Comments Add Comment

‘केपी ओलीको ट्वीट किन ? पार्टी एकता भाँड्न ?’

२५ वैशाख, काठमाडौं । जब-जब माओवादी नेताहरु पार्टी एकताका लागि तयार हुन्छन्, एमालेका तर्फबाट माओवादीलाई चिढ्याउने कुनै न कुनै फण्डा बाहिर आउँछ । बैशाख ९ गते एमालेले बनाएको ब्यानरले माओवादीलाई भड्काएको थियो, अब फेरि प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटले माओवादी नेताहरुलाई झस्काएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार आफ्नो आधिकारिक टि्वटर ह्याण्डलबाट एउटा कडा अभिव्यक्ति सार्वजनिक गरेका छन् । जसमा ओलीले भनेका छन्-‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई त्यसप्रति अरुची हुन सक्छ ।’

प्रधानमन्त्रीले अगाडि भनेका छन्- ‘लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको त्यसको प्रतिविम्ब सरकारका काममा देखापरेपर्छ । किनकि सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौम सत्ता जनतामा थियो र छ ।’

मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीजस्तो व्यक्तिको यो अभिव्यक्ति छुद्र र असान्दर्भिक त, छ नै, यसले पार्टी एकताको छलफलमा रहेका माओवादी नेताहरुलाई चित्त दुखाउने अवस्थामा पुर्‍याएको छ ।

मुलुकको सार्वभौम सत्ता जनतामा छ भन्ने कुरा प्रधानमन्त्रीले भनिरहनुपर्ने विषय होइन, किनभने यषे संविधानप्रदत्त विषय हो । तर, प्रधानमन्त्रीले आफ्नो ट्वीटमा ‘समीकरण फेरिरहने बानी परेका’ भनेर माओवादी अध्यक्ष प्रचण्डलाई नै लक्षित गरेको माओवादी नेताहरुको बुझाइ छ ।

आगामी जेठको पहिलो साता पार्टी एकता गर्नका लागि माओवादी नेताहरु तयार भइसकेको र विवादहरु मिल्दै गएको अवस्थामा प्रधानमन्त्री ओलीले एकता भाँड्ने उद्देश्यले यस्तो टि्वट गरेको माओवादीका एक नेताले बताए ।
यसबारे बुधबार बिहान ९ बजे बालुवाटारमा हुने प्रधानमन्त्री केपी ओलीसँगको भेटमा प्रचण्डले कुरा उठाउन सक्ने स्रोतले बतायो ।

पार्टी एकतालाई टुंगो लगाउन मंगलबार ओली प्रचण्डवीच छलफल हुन लागेको हो ।

‘जब सहमति हुन खोज्छ, ओलीले भाँड्छन्’

एमाले र माओवादीवीच पार्टी एकताको सहमति हुनै लाग्दा केपी ओलीका कारण वातावरण भड्किने गरेको एक माओवादी नेताले बताए । उनले भने- ‘केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने अघिल्लो दिनको बैठकमा ओलीले जबज मान्नैपर्छ भनेर माओवादी नेतालाई थर्काए । जवकि जबज लगायतका विषयलाई महाधिवेशनसम्म छलफलमा लैजाने पूर्वसहमति भइसकेको थियो ।

केपी ओली र माधव नेपाल दुबै मिलेर अहिल्यै जबज स्वीकार्नुपर्छ भन्दै माओवादी नेतालाई दबाव दिएपछि भोलिपल्ट माओवादी सरकारमा सहभागी भएन । त्यसको दुईसाता पछि मात्रै बादल र मातृका यादवलाई सरकारमा पठाइयो ।

जबजको विवादबाट एमाले पछि हटेपछि पुनः एकताको छलफल अघि बढ्यो । र, बैशाख ९ गते पार्टी एकता गर्ने मिति समय तय भयो । तर, सोही दिन ब्यानर विवाद चर्कियो । माओवादी नेताहरुको दाबी के छ भने त्यस्तो ब्यानर बनाउन केपी ओलीले नै निर्देशन दिएका थिए ।

प्रचण्डले महाधिवशेनपछि पार्टी अध्यक्षको ग्यारेन्टी खोजेकाले पार्टी एकता हुन नसकेको भन्दै एमाले नेताहरुले भ्रामक प्रचार गरिरहेको एक माओवादी नेताले बताए । ती नेताले अनलाइनखबरसँग भने- ‘प्रचण्डले महाधिवशेनपछि अध्यक्षको ग्यारेन्टी अहिले नै माग्ने कुरै आउँदैन, त्यो त माओवादी अध्यक्ष प्रचण्डलाई राम्रोसित थाहा छ । तर, दोष प्रचण्डलाई देखाएर केपी ओली नै पार्टी एकतालाई टार्न एकपछि अर्को प्रयास गरिरहेका छन्, पछिल्लो ट्वीटर काण्ड यसैको प्रमाण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment