Comments Add Comment

लट्री पर्‍यो भन्दै ठगी गर्ने तीन जना पक्राउ

११ माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लट्री पर्‍यो भन्दै ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्ऽनगर नगरपालिका-७ का २४ वर्षीय भिमबहादुर थापा, दैलेखको गुराँस गाउँपालिका-४ का २२ वर्षीय विष्णु सिजाली मगर र भारत बिहार पूर्वी चम्पारण मोतिहारी २० वर्षीय असरफ अली रहेका छन् ।

उनीहरुको साथबाट नगद नेपाली ३५ हजार, भारतीय तीन हजार २० रुपिँया, विष्णु सिजाली मगरको सक्कल नागरिकता प्रमाणपत्र र भिमबहादुर थापाको सक्कलै नागरिकता प्रमाणपत्र रहेको बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले उनीहरुले सोझा साझा व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत फोन गरी ठग्ने गरेको बताए ।

‘सामाजिक संजाल हृवाट्सएप, इमो, भाईबर, फेसबुक जस्ता सामाजिक सञ्जाल र फोन मार्फत पच्चीस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा एसएमएसबाट बधाई दिने गरेका रहेछन् । त्यसपछि उनीहरुले सोही सामाजिक सञ्जाल मार्फत बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई विश्वासमा पारी लट्री बापतको कर तिर्नुपर्छ भनेर रकम जम्मा गर्न लगाउने र ठग्ने गरेका रहेछन् ।’ एसपी रेग्मीले भने ।

माघ ७ गते प्रहरी निरीक्षक ज्ञानकुमार महतो समेतको प्रहरी टोली खटिइ खोज तलास गर्दै जाने क्रममा उनीहरुलाई वीरगंज महानगरपालिका-१५ स्थित न्यू वीरगञ्ज मनि ट्रान्सफरबाट पक्राउ परेका हुन् ।

यसअघि पनि पर्सा प्रहरीले पटकपटक ठगी गर्ने गिरोह पक्राउ गरी कारबाही पक्रिया अघि बढाइएको छ ।

यसअघि त्यस्तै गिरोहका सदस्यहरुलाई ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा पर्सा जिल्ला अदालतले मुख्य अभियुक्त भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल डंकन रोड घर भई वीरगंज-३ डेरा गरी बस्ने वर्ष २४ को बिक्की पंडित (कुमार) पुर्पक्षको लागि कारागार चलान भइसेको र अन्य अभियुक्तहरु कसुर अनुसार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

६४ फरार प्रतिवादी पक्राउ

पर्सा प्रहरीले जिल्ला पर्सा सोनवर्षा-७ बस्ने प्रतिवादी विरगुन राउत अहिरलाई पक्राउ गरेको छ ।

लागु औषध गाँजा मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०७१ बैशाख २१ गते २ वर्ष कैद र १५ हजार जरिवाना फैसला भइसकेको भएपनि फरार रहेका अहिर पक्राउ परेका हुन् ।

प्रहरी चौकी रंगपुरढाडीबाट खटिएको प्रहरी टोलीले अहिरलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउनको निमित्त जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

पर्सा प्रहरीले गत असोज १८ गतेबाट हालसम्म पक्राउ परेका फरार रहेका ६४ जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको छ ।

शुक्रबार मात्रै ४ जना किर्ते मुद्धाका फरार अपराधीहरु पक्राउ गरी आवश्यक कानुनी पक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment