७ बैशाख, सप्तरी । राजविराज नगरपालिकामा परेका विभिन्न उजुरीमध्ये सम्बन्धविच्छेदका उजुरी सबैभन्दा बढी छन् । त्यसरी सम्बन्धविच्छेदको माग गर्ने सबै पुरुष छन् । अन्तरजातीय बिहे गर्ने, प्रेम विवाह गर्ने र दोस्रो बिहे गर्ने पुरुषसमेत छोडपत्रको निवेदन बोकेर नगरपालिकामा पुगेका छन् ।
राजविराज नगरपालिका वडा नं. ४ का ओमप्रकाश दासले ०७० साल जेठ १९ गते दोस्रो विवाह गरे । पहिली पत्नीको निधन भएपछि दुईछोरा र एक छोरीका पिता ४० वर्षीय ओमप्रकाशले राजविराज १० की २४ वर्षीया युवतीसँग दोस्रो विवाह गरेका हुन् ।
दोस्रो बिहेपछि एकजना छोरा पाएका दासले अहिले आएर दोस्री श्रीमतीसँग सम्बन्ध विच्छेदको माग गर्दै नगरपालिकामा निवेदन दिएका छन् ।
गरीब परिवारको भएकै कारण तीन सन्तानका पितासँग विवाह गर्न बाध्य युवती आफ्ना श्रीमानले छाड्ने जनाएपछि चिन्तामा डुबेकी छिन् । पति ओमप्रकाशले सम्बन्धविच्छेद गरी पाऊँ भन्दै राजविराज नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएका छन् भने पत्नीचाहिँ माइतीमा बसिरहेकी छिन् ।
दासले न्यायिक समितिमा दिएको निवेदनमा सम्बन्धविच्छेदको कारण खोलाउँदै भनेका छन्- ‘साह्रै झगडालु भएकाले पत्नी बनाइराख्न सक्दिनँ ।’
तर, दासले झगडालु स्वाभावकी भन्दै सम्बन्धविच्छेद गराइदिन जिकिर गरे पनि पत्नी अमृताले भने आफूलाई नै गालीगलौज गरेर घरमा बस्न नदिएको नगरपालिकासमक्ष जिकिर गरेकी छिन् ।
ओमप्रकाशको मात्र होइन, राजविराजको न्यायिक समितिमा अरु पनि ८ वटा सम्बन्धविच्छेदका निवेदन परेका छन् ।
‘अहिलेसम्म समितिमा १३ वटा निवेदन परेका छन्’ न्यायिक समितिकी संयोजक एवं नगरपालिकाकी उपप्रमुख साधना झाले अनलाइनखबरसँग भनिन्, ‘१३ मध्ये ८ वटा सम्बन्ध विच्छेदकै निवेदन छन् । र, निवेदन दिने सबै पुरुषहरु छन् ।’
कसैले पत्नी आफूसँग बस्न नमानेको कारण देखाएका छन् भने कतिपयले परिवारसँग मिल्ने नभएकाले सम्बन्धविच्छेद गराइदिन माग गरेका छन् ।
तीनजनाका पत्नी सम्पर्कविहीन !
राजविराज ५ का सञ्जय श्रेष्ठले पत्नी सावित्री कोइरालासँग सम्बन्ध विच्छेद गरी पाऊँ भनी न्यायिक समितिमा निवेदन दिएका छन् । समितिले उनको निवेदन दर्ता गरेर पत्नी सावित्रीसँग बुझ्न खोज्दा उनी नगरपालिकाको सम्पर्कमा आएकी छैनन् ।
त्यस्तै राजविराज ७ का खेमराज कटुवालले पत्नी जीवन कटुवालसँग नबस्ने भन्दै सम्बन्ध विच्छेद गराइदिन समितिमा उजुरी दिएका छन् । यद्यपि उनकी पत्नी जीवन अहिलेसम्म सम्पर्कमा नआएको नगरपालिका श्रोतले जनाएको छ ।
श्रेष्ठ र कटुवालका मात्र होइन् । राजविराजकै अर्का युवक राकेश महर्जनले पनि पत्नी कल्पना खनाल महर्जनसँग सम्बन्ध विच्छेद गराइदिन भन्दै समितिमा निवेदन दिएका छन् ।
गोर्खा जिल्ला निवासी कल्पनासँग प्रेम विवाह गरेका महर्जनले निवेदन दिए पनि कल्पना सम्पर्कमा आएकी छैनन् ।
उपप्रमुख भन्छिन्- मिलाउने प्रयास गर्छौं
न्यायिक समितिमा सम्बन्धविच्छेदका परेका ८ वटा निवेदनमध्ये पाँचजनाका पत्नीले प्रत्युत्तर पनि दिइसकेका छन् । यद्यपि तीनजनाका पत्नी भने सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ ।
‘हामीले यी तीनजनालाई पनि खोजी गरिरहेका छौं, तर सम्पर्कमा आएका छैनन्’ उपप्रमुख झाले भनिन् ।
‘हामीले अहिले निवेदन लिएका छौं, दुबै पक्षको कुरा बुझ्ने प्रयास गरिरहेका छौं’ उपप्रमुख झाले भनिन्, ‘सकभर सम्बन्ध नटुटोस् भन्ने हाम्रो प्रयास हुनेछ ।’
उनले दुबैलाई सँगै बसाएर मेलमिलापको नीति अख्तियार गर्ने प्रयास गरिने बताइन् ।
संयोजक झाका अनुसार निवेदन बुझे पनि पत्नीसँगको कुरा नबुझेसम्म निवेदनमा केही गर्न सकिने अवस्था छैन । उनले भनिन्- ‘दुबैको कुरा बुझ्नु जरुरी छ ।’
छोराबुहारीले खानलाउन नदिएको ज्येष्ठ नागरिकको गुनासो
त्यसो त राजविराज नगरपालिकामा गुनासो बोकेर पुग्नेहरुमा श्रीमानहरु मात्रै छैनन्, हजुरबा हजुरआमाहरुको पनि निवेदन परेको छ ।
न्यायिक समितिकी संयोजक झाले ज्येष्ठ नागरिकहरुले पनि विभिन्न गुनासो गर्दै समितिमा उजुरी दिएको अनलाइनखबरलाई बताइन् ।
छोराबुहारीले खान लाउन नदिएको भन्दै दुईवटा उजुरी परेको उनले बताइन् ।
यस्ता निवेदनहरुप्रति आफूहरु गम्भीर रहेको बताउँदै उपप्रमुख झाले चाँडै ज्येष्ठ नागरिकहरुलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4