Comments Add Comment

चिसंखुगढी गाउँपालिकाले जारी गर्‍यो शिक्षा ऐन

२७ वैशाख, ओखलढुंगा । चिसंखुगढी गाउँपालिकाले शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसंखुगढी शिक्षा ऐन २०७५ पारित गरेपछि ऐन जारी गरेको हो ।

संविधानको मर्म प्रतिकुल नहुने गरी ऐन जारी गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

ओखलढुंगामा शिक्षा ऐन जारी गर्ने ८ स्थानीय तहमध्ये चिसंखुगढी पहिलो स्थानीय तह हो । अन्य गाउँपालिका तथा नगरपालिकाले ऐन जारी गरेका छैनन् ।

ऐनले आधारभूत तहसम्म अंग्रेजी माध्यम अनिवार्य गरेको छ । ऐनमा शिक्षकहरुको आन्तरिक पदस्थापन, दरबन्दी मिलान लगायतका विषयलाई प्रथामिकतामा राखेको गाउँपालिकाका कार्यकारी अधिकृत सुवास पौडेलले बताए ।

चालु शैक्षिक सत्रमा कक्षा १ सम्म अंग्रेजी माध्यममा संचालन गर्ने विषयमा समिति बनाएर अध्ययन भइरहेको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिकामा हाल कक्षा ३ सम्म संचालन भएका समेत गरी ४६ वटा सामुदायिक विद्यालय रहेका छन् । केही विद्यालय अभावका कारण मर्ज हुने क्रममा रहेका छन् ।

तर, ऐन कार्यन्वयन गराउन भने गाउँपालिकामा शिक्षा शाखामा कर्मचारी अभाव छ । कर्मचारी नभएपछि रचनात्मक शैक्षिक सुधारका काम गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष शर्माले बताए ।

जिल्लास्थित कर्मचारी समायोजन समितिले व्यवस्थापन गर्न नसक्दा गाउँपालिकामा शिक्षा शाखामा प्रमुख कर्मचारी नै खटिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment