Comments Add Comment

भरतमोहन : सुनसरीका ज्वाइँ, मोरङका वकिल !

भरतमोहन अधिकारीलाई काठमाडौंले अर्थविदको परिचय दियो । आफ्नो ‘गाउँ आफैँ बनाऔं’ र सामाजिक सुरक्षा भत्ता वितरणको अभियन्ता बनायो । हो पनि । तर, उनको खास, मोरंगीया परिचय हो, ‘वकिल सा’ब ।’

‘मोरंगीया’, अर्थात् अहिलेको मोरङ र सुनसरी जिल्लाको भेग । २०१५ सालको आम निर्वाचनसम्म सुनसरी भन्ने अलग्गै जिल्ला थिएन । पछि भौगोलिक विभाजनमा मोरङको पश्चिमी भूगोल अलग्गै सुनसरी जिल्लाका रुपमा रहन गयो । तर, कागजी विभाजनको त्यो सीमांकनले त्यहाँका बासिन्दामा लामो समयसम्म अलग–अगल जिल्लाका हौँ भन्ने अनुभूति दिएको थिएन ।

त्यही मोरंगीया भेगका जनता, जब जमिन्दारबाट पीडित हुन्थे, राज्यले झुठा मुद्दा लगाएर दुःख दिन्थ्यो, तब उनीहरुका लागि ‘भगवान’ कै घरजस्तो थियो, विराटनगरको कोशी ल फर्म । वकिल भरतमोहन अधिकारीका फर्म पार्टनर थिए, अहिलेका ज्येष्ठ कम्युनिष्ट तथा वरिष्ठ लेखक कमल कोइराला । यी दाजुभाइले ०३३ सालमा फर्म खोलेर वकालत पेशा रोजेको रहरले थिएन, बाध्यताले ।

मनमोहनका भाइ भरतमोहन, अर्थात् उनीहरु कोइराला परिवारका नातेदार । कमल मातृकाप्रसाद कोइरालाका छोरा । मनमोहन–भरतमोहनका बुबा रामचन्द्रलाई मातृका, वीपी, गिरिजाहरुले ‘भन्दाइ’ भन्थे । ‘भान्दाइ’ को मतलब बाबु, आमाका भानिज भन्ने बुझिन्छ । उनकी आमा (भरतमोहनहरुकी हजुरआमा) कोइरालाकी छोरी ।

यसकारण मातृका, वीपी, गिरिजाहरुकै भान्दाइ पर्ने । यो नाताअनुसार बुबाका भानिजहरु भएका नाताले कमल कोइरालासहित, शेखर, सुजाता, शशांकहरुको पुस्ताका दाजुभाइ पर्ने भए । तर, मनमोहन–भरतमोहनले कहिल्यै पनि गिरिजालाई मामा भनेनन् । ‘गिरिजा काका’ भन्थे, तर नाताले चाहिँ मातृका, वीपी, र गिरिजाहरु मनमोहन–भरतमोहनहरुका मामा ।

मनमोहन–भरतमोहनमात्रै होइन, कोइराला निवासमै जन्मिएका कमल पनि कम्युनिष्ट बने । मनमोहन त गिरिजासँगै विराटनगर जुट मिलमा मजदुरी गर्थे र मजदुर आन्दोलनलाई सँगै मिलेर चलाए । तर, मनमोहनले गिरिजाको राजनीतिक बाटो रोजेनन् ।

विद्रोही बन्नलाई कम्युनिष्ट नै हुनुपर्छ भन्ने चेतको विकाससँगै कमल कोइरालाले कोइराला निवासमा हुर्किरहेको वीपीको ‘प्रजातान्त्रिक समाजवाद’ झुठको पुलिन्दा ठानेर त्यो धारको राजनीति अस्वीकार गरे । त्यसपछि कम्युनिष्टमा लागेका नजिकका नातेदार मनमोहन–भरतमोहनहरु नै भए । त्यसमा पनि मनमोहन अलिक बढी काठमाडौं बस्ने ।

भरतमोहनचाहिँ ढुक्कैले मोरंगीया । उनले विवाह गरे धरानमा । साविकको धोपा गाउँ पञ्चायत र हाल धरान उपमहानगरपालिका– १६, विजुली अफिस लाइनका धनाढ्य लक्ष्मीप्रसाद आचार्यकी छोरी ओमकुमारीसँग भरतमोहनले विवाह गरेपछि पत्नीको नाम अलिक परम्परावादी भयो भनेर विवाहलगत्तै नाम फेरियो ‘सविता ।’ अहिले भरतमोहन पत्नीलाई चिनिने नाम ‘सविता’ नै हो ।

त्यो जमानामा कानुनमा बिएल गरेको, अर्थशास्त्र पढेको । तर, काम केही छैन । गर्नुपर्ने राजनीति । काठमाडौं बसेर राजनीति चलाउन मुस्किल । दाजु मनमोहनका साथी थिए, पुष्पलाल । दाजुले पुष्पलालकै साली साधनासँग विवाह गरेपछि ‘साढु दाइ’ नाता पनि पर्ने भयो । पुष्पलालले ‘काठमाडौं बसी–बसी गर्नुपर्ने केही छैन, पूर्वतिर कम्युनिष्ट चेतनाको विकास गर्ने, संगठन गर्ने र जनवादी आन्दोलनको विकास गर्ने’ भनी भरतमोहन, कमल कोइरालाहरुलाई नै जिम्मेवारी सुम्पिएका थिए । पूर्वमा पुष्पलाल समूहका अगुवा नेता मनमोहन, भरतमोहनहरु नै थिए ।

१६ वर्षदेखि पञ्चायत व्यवस्थाले झन्झन् जरो गाडिरहेको छ । त्यसलाई फाल्न सम्भव थियो, सजिलो थिएन । पञ्चायतविरोधीप्रति राज्यको व्यवहार कठोर बन्दै थियो । मोरंगीया समाजमा सामन्तहरुको हालिमुहाली बढ्दो । पूर्वी पहाडका हुनेखानेदेखि काठमाडौंसम्मका सामन्तले विराटनगरतिर आफ्नो मुकाम जमाइसकेका थिए । यस्तो स्थितिमा विराटनगर बस्ने कसरी ? यसैमा दिमाग खेलाउँदा खेलाउँदै ०३३ सालमा कोशी ल फर्म खुल्यो । ०४६ सालसम्म त्यो ल फर्मले गरिवहरुका पक्षमा मात्रै वकालत गरिरह्यो ।

वास्तवमा कोशी ल फर्म पेशागत कानुनी अभ्यास गर्ने भन्दा बढी माक्र्सवादी चेतनाको विकास, संगठन निर्माण र जनवादी आन्दोलनको आधारभूमि तयार पार्ने थलो थियो । उनीहरुको ल फर्म थियो, विराटनगरमा । त्यहाँ जिल्ला अदालतमात्र थियो । अञ्चल अदालत र अञ्चलाधीश कार्यालय थियो, धरानमा (चन्द्रसंस्कृत विद्यापीठको बाटो पारि) । त्यसैले भरतमोहन, कमलहरुका लागि मोरङ–सुनसरी बराबरी थियो ।

वकिलका रुपमा भरतमोहनको प्रभाव कस्तो भने, २०४८ सालको एउटा घटना पंक्तिकारलाई स्मरण हुन्छ ।

सुनसरी– ३ बाट गिरिजाप्रसाद कोइरालाले ०४८ मा सांसद जिते । मोरङ– १ बाट पनि जितेका थिए । पछि सुनसरी छाडे । मंसिरमा त्यहाँ उपचुनाव भयो । एमालेका उम्मेदवार थिए, दुःखीलाल चौधरी, कांग्रेसबाट वीपीपुत्र प्रकाश कोइराला ।

प्रचारका क्रममा चाँदबेला गाउँमा आमसभा थियो । प्रमुख अतिथि भरतमोहन अधिकारी । हामी स्कुले विद्यार्थी (कार्यकर्ता) थियौँ । वरिपरिका गाउँबाट जुलुस लिएर जाने पार्टी निर्देशन थियो । यसक्रममा हामी मधेशाबाट लगिएको, अनेरास्ववियुको जुलुसमा सामेल थियौँ । त्यसबेला मदन भण्डारी, सीपी मैनाली, आरके मैनालीजस्ता नाम निक्कै चर्चामा थियो । तर, भरतमोहनको नाम उति नसुनिएको ।

हामी चाँदबेला पुग्नुअघि नै भरतमोहन पुगिसक्नुभएको थियो । स्थानीय चौधरी अगुवाहरु बीचमा उहाँ कुर्सीमा बसिरहनुभएको । मधेशाबाट भोजराज सर (पोखरेल) को नेतृत्वमा हामी थियौँ । उहाँले हामीलाई भरतमोहन नजिक लगेर चिनाइदिनुभयो । त्यसपछि हामी उहाँको त्यो ‘क्रेज’ देखेर रमितेमात्र भयौँ । गाउँका बूढाखाडा चौधरीहरु ‘वकिल सा’ब’ भनेर भरतमोहनलाई यति मान्दा रहेछन् कि, हामीले नजिकको तीर्थ हेला गरेजस्तो महसूस गरिरहेका थियौं ।

आमसभामा मान्छेहरु बोलाउने चौधरी साथीहरु पनि घर–घर गएर भन्दै थिए, ‘विराटनगर से कोशी ल फोर्म के वकिल सा’ब यागेलो, चल आमसभामेँ ।’ भरतमोहन भनेर होइन, कोशी ल फर्म चलाउने त्यही लोकप्रिय वकिल आयो भनेर आमसभामा भव्य उपस्थिति ।

२०४७ सालमा तत्कालिन नेकपा माले र माक्र्सवादी एकीकरण भई एमाले बन्नुअघि भरतमोहनहरु माक्र्सवादीमा हुनुहुन्थ्यो । देशव्यापी रुपमा माक्र्सवादीको उति बलियो संगठन थिएन, जति मालेको थियो ।

मुख्यतः दुई प्रकारका पेशाकर्मीले पेशाको आवरणमा पञ्चायतकालीन कम्युनिष्ट राजनीतिलाई धानेका थिए । सबभन्दा बढी शिक्षक र त्यसपछि वकिल । अहिले नेकपाका थुप्रै नेताहरु विद्यार्थी पढाएर विद्वान उत्पादन गर्नमात्रै होइन, मूलतः कम्युनिष्ट आन्दोलनको प्रचार र पञ्चायतविरोधी जनमतको निर्माण गर्न शिक्षक बनेका थिए । वकिलहरुले पनि त्यसै गर्थे । पैसा भएका ग्राहकसँग पैसा लिएर, पैसा नभएका गरीब, निमुखालाई सित्तैमा कानुनी सेवा दिएर आफूतिर आकर्षित गरेका थिए ।

भरतमोहनहरुले गरिवका मुद्दा लडी–लडी सुनसरीमा मार्क्सवादीको यति राम्रो संगठन बनाएका थिए कि, त्यहाँबाट उक्त पार्टीमा राम्रा–राम्रा नेता पनि उत्पादन भए । जस्तै, मधुवनका उपेन्द्र यादव (हाल स्वास्थ्य मन्त्री), हाँसपोसाका प्रभुनारायण चौधरी (केही वर्षअघि निधन), झुम्काका धर्मराज निरौला (हाल नेकपाका केन्द्रीय सदस्य), सिंगीया, कालिझोडाका बोर्णबहादुर कार्की (प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वकिल), सुरेन्द्र कार्की, मधेशाका हरिनारायण चौधरीसहित अनगिन्ती ।

०४७ मा मालेसँग मार्क्सवादी एकीकरण भयो, ६ महिनापछि ०४८ वैशाखमा आम निर्वाचन हुँदा सुनसरीका चारमध्ये तीन क्षेत्रबाट पूर्वमाक्र्सवादीका उम्मेदवार । एकीकरण भएर आएको सानो पार्टीको यस्तो उम्मेदवारी देशका अरु कुनै जिल्लामा थिएन । जस्तो, क्षेत्र नं. १ मा मनमोहन अधिकारी, (२ मा लीला श्रेष्ठ सुब्बाचाहिँ पूर्वमाले), ३ मा प्रभुनारायण चौधरी र ४ मा उपेन्द्र यादव एमाले उम्मेदवार ।

यसरी सबैजसो क्षेत्रमा मार्क्सवादीहरुले मात्रै टिकट पाउँदा पूर्वमालेबीच निक्कै विवाद र असहमति पनि भयो । त्यसमाथि गिरिजाले छोडेको क्षेत्रमा उपचुनाव हुँदा फेरि पूर्वमाक्र्सवादी दुःखीलाल उम्मेदवार भए । एक वर्षपछिको स्थानीय चुनावमा भने पार्टी सचिव भीम आचार्यले केन्द्रसँग कुरा गरेरै त्यो चुनावको उम्मेदवारी पूरै पूर्वमालेमय बनाए । जस्तो धरानको मेयरमा ध्यानबहादुर राई, इटहरी गाविस अध्यक्ष प्रमोद श्रेष्ठ, इनरुवाको मेयर खेमराज पोखरेललगायत ।

वास्तविकता के हो भने, जिल्लाका विशेषतः चौधरी समुदायका बीचमा माक्र्सवादी पार्टी यति बलियो थियो कि, देशका अरु जिल्लामा शायदै त्यस्तो संगठन थियो । सुनसरीमै पनि प्रभुनारायण, दुःखीलालजस्ता चौधरी नेता थिए । तर, त्यो समुदायका जनता ‘वकिलसा’ब’ भन्दै भरतमोहनसँग एकदमै झ्याम्मिने । मालेसँग पार्टी एकीकरण हुनुअघि भरतमोहन नेकपा (मार्क्सवादी) को कोशी अञ्चलको इञ्चार्ज थिए । पहिला पुष्पलाल समूह र मनमोहन समूहका रुपमा अलग अलग रहेको पार्टी ०४३ मा एकीकरण भई नेकपा (मार्क्सवादी) बनेको थियो । एकीकरणमा पुष्पलाल समूहकी महासचिव सहाना प्रधान अध्यक्ष र मनमोहन महामन्त्री बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment