Comments Add Comment

मध्यमर्स्याङदीको मर्मत तीव्र रुपमा अघि बढ्यो

१३ फागुन काठमाडौं । लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युतको विद्युत गृह मर्मत कार्य तीव्र रुपमा अघि बढाइएको छ ।

बाँधको देब्रे क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको पनि मर्मत कार्य अघि बढाइएको हो ।

पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम धमाधम भइरहेको छ । यो काम गर्नका लागि दैनिक चार सय मजदुर परिचालित रहेको केन्द्रले जनाएको छ । काम २४ सै घण्टा भइरहेको छ ।

मर्मत चलिरहेकोले १० फागुन विहीबार राती ११ बजेदेखि सो आयोजनाबाट विद्युत उत्पादन बन्द छ । केन्द्रले मर्मतको काम १७ फागुन विहीबार राती ११ बजेसम्ममा सक्ने गरी भारप्रेषण केन्द्र (एलडिसी)बाट सट डाउन पाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मत सक्न निर्देशन दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट विद्युत उत्पादन हुने मध्यमस्र्याङदी बन्द हुँदासमेत आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपरेको बताए ।

‘वैकल्पिक व्यवस्थाको रुपमा कुलेखानी चलाएर विद्युत आपूर्ति गरिरहेका छौं, मर्मतको काममा ढिलाई गर्नु भयो भने कुलेखानीको जलाशयको पानी घट्ने हुँदा विद्युत व्यवस्थापनका लागि चाप पर्छ’, उनले केन्द्र व्यवस्थापन र ठेकेदारलाई निर्देशन दिंदै भने, ‘एक दिन अघि सकिदिनु भयो भने धेरै काम गर्छ यसको ठूलो भूमिका रहन्छ,त्यसैले काम छिट्टो गर्नुहोस्, तोकिएकै समयमा काम सक्नुहोस् ।’ उनले मध्यमस्र्याङदी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआए र विद्युत आपूर्ति अवरुद्ध नभएको जानकारी दिए ।

विद्युत गृहमा रहेको एउटा युनिटको बृहत मर्मत पनि ६ फागुनबाट भइरहेको छ । विद्युत गृहमा ३५/३५ मेगावाटका दुई युनिट छन् । केन्द्र प्रमुख पशुपतिराज गौतमकाअनुसार २३ फागुनभित्रमा दुवै युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अहिले सबै काम तालिकाअनुसार नै भइरहेकाले तोकिएकै समयमा काम सकिने उनी बताउछन । युनिटको मर्मतका लागि दैनिक ५० कर्मचारी खटिएका छन् ।

केन्द्रको जलाशयमा थुप्रिएको बालुवा निकाल्ने काम पनि धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र बेसीसहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको छ । गौतमले बाालुवाको बिक्रीबाट करिव १८ लाख रुपैयाँ आम्दानी हुने जानकारी दिए ।

केही रकम जिल्ला समन्वय समिति र नगरपालिकालेसमेत पाउने छन् । यसबाट केन्द्रलाई एकातर्फ आम्दानी पनि भएको छ भने अर्कोतर्फ जलाशयको भण्डार क्षमतामासमेत वृद्धि हुने देखिएको छ । गौतमले भने,‘बालुवा निकालिएपछि जलाशयको भण्डार क्षमता बढ्छ, जसले गर्दा विद्युत उत्पादनमा बृद्धि हुन्छ ।’ बाँधको संरचनालाई असर नपर्ने र सुरक्षा व्यवस्था आफैं गर्ने गरी केन्द्रले बढी रकम कबोल गर्ने कम्पनीलाई बालुवा निकाल्ने जिम्मा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment