माया पनि उड्नसक्छ
चङ्गा जस्तै माथि-माथि
मन बहलाउने सर सर बतासमा
आफ्नो जस्तै मायाका
धेरै धेरै चङ्गाहरू
उडिरहन्छन् यता त्यता माथि माथि
त्यतिखेर अँध्यारो मुख लगाएर
आकाश रोएको हुँदैन
घमाइलो घाममा
सफा खुल्ला आकाशमा
रङ्गी विरङ्गी मायाका चङ्गाहरू
उडिरहन्छन् मनमस्त भएर
नजिकै नजिकै हुन्छ
जब मन पर्न थाल्छ
धागोले धागोको हात समातेर
रमाइरहन्छन् चङ्गाजस्ता
युगल युगल मुटुहरु
जबसम्म दुवैलाई मनपर्छ
जब मन बिग्रन थाल्छ
घमण्ड चढ्न थाल्छ
मै ठीक तँ बेठीक भन्न थाल्छ
अनि त
थाहै नदिएर लगाउँछ माझा
तीखो धारिलो
रिस थाम्न नसकेको दिन
काट्न खोज्छ अर्को धागोलाई
सकेभने आफूले काटिदिन्छ
नसके आफै काटिएर “चेट” हुन्छ
अनि झर्न थाल्छ मायाको चङ्गा
सहाराविहीन भएर तल तल
त्यतिखेर रमाउछन् त
केवल रमितेहरू
“चेट” भनि कराउछन् र दगुर्छन्
त्यो दु:खेको चङ्गा जस्तो मुटुतिर
जुन घायल हुन्छ फेरि उड्नै नसक्ने गरि
त्यतिखेर पनि आकाश रोएको हुदैन
रोएको हुन्छ त केवल घायल चङ्गा
अँध्यारो मुख लगाएर
– राकेश कार्की (लस एन्जेलस)