Comments Add Comment

विद्यार्थी जोगाउन बहुभाषिक विद्यालयमा अंग्रेजी पढाइ, मातृभाषा इतिहासमा सिमित

९ फागुन, इटहरी । ९ फागुन, इटहरी । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ फागुन ११ गते उद्घाटन गरेको साबिकको हाँसपोसा-२ तरहराको बहुभाषिक प्राविमा मातृभाषामा पढाइ हुन छोडेको छ ।

त्यतिवेला नेपालीसहित विभिन्न चार वटा मातृभाषाको पढाइ हुने यो विद्यालयमा नेपाली र अंग्रेजी बाहेक अन्य भाषामा पढाइ हुन छोडेको छ ।

मातृभाषा थपिनुको साटो क्रमशः घट्दै गएपछि विद्यालयमा बहुभाषा पढाइ हुन छोडेको हो । विद्यालयका प्रधानाध्यापक टेकबहादुर सम्बाहाम्फेले भन्छन, ‘हामीले एकताका नेपालीसहित अन्य चार आदिवासी मातृभाषाका कक्षाहरू सञ्चालन गरेको यो विद्यालयमा आजकल ती कुनै पनि भाषाका पढाइ सञ्चालनमा छैनन् ।’

स्थापना कालमै नेपालकै पहिलो बहुभाषिक विद्यालय भनेर चिनिएको विद्यालयले सुुरुआती दिनबाटै लिम्बू भाषा कक्षा सुरु गरेको थियो ।
२०५२ सालबाट सुरु भएको लिम्बू भाषाको कक्षाको निरन्तरताको केही समय नबित्दै २०५४ बाट राईको चाम्लिङ भाषाको पढाइ समेत थपियो ।
चाम्लिङ भाषा कक्षा पढाइको केही समयपछि २०५५ बाट मगर र तामाङ भाषा कक्षाहरू पनि विद्यालयमा पढाइ हुन थाले ।

लिम्बू भाषा लोकप्रिय 

ऐच्छिक विषयका रूपमा राखिएका लिम्बू, चाम्लिङ, मगर र तामाङ विषयहरू सम्बन्धित समुदायका विद्यार्थीहरूले पढ्थे । तीभन्दा अलग समुदायका क्षेत्री, ब्राहृमण ,नेवार तथा अन्य भाषिक समुदायका विद्यार्थीहरूले भने आˆनो रोजाइले ती भाषाहरू पढ्थे ।

एकसय हाराहारीका विद्यार्थीहरूबाट सुरु गरिएको विद्यायलमा २०५६ सालमा आइपुग्दा तीनसय बढी विद्यार्थीहरू पुगे । राम्रो खेलमैदान र प्रशस्त जग्गा भएको विद्यालयमा तरहराका स्थानीय मात्रै हैन इटहरी र आसपासबाट समेत विद्यार्थीहरू पढ्न आएको सम्झना सुनाउँछन् प्रधानाध्यापक संबाम्फे ।

‘चारवटा भाषामध्ये एउटा रोजेर पढ्ने अवस्थामा धेरैले लिम्बू भाषा नै छानेर पढ्ने गर्थे’, लिम्बू भाषा शिक्षकको रूपमा विद्यालयका शुरुवाती दिनमा पढाउने टेकबहादुर सम्बाहाम्फे भन्छन, ‘अझ क्षेत्रीबाहुनहरूले त लिम्बू भाषा नै रोज्थे र लिम्बू केटाकेटी भन्दा राम्रोसँग लिपी लेख्न समेत सक्थे ।’

सजिलो लिपी र धेरै अक्षरका कारण लिम्बू भाषा सिक्न र सिकाउन सजिलो भएको सम्बाहाम्फे बताउँछन् । भन्छन्, ‘सिरीजंगा लिपी नै भएको राई जातिको चाम्लिङ भाषा पनि विद्यार्थीहरूले सहजै सिकेको पाएँ ।’

विद्यार्थी जोगाउन अंग्रेजी कक्षा

बहुभाषिक प्रावि तरहरालाई चाँहिने लिम्बू, चाम्लिङ, मगर र तामाङ भाषाका पाठ्यपुस्तकहरूको अभाव थिएन । नेपाल सरकारले कक्षा आठ सम्मका थुप्रै मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तकहरू बनाएकोले त्यसमा समस्या थिएन ।

समस्या तत्काललाई बिषय शिक्षकहरूको पनि थिएन । जसोतसो गरेर तत्कालिन गाविस, जातीय संस्थाहरू र दरबन्दिका शिक्षकको आर्थीक तथा नैतिक सहयोगले बहुभाषीक कक्षाहरू राम्रोसँग सञ्चालनमै थिए ।

अंग्रेजी भाषाका विभिन्न निजी बोर्डिङहरूको सञ्चालनसँगै बहुभाषिक कक्षाहरूमा प्रत्यक्ष असर पर्न थाल्यो । सम्बन्धित समुदायका अभिभावकले पनि आˆना बच्चाहरूलाइ निजी अंग्रेजी विद्यालयमा भर्ना गर्न थाले ।

२०५६ सालसम्म त निक्कै राम्रोसँग विद्यालय चलेको थियो र विद्यार्थीहरू पनि व्यापक बढेका थिए ।

तर, त्यसपछि क्रमशः विद्यालयमा विद्यार्थी संख्याहरू घट्न थाले र विद्यालयमा हाल ६० जना हाराहारमा मात्र विद्यार्थीहरू छन् ।

दुई स्थायी र तीन राहत दरबन्दी रहेको बहुभाषिक प्राविमा हाल साठीको संख्यामा विद्यार्थी भएको र आगामी शत्रमा पनि त्यो भन्दा धेरै विद्यार्थीको भर्ना नहुने देखिएको प्रधानाध्यापक संबाम्फे बताँउछन् ।

संबाम्फेले ५२ सालबाट दश वर्ष लिम्बू भाषा पढाए । यस्तै चाम्लिङ भाषा पनि चार बर्ष हाराहारी पढाइ भयो । मगर र तामाङ भाषा भने तीन बर्ष हाराहारी मात्रै संचालनमा रहृयो ।

तरहराको बहुभाषिक विद्यालय खुल्दा कुनै निजी बोर्डिङ पनि खुलेका थिएनन र बहुभाषिक विद्यालय भरिभराउ थियो । तर, अहिले विद्यालयका वरिपरि आधा दर्जन विद्यालयहरू खुलेका छन र बहुभाषिक विद्यालय भने खाली जस्तै छ ।

प्रशस्त जग्गा, खुल्ला र फराकिलो खेलमैदान, अनुभवि शिक्षक, पायक पर्ने स्थानको अवस्थिति र राम्रो पढाइ हुँदाहुँदै विद्यार्थीहरू आउन छाडेपछि बहुभाषिक प्राविले प्रारम्भिक कक्षाहरूमा अंग्रेजी पढाइ सुरु गरेको छ ।

‘हामीलाई थाहा छ बच्चाले आˆनो प्रारम्भिक कालमा आˆनो मातृभाषानै पढ्नुपर्छ तर हामीले कक्षा एक र दुइमा बाध्यताले अंग्रेजी बिषय हाल्न बाध्य भएका छौँ’, प्रधानाध्यापक संबाम्फे भन्छन, ‘यो सब विद्यालयमा आँउने विद्यार्थीहरूको संख्या बन्द नहोस भनेरै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment