Comments Add Comment

माओवादी सांसदले भने- बजेट परम्परागत नहोस्

माओवादी केन्द्र संसदीय दलको बैठक । तस्वीर: प्रचण्डको सचिवालय

२४ वैशाख, काठमाडौं । माओवादी केन्द्रका सांसदहरुले जनताले प्रत्यक्ष लाभको अनुभूत गर्ने बजेट बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सुझाव लिन सोमबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरुले नेतृत्वलाई सो सुझाव दिएका हुन् ।

सांसदहरुले परम्परागत भन्दा नयाँ कुरा बजेटमा आउनुपर्ने, विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयमा सुझाव राखेका थिए । पार्टीको घोषणा पत्रअनुसार जनमुखी बजेट निर्माण गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँटका विषयमा सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा बैठकमा छलफल गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, खानेपानीमन्त्री विना मगर, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, नेताहरु टोपबहादुर रायमाझी, जनार्दन शर्मा ‘प्रभाकर’, अमनलाल मोदी, कमला रोकालगायतले धारणा राखेका छन् ।

सांसदहरुले बोल्ने क्रम नसकिएपछि मंगलबार बिहान ८ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको छ । मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले सांसदहरुका जिज्ञासाको जवाफ दिने प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment