Comments Add Comment

नेपालको अनुमति विनै भारतले महाकालीमा बनायो ८ वटा पुल

५ वटा पुल नेपालीले भत्काइदिए, सेनाले दियो सुरक्षा

१४ चैत्र, दार्चुला । अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा भारतले ८ वटा काठेपुल निर्माण गरेको खुलासा भएको छ ।

नेपालको अनुमति विना नै भारतले महाकाली नदीमा नेपाल-भारत जोड्ने ८ वटा अस्थायी काठेपुल निर्माण गरेको पाइएको हो ।

दार्चुलाको उत्तर पश्चिमी क्षेत्र व्याँस गाउँपालिका-२ राप्लाका विभिन्न क्षेत्रमा भारतले ८ वटा अस्थायी काठेपुल निर्माण गरेको वडा नं. २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिए ।

व्याँस गाउँपालिका-२ राप्लाको तम्बाकु र लखनपुरमा तीन वटा, थीकोभीर, दोपाखे, घाँटी, पोला, बुँदी क्षेत्रमा एक/एक वटा गरी जम्मा ८ वटा काठेपुल निर्माण भएको पाइएको वडाध्यक्ष बुढाथोकीले बताए ।

नेपालको अनुमति विना निर्माण गरेका ती अस्थायी काठेपुल निर्माण गरिएको क्षेत्र नेपाली वस्तीभन्दा झण्डै साढे दुई किलोमिटर उत्तरमा पर्छ ।

यस सम्बन्धमा सीमा बैठकमा समेत नेपाली पक्ष कडा प्रस्तुत भएपछि गल्ती स्वीकार्दै ती अस्थायी काठेपुल हटाउन भारत सहमत भएको थियो । दुई वटा काठेपुल भारतले यसअघि हटाएको पनि थियो ।

यसअघि ४ ठाउँमा काठेपुल निर्माण गरेको भन्ने खबरहरु आएपनि ८ वटा काठेपुल निर्माण गरी भारतीय नागरिक तथा कामदारहरु निर्वाधरुपमा आवतजावत गर्ने गरेको राप्लाका स्थानीयले जानकारी दिएका छन् ।

‘नेपाली प्रशासन त भारत सामु झुक्छ, हाम्रो केही बोल्ने आँट पनि आउँदैन ।’ स्थानीय एक जनाले भने ।

उनले सीमा क्षेत्रमा भएका घटना जस्तै कन्चनुपुरमा भएको घटनालाई स्मरण गर्दै त्यो घटना दोहोरिने त्राससमेत आफूहरुमा रहेको उनको दुखेसो छ ।

नेपालीले पाँच वटा पुल भत्काइदिए

नेपाली पक्षको आवश्यकता भएको ठाउँमा पुल निर्माण गर्न नदिने र मानवीय वस्ती नभएको क्षेत्रमा पुल निर्माण गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

मंगलबार स्थानीयहरुले आˆनो आवश्यकता रहेको क्षेत्रमा पुल निर्माण गर्न भारतले अनुमति नदिएको भन्दै ५ ठाउँका अस्थायी काठेपुल हटादिएका छन् ।

३०/३५ जना स्थानीयहरुको टोली गएर तम्बाकु र लखनपुर क्षेत्रका तीन वटा र थीको भीर र दोपाखेमा भारतले निर्माण गरेका एक/एक वटा गरी पाँच वटा काठेपुल भत्काइदिएका छन् ।

स्थानीयहरु आक्रोशित भइ पुलहरु भत्काउन भन्दै सीमा क्षेत्रतिर गएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाबाट सशस्त्रको टोली, दुम्लिङ र सुन्सेरा प्रहरी चौकीबाट नेपाल प्रहरीको टोली समेत सीमा क्षेत्रमा गएको थियो ।

त्यस्तै उत्तरी सीमा क्षेत्रमा फागुन महिनाको अन्तिमतिर नेपाली सेनाको दुर्गादल गुल्मबाट नेपाली सेनाको टोली पनि त्यस क्षेत्रमा गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment