Comments Add Comment

बार्सिलोना छाड्दा रोकिएन इनिस्टाको आँसु

जाभीले लेखे भावुक पत्र

७ जेठ, काठमाडौं । स्टार खेलाडी आन्द्रेस इनिस्टाले बार्सिलोनाबाट आइतबार राति आˆनो अन्तिम खेल खेले ।

बार्सिलोनाको सिनियर टिममा १६ वर्षमै प्रवेश गरेका उनले २२ वटा महत्वपूर्ण उपाधि जिते । त्यो भन्दा धेरै फुटबल समर्थक र खेलाडीको मन जिते ।

फुटबललाई माया गर्ने विश्वभरका समर्थकले बार्सिलोनाको अन्तिम खेलमा ३४ वर्षका इनिस्टाको रसाएका आँखा हेरेर भावुक भए । आइतबार राति रियल सोसिडाडसँगको खेलको ८२ औं मिनेटमा उनले मैदान छाडेका थिए । स्टेडियममा उपस्थित दर्शक र मैदानमा रहेका खेलाडीले इनिस्टालाई सम्मान गरे ।

‘यो निकै कठिन दिन हो । मैले बार्सिलोनामा आफ्नो उत्कृष्ट २२ वर्ष बिताएको छु । यहाँ रहनु र टिमको नेतृत्व गर्नु मेरा लागि निकै खुशी र गर्वको कुरा हो । मेरा लागि विश्वकै उत्कृष्ट अवसर बार्सिलोना हो’ उनले भावुक हुँदै भने, ‘मेरा सबै खेलाडी साथीहरुलाई धन्यवाद । सबैजनालाई धेरै सम्झने छु । समर्थकहरुलाई पनि धेरै धन्यवाद ।’

राति अबेरसम्म मैदानमै थिए इनिस्टा

रियल सोसिडाडसँग १-० ले जितेको खेल सकिनासाथ रंगशाला अँध्यारो भयो । त्यसपछि इनिस्टाको सम्मानमा रंगशाला यसरी उज्यालियो कि त्यसले सबैलाई भावनात्मक बनायो ।

बार्सिलोनाका सबै खेलाडीले इनिस्टाकै जर्सी लगाएर गार्ड अफ अनर दिए । त्यसपछि इनिस्टाले ला लिगा अनि कोपा डेल रेको उपाधि उचाले ।इनिस्टाले ला लिगामा बार्सिलोनाबाट खेल्दा लगाएका सबै ८ नम्बर जर्सी ल्याएर समर्थकमाझ बाँडिदिए । इनिस्टाको जर्सी उपहारमा पाएका समर्थक खुशी हुँदै बाहिरिए । आफ्नो अन्तिम सम्झनामा इनिस्टाका आँखा रसाइरहेका थिए ।

बार्सिलोनामा रहेका आफ्नो पुराना दिनलाई बिर्सन इनिस्टालाई सहज भएन । खेल सकिएपछि साथीहरुले हावामा उचालेर दिएको सम्मान र स्टेडियममा रहेका दर्शकले ‘इनिस्टा … इनिस्टा’ भन्दै कराएको आवाज उनको कानमा गुञ्जिरहेको थियो ।

यसैले खेलपछि उनको बिदाइको कार्यक्रम सकिएर सबैले मैदान छाडिसक्दा पनि उनी मैदानको बीच भागमा एक्लै बसिरहेका थिए ।

भेट्रान इनिस्टा

इनिस्टा सन् १९९६ मा १२ वर्षको उमेरमा बार्सिलोना गएका थिए । जुनियर टिम र बार्सिलोना बी टिम हुँदै उनी सन् २००२ मा बार्सिलोनाको सिनियर टिममा पुगे । सिनियर टिमबाट उनले ६७४ खेल खेले ।

उनी बार्सिलोनामा रहँदा ९ पटक ला लिगा, ४ च्याम्पियन्स लिग, ३ क्लब विश्वकप र ६ कोपा डेल रे उपाधि जिते ।

उनी बार्सिलोनाको बिदाइपछि चाइनिज सुपर लिगमा आबद्ध हुने खबर आइरहेको भए पनि के गर्छन् भन्ने यकीन छैन । अहिले उनी आउँदो विश्वकपको तयारीमा छन् ।

स्पेनको राष्ट्रिय टिमबाट १२९ खेल खेलेका उनले सन् २०१० को विश्वकपमा गरेको विजयी गोल सबैको सम्झनामा ताजा छ । साथै सन् २००८ र २०१२ को युरो कप जित्दा पनि इनिस्टा टिमको महत्वपूर्ण सदस्य थिए ।

जाभीको भावुक पत्र

बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले इनिस्टालाई निकै भावुक भएर पत्र लेखेका छन् । ‘इनिस्टा स्पेनको इतिहासकै उत्कृष्ट खेलाडी हुन्’ जाभीले आफ्नो पत्रमा भनेका छन् ।

बार्सिलोनामा मात्रै होइन स्पेन टिमबाट खेल्दा पनि मैदानमा इनिस्टाको सबैभन्दा नजिक हुन्थे मिडफिल्डर जाभी । उनीहरुले १० वर्षभन्दा बढी समय मैदानमा एकअर्कालाई बुझेका छन् ।

यसैले जाभीले इनिस्टाबारे भनेका छन्, ‘मैले स्पेनको इतिहासमै इनिस्टा जस्तो उत्कृष्ट खेलाडी देखेको छैन । इनिस्टा निकै प्रतिभावान छ । उसको बारेमा कुरा गर्दा कहाँबाट सुरु गर्ने मलाई थाहा हुँदैन । ऊ हरेक कुरामा राम्रो छ ।’

‘उनी मैदानमा जहिले बलमा लागि संघर्ष गर्छन् । उत्कृष्ट तालमेल मिलाउँछन् । जहिले बल अफूसँग मिलाएर खेल्छन् । उनको शान्त स्वभाव र नेतृत्वदायी भूमिका पनि उत्कृष्ट छ ।’

जाभीले १० वर्ष आफूहरुसँगै रहँदा मैदानमा कहिले पनि नबोलेको बताउँछन् । ‘हामीलाई बोल्नुपर्ने त्यस्तो आवश्यकता नै थिएन । एकअर्कालाई हेरेकै भरमा हामी कुरा बुझ्थ्यौं ।’

इनिस्टालाई पहिलोपटक जुनियर टिममा देख्दा नै आफूहरु प्रभावित भएको जाभीले लेखेका छन् । मिडफिल्डमा रहेर इनिस्टाको बल छल्लाउने कला र सबैतिर उस्तै खेल देखाउन सक्ने क्षमताले आकर्षित गरेको उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment