरेर जनप्रतिनिधिहरु बस्न थालेपछि टर्च बालेर खोज्नु परेको संघर्ष समितिका सह संयोजक रामकाजी श्रेष्ठले बताए । ‘ स्थानीय सरकार, जिल्ला स्थिति जिम्मेवार निकायले समस्या समाधानका लागि चासो नदिएको देखियो,’ उनले भने ‘ त्यसैले हामीले दवावमुलक आन्दोलन थालेका हौं ।’

दुवै किनाराबाट नाप्दा जहाँ मध्य भाग हुन्छ त्यही सेवा केन्द्र स्थापना हुनुपर्ने, दैविप्रकोप पीडित र विकट क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने, गाउँपालिकाको काम कारबाही पारदर्शी हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment