Comments Add Comment

मनमोहनको सेक्रेटः बेडरुमदेखि प्रधानमन्त्री कार्यालयसम्म

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा एक अनुभव

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँग उनका राजनीतिक सल्लाहकार ईश्वर पोखरेल ।

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) को औपचारिक एकीकरणपछि कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिलन भएको टिप्पणी राजनीतिक क्षेत्रमा गरिएको थियो । त्यो ०४७ पुसको कुरा थियो । त्यसबेला ‘मार्क्सवादी’ लाई मनमोहन अधिकारीले नेतृत्व गरिरहनुभएको थियो र ‘मार्क्सवादी-लेनिनवादी’ को नेतृत्वमा मदन भण्डारी हुनुहुन्थ्यो ।

त्यो एकीकरण ऐतिहासिक थियो । यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई मूलतः एकीकृत गरेको थियो । अलग-अलग धारबाट अगाडि बढ्दै आएका दुई छुट्टाछुट्टै समूहबीचको एकताले परिवर्तन चाहने आम न्यायप्रेमी जनतामा उत्साह र आशाको किरण छरेको मात्र थिएन, आफ्नो आन्तरिक जीवनलाई साँचो अर्थमा सम्मिलन गराउने व्यावहारिक कठिनाइ पनि भोग्दै थियो ।

एकीकृत भइसकेको पार्टी जीवनमा सहजताका मुनाहरु पलाउन समय लाग्ने कुरा स्वाभाविक थियो । असहजताले नेतृत्व पंक्तिलाई केही गम्भीर बनाएको थियो र त्यसको घोचाइका दुःखाइहरु पनि सहिरहनुपरेको थियो । नेतृत्वमा रहनुभएका मनमोहन अधिकारी स्वयम् यस किसिमको अनुभव गरिरहनुभएको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनभित्रका पृथक-पृथक धारालाई प्रतिनिधित्व गर्ने दुई छुट्टाछुट्टै समूहहरु आ-आफ्नो ‘स्कुलिङ्ग’ का कारण एकीकरणको ऐतिहासिक कामलाई सहज र उपलब्धिपूर्ण बनाउने काममा जुटेका थिए । मनमोहन अधिकारी यो काममा उदाहरणीय बनेर उभिनुभएको थियो ।

पार्टी एकीकरणको लगत्तैपछि मदन भण्डारीका साथमा मनमोहन अधिकारी एकीकरणको सन्देश लिएर देशव्यापी दौडाहामा निस्कनुभयो । आफ्नो वृद्ध शरीरलाई लिएर उहाँ कैयौं दिनको यात्रामा निस्कनुभएको थियो । यो यात्राबाट फर्केपछि एक दिन उहाँले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले बुझ्दै गरेको अनुभव सुनाउनुभएको थियो ।

उहाँ मुलुककै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने लगत्तै मेरो डेरामा आउनुभयो । मेरो हात समाउँदै आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गर्नुभयो

मनमोहन अधिकारीको स्वाभाव मलाई त्यसबेला विशेष अचम्मको लाग्यो, जब उहाँ मुलुककै पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री बने लगत्तै मेरो डेरामा आउनुभयो । त्यसबेला मलाई केही अचम्म र केही अस्वाभाविक पनि लाग्यो । उहाँले आएर मेरो हात समाउँदै आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गर्नुभयो । वहाँको प्रस्ताव सुनेर मलाई त त्यसबेला के बोलुँ- के भनुँ जस्तो भएको थियो ।

त्यसबेला मलाई लाग्यो- मनमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको एउटा जीवित इतिहास, समृद्ध अनुभवका धनी, उमेर र अनुभवले मेरो पितातुल्य व्यक्ति आफ्नो राजनीतिक सल्लाहकार बनिदिन आग्रह गरिरहनुभएको छ, त्यसबेला म के भन्न सक्थें, के बोल्न सक्थें !

मनमोहनले मेरो हात समाएर, मेरा आँखामा हेर्दै भन्नुभएको थियो – ‘हेर्नुस म बुढो मान्छे, खास केही गर्न सक्तिनँ, चलाउने तपाइँहरुजस्ता नौजवानले हो, कृपया म बूढालाई सघाइदिनुस् ।’

मैले तत्कालै त केही भन्न सकिनँ । त्यतिबेला जब मैले आफ्नो अनुहार उठाएर हेरें – मेरा दिवङ्गत पिताको धमिलो अनुहार मेरो आँखा अगाडि नाच्न थाल्यो ।

लाग्यो- अजङगको भारी बोक्दै गरेका मेरा वृद्ध पिता मसित सहयोगका लागि माग गरिरहनुभएको छ । मैले त्यसबेला जवाफ दिएँ- कामको त्यो फिल्डमा मेरो खास अनुभव त छैन, तर म तपाई‌ँलाई सघाउँछु ।

मैले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भएर के गर्ने ? खास केही कुरा थाहा थिएन । २-४ दिन त मलाई के गर्ने- कसो गर्ने भई नै रह्यो । अफिस जान थालेपछि प्रधानमन्त्री कार्यालयलाई व्यवस्थित बनाउन विगतमा के-के काम भएका रहेछन्- के कस्ता योजना बनाइएका रहेछन् ? अभिलेखहरु-दस्तावेजहरु के-के रहेछन् ? भनेर खोतलखातल गर्न झन्डै एक हप्ता जति लगाएँ ।

प्राप्त भएका ती सामाग्रीहरुका आधारमा मैले एउटा लिखत तयार पारें र त्यही लिखत-योजना प्रधानमन्त्री मनमोहन अधिकारीलाई देखाएँ । वास्तवमा त्यो लिखत मैले सल्लाहकार भएर गर्ने कामको मोटामोटी रुपरेखा पनि थियो ।

प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद सचिवालयलाई व्यवस्थित बनाउने सम्बन्धमा, प्रधानमन्त्रीद्वारा दैनन्दिन गरिने कामका सम्बन्धमा, विभिन्न विषय- विज्ञहरुको सहयोग जुटाउने सम्बन्धमा र प्रधानमन्त्रीले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण निर्धारण गर्ने सम्बन्धमा केन्दि्रत भएर मैले आˆनो योजनाको लिखत तयार पारेको थिएँ ।

त्यो लिखत हेरेपछि मनमोहनले खुसी हुँदै भन्नुभएको थियो- ‘मैले सोचेभन्दा पनि राम्रो योजना प्रस्तुत गर्नुभयो । धन्यवाद दिएर मात्र म चुप लाग्दिनँ, यसलाई कार्यान्वयन गर्ने काममा जुटिहाल्नुपर्छ भनेर म तपाईलाई करकर गरिरहन्छु ।’

वास्तवमा मनमोहन अधिकारी प्रधानमन्त्री रहुन्जेल उहाँको समेत संलग्नतामा तयार पारिएको त्यो अवधारणा-योजनामा रहेर उहाँले काम गरिरहनुभयो ।

मैले सल्लाहकार भएर नियमितरुपमा केही कामहरुमा ध्यान दिने गरेको थिएँ । खासगरी प्रधानमन्त्रीको हैसियतले दिनुपर्ने मन्तव्य-वक्तव्यहरुलाई अन्तिम रुप दिने, राजनीतिक महत्व राख्ने भेटघाटमा प्रस्तुत गर्ने विचारलाई व्यवस्थित बनाइदिने, पार्टीले गरेका निर्णय तथा ती निर्णयका आधारमा सरकारका तर्फबाट गर्नुपर्ने निर्णय तथा खेल्नुपर्ने भूमिकाबारे टुङ्गो गर्ने ।

त्यसैगरी विभिन्न मन्त्रालयहरुमा भइरहेका कामहरुको अनुगमनको योजना बनाउने तथा यी ठाउँमा देखिएका समस्याबारे छलफल गर्ने, प्रधानमन्त्री कार्यालयलाई सुदृढ र व्यवस्थित परिचालन गर्ने आदि ।

मैले यिनै काममा आफूलाई केन्द्रित गरेको थिएँ । यिनै कामलाई केन्द्रित गरी प्रधानमन्त्रीको स्वकीय तथा निजी सचिवालयलाई परिचालित गर्न मैले आफ्नो ध्यान केन्द्रित गरेको थिएँ ।

प्रधानमन्त्रीको हैसियतले पूरा गर्नुपर्ने भूमिका र पार्टीको अध्यक्षको हैसियतले खेल्नुपर्ने भूमिकाका लागि सन्तुलित र समन्वयात्मक क्रियाशीलताको आवश्यकता पथ्र्यो । मनमोहन अधिकारी यस विषयमा अत्यन्त सजग हुनुहुन्थ्यो र मलाई यस विषयमा ध्यान पुर्‍याउन विशेष निर्देशन दिइरहनुहुन्थ्यो ।

प्रधानमन्त्रीको हैसियतले दिइने वक्तव्यका सन्दर्भमा मनमोहनले प्रायः सधैं अन्तरविरोधी स्थिति झेल्नुपरेको कतिपय मानिसहरु ठान्थे ।

एकदिन म उहाँकै ‘बेड रुम’ मा पुगेको थिएँ । उहाँलाई केही विसञ्चो भएको थियो । र, उहाँले मलाई त्यहीँ बोलाउनुभएको थियो । त्यहाँभित्रको स्थिति देखेर मलाई अत्यन्त टीठ लागेर आयो

उहाँको मौखिक भाषण रोचक, धाराप्रवाह र सहज हुने गथ्र्यो, आम स्रोताहरुले पनि यस्तै बुझ्थे । तर प्रधानमन्त्रीले औपचारिक कार्यक्रमहरुमा बोल्दा आधिकारिक, सन्तुलित, सारगर्भित हुनुपर्ने र थोरै पनि असन्तुलित हुनै नहुने मान्यताका आधारमा उहाँले लिखित भाषण पढ्नुपर्ने बाध्यता थियो । मौखिक भाषणमा स्वाभाविक र सहजरुपमा खुल्नुहुने मनमोहन अधिकारी लिखित भाषण पढ्नुपर्दा भने अत्यन्त असहज र खुम्चिएको रुपमा प्रस्तुत हुन पुग्नुहुन्थ्यो ।

त्यसो गरिरहँदा मानिसहरु मनमोहनलाई मौलिकता गुमाएको र अप्राकृतिकरुपमा उभ्याएको व्यक्तिका रुपमा बुझ्न पुग्थे । म स्वयंलाई पनि कतिपटक त लाग्यो- उहाँलाई साह्रै कष्ट झेल्न लगाइँदैछ ।

अंग्रेजीमा गर्ने मौलिक भाषणमा त मनमोहन साँच्चै राम्ररी खुल्नुहुन्थ्यो, त्यति मात्र होइन- उहाँ त पूर्ण रुपमा खुल्नुहुन्थ्यो ।

यो स्थितिलाई कुनै-कुनै बेला त कटाक्ष गर्दै भन्नु पनि हुन्थ्यो, मनमोहन । लिखित भाषण सकी नसकी पढिसकेर त्यसलाई थन्क्याउँदै अब ‘म आफ्नाे भाषण सुरु गर्छु’ भन्न पुग्नुहुन्थ्यो- मनमोहनका स्रोताहरु/ सहभागीहरु उहाँको भनाइ सुनेर समर्थनमा हाँस्थे ।

प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी कहीं निस्कँदा पनि एकजना स्वकीय सचिव र राजनीतिक सल्लाहकारका रुपमा मलाई प्रायः सधैँ साथमा हिँड्न आग्रह गर्नुहुन्थ्यो । उहाँसित मैले देशभित्र र बाहिरसँगै यात्रा गर्ने अवसर पाएको छु ।

कार्यक्रममा प्रायः सधैं सँगै हुँदा उहाँले कार्यक्रममा बोल्ने वा प्रस्तुत गर्ने विषयका बारेमा छलफल गर्नुहुन्थ्यो – आफ्ना विचार र भनाइलाई सङ्गठित गर्नुहुन्थ्यो, सायद । कुनैबेला त मलाई ती सबै विषय टिपोट गरिदिन आग्रहसमेत गर्नुहुन्थ्यो ।

सन् १९९५ को जनवरीमा डेनमार्कको कोपनहेगनमा नेपालका प्रधानमन्त्रीको हैसियतले प्रस्तुत गर्ने वक्तव्यमा मलाई सँगै राखेर धेरै विषयमाथि छलफल गरेर मात्र उहाँले अन्तिम रुप दिनुभएको थियो । डेनमार्क, बेलायत, फ्रान्स, चीन, मंगोलिया तथा भारतको औपचारिक/अनौपचारिक भ्रमणका समयमा प्रधानमन्त्री मनमोहन अधिकारीसित साथसाथ रहँदाका धेरै अविस्मरणीय र प्रेरणादायी संस्मरणहरु मसित सधैं सुरक्षित रहनेछन् ।

एउटा विशेष प्रसंगलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ ।

सधैंझैं मनमोहन अधिकारीले एक दिन सुदुरपश्चिमको बाढीग्रस्त क्षेत्रको भ्रमणका लागि मलाई पनि साथै हिँड्न भन्नुभयो । म तयारीका साथ प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेको थिएँ । तर, त्यहाँ पुगेपछि प्रधानमन्त्रीले ‘पढी प्रत्युत्तर पठाउनु पर्ने’ एउटा फाइल मलाई दिँदै भन्नुभयो । यससम्बन्धमा पर्सिसम्म हामीले आफ्नाे तर्फबाट ‘रिस्पोन्स’ गरिसक्नुपर्छ, आज तपाई मसँगै नगई यसको अध्ययन गरी प्रत्युत्तर तयार गर्नुहोला । मसित जानुपर्दैन’ ।

म उहाँले त्यति भन्नु भएपछि म त्यसदिन प्रधानमन्त्रीलगायत अन्य नेताहरुसित नगई त्यसै फर्केको थिएँ । त्यही हेलिकप्टर काठमाडौं फिर्दै गर्दा दुर्घटनाग्रस्त हुन पुग्यो । तर, चालक किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उक्त भिषण दुर्घटनामा परी झण्डै १० हजार फिटमाथिको उचाइबाट खसेर पनि मनमोहन अधिकारीसहितको टोली सकुशल रहन सकेको थियो ।

उहाँलाई गम्भीर प्रकृतिको चोटपटक त लाग्यो, तर उहाँहरु सबै बाँच्न सफल हुनुभयो । म अहिले पनि सम्झन्छु, त्यस दिन म पनि त्यही टोलीमा भएको भए के हुन्थ्यो होला ?

प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएर मैले नौ महिना बिताएँ । त्यो नौ महिना मेरा लागि एकैपटक धेरै कुरा थाहा पाउने, सिक्ने, बुझ्ने अवसर बन्यो । राज्य सञ्चालनको केन्द्र भागमा रहेर थाहा पाउनुपर्ने केही कुराहरु मैले थाहा पाएको थिएँ, बुझेको थिएँ । आफूभित्रका कमजोरी तथा सीमाहरुलाई बुझ्ने मौका पनि मिलेको थियो त्यसबेला ।

पार्टीगत रुपमा नीति निर्माण गर्ने तथा निर्णय गर्ने विषय जति सहज र सरल हुन्छ- राज्य सञ्चालनमा जाँदा थप जटिलताको सामना गर्नुपर्ने हुन्छ । पार्टीले गरेको निर्णयलाई सरकारको तर्फबाट कार्यान्वयन गर्ने विषयमा देखापर्ने जटिलता र अन्तरविरोधलाई थोरै भए पनि देख्ने मौका प्राप्त भयो त्यसबेला ।

वास्तवमा यी सबै कुरा मनमोहन अधिकारीले मलाई आदरणीय गुरु तथा अभिभावक भएर सिकाउनुभएको थियो ।

मनमोहन अधिकारी प्रधानमन्त्रीको पदमा रहँदा कस्तो अभावको जीवन धानिरहनु भएको थियो भन्ने कुरा अहिलेका प्रायः सबै नेता, मन्त्री तथा प्रधानमन्त्रीलाई पत्यार नलाग्न सक्छ ।

१९ वर्षपछि सम्झिँदा पनि सरलता र शालीनता नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन् भन्ने लाग्छ

एकदिन म उहाँकै ‘बेड रुम’ मा पुगेको थिएँ । उहाँलाई केही विसञ्चो भएको थियो । र, उहाँले मलाई त्यहीँ बोलाउनुभएको थियो । त्यहाँभित्रको स्थिति देखेर मलाई अत्यन्त टीठ लागेर आयो । मैले त्यहाँ ग्रामीण क्षेत्रमा सामान्य स्कुलमा शिक्षण पेशामा रही दुःखजिलो गरेर बसेको शिक्षकको कोठामा पुगेको जस्तो लाग्यो ।

अत्यन्तै सामान्य ओछ्यान, पलङ्गसित नमिल्ने पुरानो झुल, पुराना खालका सरसामान अगाडि देखेर एकछिन त मलाई अचम्म पनि लाग्यो । कोठामा पुगेपछि मलाई मनमोहनले भन्नुभयो – ‘प्रधानमन्त्रीको तलव-सुविधाले यहाँ आउने-जाने मानिसलाई खान दिन पनि नसक्ने भइयो । के गर्ने ? घरकै मान्छेहरु समेत कचकच गर्लान् जस्तो भयो ।’

उहाँका यस्ता कुरा सुनेपछि तत्कालै त मैले केही भनिहालिनँ । खाली ‘हामी सल्लाह गरेर मिलाउँला’ भन्ने जवाफ दिएँ । पछि सचिवालयका साथीहरुसित सल्लाह गरी केही व्यवस्था मिलायौं ।

हामीले अर्थमन्त्री भरतमोहन अधिकारी तथा परराष्ट्र मन्त्रालयअन्तर्गत अतिथि सत्कार विभागका पदाधिकारीहरुसित कुरा गरी प्रधानमन्त्री निवासमा देखिएको त्यो दयनीय अवस्थामा केही सुधार गर्ने प्रयत्न गरेका थियौं ।

पछि प्रधानमन्त्रीको पदबाट हटिसकेपछि एक दिन जब म काठमाडौंको खड्का भद्रकालीस्थित उहाँको निवास पुगेको थिएँ, त्यसबेला उहाँ एक्लै हुनुहुन्थ्यो । त्यो दिन पनि म उहाँको बेडरुममै पुगेको थिएँ ।

निजी निवासको उहाँको ‘बेडरुम’ र प्रधानमन्त्री निवासको उहाँको ‘बेडरुम’मा खासै कुनै भिन्नता थिएन । उस्तै सामान्य स्थिति, उस्तै सरलता ! प्रधानमन्त्री पदमा हुँदा र नहुँदामा मनमोहन अधिकारीको जीवनशैलीमा खासै कुनै परिवर्तन आएन, देखिएन ।

उहाँको अनुपस्थितिका १९ वर्षपछि सझिँदा पनि सरलता र शालीनता नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन् भन्ने लाग्छ ।

हार्दिक श्रद्धाञ्जली !

(एमाले महासचिव पोखरेल हाल रक्षा मन्त्री छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment