+
+

पौरखी युवकले भैंसी पालेरै कमाउँछन् महिनामा डेढ लाख

गोपालप्रसाद पोखरेल/रासस गोपालप्रसाद पोखरेल/रासस
२०७४ माघ २८ गते १२:४३
फाइल फोटो

२८ माघ, पथरी । मोरङ राजघाटका हेमबहादुर चोङवाङले मिहिनेत गरे धेरै पैसा कमाउन विदेश जानु पर्दैन भन्ने प्रमाणित गरेका छन् ।

एउटा माउ भैँसीबाट पशुपालन शुरु गरेका उनले हिजोआज मासिक एक लाख ६० हजारको दूध र र वार्षिक एक सय ट्याक्टर गोबर बिक्री गर्दै आएका छन् ।

२०६७ सालमा एउटा माउ भैँसीबाट पशुपालन शुरु गरेका चोङवाङले अहिले दिनमा १२० लिटर दूध बिक्री  गर्छन् । उनले वार्षिक रुपमा बिक्री गर्ने सय ट्याक्टर गोबरमल प्रतिट्याक्टर तीन हजार रुपैयाँका दरले बिक्री गर्दै आएको बताए ।

चोङवाङले गाउँमा आफै रोजगारीको सिर्जना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरे । उनले अहिले आफ्नै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिएका छन् ।

सो केन्द्रमा अहिले नौ वटा माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसायलाई विस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र ६ वटा पाडी पालेका छन् । १० लाख रुपैयाँको लगानीमा शुरु गरेको व्यवसायमा हाल २० लाख रुपैयाँ लगानी पुगिसकेको चोङवाङको भनाइ छ ।

उनले मासिक रुपमा एक लाख ४० हजारको दुग्ध बिक्री गर्ने गरेको बताउँछन् । उनी मात्र होइन ३ वर्ष मलेसियामा काम गरेर फर्किएका मोरङ दर्वेशा–१ का अशोक सुवेदीले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

दुईवटा बाख्राबाट बाख्रा फारम खोलेका सुवेदी परिवारले अहिले १०० वटा बाख्रा पालेका छन् । उन्नत जातका बाख्रा पाल्न शुरु गरेपछि सुवेदी परिवारको आर्थिक स्तरमा सुधार आएको छ । आफूले विदेशमा कमाउन नसकेको रकम हाल बाख्रापालनबाट मनग्य आम्दानी हुने गरेकाले अरूलाई पनि यही पेशा अपनाउन सुझाव दिने गरेको उनी बताउँछन् ।

सुवेदीले बाख्रापालन सँगै दुई जनालाई रोजगारीसमेत दिएका छन् । अरूले कृषि पेशा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गरेका  सुवेदीले फारमबाट उत्पादन भएको बोका–पाठीहरु तीन महिनामा बिक्री गर्ने गर्छन् । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भए पनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ ।

उनीमात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना–ठूला गरेर चारसय व्यावसायिक पशुफार्म सञ्चालित छन् ।

जिल्ला पशुसेवा कार्यालय मोरङका प्रमुख डा सुशील अधिकारीका अनुसार व्यावसायिक रुपमा १४३ वटा गाईको फार्म सञ्चालन गरिएको छ । त्यस्तै १४ भैंसी फार्म र पाँच पाडा–पाडीको फार्म दर्ता छन् । त्यस्तै मोरङ जिल्लामा ७० बाख्रा, ६४ बंगुर, २० कुखुरा र ४१ वटा मिश्रित फार्म दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?