
२३ माघ, काठमाडौं । विश्व बैंकले भूकम्पप्रभावित विभिन्न पाँच जिल्लामा ९६ हजार घर पुनर्निर्माण गर्ने भएको छ ।
पुनर्निर्माण प्राधिकरण र विश्व बैंकका प्रतिनिधिबीच सोमबार यस विषयमा सहमति भएको प्राधिकरणका उपसचिव मनोहर घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार सम्झौताबमोजिम विश्व बैंकले भूकम्पप्रभावित रामेछाप, सिन्धुली, ओखलढुंगा, काभ्रे र रसुवामा ती घर पुनर्निर्माण गर्नेछ ।
करिब दुई साताअघि बैंकले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि सरकारसँग तीन सय मिलियन डलर (करिब ३० अर्ब रुपैयाँ) को सम्झौता गरेको थियो ।
बैंकको वित्तिय सहयोगमा हाल दोलखा, नुवाकोट र धादिङमा निजी आवास पुनर्निर्माण गरिरहेको छ । ती जिल्लामा ५५ हजार घर पुनर्निर्माण गरिरहेको छ । त्यसमा बैंकले दुई सय मिलियन अमेरिकी डलर -२० अर्ब रुपैयाँ) खर्च गरिरहेको छ ।
बैंकले भूकम्पपछिको पुनर्निर्माणका लागि पाँच सय मिलियन अमेरिकी डलर -५० अर्ब रुपैयाँ) सहयोगको प्रतिवद्धता जनाएको थियो । हाल पुनर्निर्माणका लागि गरेको सम्झौता रकम त्यही प्रतिवद्धता अन्तर्गत भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4