Comments Add Comment

‘दीपेन्द्र सरकार’देखि ‘न्यू इयर’सम्म, तामझामसाथ घोषणा भएर पनि बनेनन् यी फिल्म


नेपाली चलचित्रको व्यापार डामाडोल भए पनि निर्माणको क्रम भने निरन्तर बढिरहेको छ । अहिले प्रत्यक हप्ता एक-दुई चलचित्र रिलिज भइरहेका छन् ।

यसैगरी नयाँ चलचित्र घोषणा गर्ने पनि उत्तिकै छन् । तर, घोषणा भएका प्रत्येक चलचित्र निर्माण हुन्छन् नै भन्ने चाहिँ छैन । विगतदेखि हेर्दा तामझामसाथ घोषणा गरिएका थुप्रै यस्ता चलचित्र छन्, जो निर्माण नभई यत्तिकै थन्किए । यस्ता चलचित्रहरुको चर्चा यहाँ गरिएको छ ।
निर्माता सन्तोष सेनले नायक प्रदिप खड्कालाई मुख्य भूमिकामा राखेर पूर्व यूवराज दिपेन्द्र शाहको प्रेम कथामा चलचित्र बनाउने घोषणा गरे । चलचित्रको नाम राखिएको थियो, ‘दिपेन्द्र सरकार’ ।

चलचित्रको कार्यक्रम पाँच तारे होटल अन्नपूर्णमा राखिएको थियो । जहाँ नायक खड्का दिपेन्द्रकै स्टाइलको पोशाकमा पत्रकार सम्मेलनमा उपस्थित भए । यो चलचित्र गत वर्षको जेठ १५ मै रिलिज गर्ने बताइएको थियो । तर, अब यो चलचित्र बन्छ या बन्दैन अन्यौल छ । किनकी, प्रदिपले अन्य ब्यानरका चलचित्रमा काम गर्न थालिसकेका छन् भने सन्तोष पनि अर्कै चलचित्रको निर्माणमा लागेका छन् । प्राविधिक कठिनाइले यो चलचित्र निर्माण हुन नसकेको बताइन्छ ।

चलचित्र ‘न्यू इयर’को घोषणा काठमाडौको एभरेष्ट होटलमा भयाे । अष्ट्रेलियामा सबै छायांकन गर्ने गरी घोषणा गरेको यो चलचित्रमा अनुपविक्रम शाही र वेनिशा हमाललाई मुख्य भूमिकामा लिइएको थियो । निर्देशकको रुपमा प्रविण श्रेष्ठलाई चयन गरिएको थियो । तर, अब यो चलचित्र नबन्ने पक्का जस्तै छ । बरु, ‘ह्याप्पी न्यू इयर’ नाम राखेर कुशल थापाले अष्ट्रेलियामा नै चलचित्र छायांकन गरेर रिलिज गरिसकेका छन् ।

निर्देशक बसन्त निरौलाले चलचित्र ‘टाइम’ को शुभसाइत एउटा मन्दिरमा पुगेर गरेका थिए । यो चलचित्र निर्माण गर्ने भनेर घोषणा भएको पनि बर्षौ भैसक्यो । तर, यसपछि उनले अन्य केही चलचित्र निर्माण गरिसकेका छन् तर ‘टाइम’ बनेन ।

निर्देशक समिर बलामीले चलचित्र ‘रुट नम्बर २३’ घोषणा गरेको पनि केही बर्ष भैसक्यो । अहिले उनी निर्देशन छाडेर चलचित्र पत्रकारितामा लागेका छन् । यो चलचित्रको घोषणा कार्यक्रम निकै तामझामका साथ गरिएको थियो । सौगात मल्ल र नम्रता श्रेष्ठले मुख्य भूमिकामा काम गर्ने भनेर मिडियामा चर्चा पनि गरिएको थियो । तर, यी दुबै कलाकारले चलचित्र खेलेनन् । अब, यो चलचित्र बन्ने या नबन्ने पक्का छैन ।

निर्देशक शोभित बस्नेतले काठमाडौको एभरेष्ट होटलमा बलिउड चलचित्र बनाउने घोषणा गरे । उनले, निर्माता समेत साउथ इन्डियाबाट नै मगाए । तर, यो चलचित्र घोषणा भएको केही बर्ष भयो । चलचित्र नबन्ने पक्का छ ।

चलचित्र ‘मुखौटा’ असफल भएलगतै यसका निर्माताले ‘मुखौटा २’ बनाउने घोषणा गर्दै विज्ञप्ती नै निकाले । असफल चलचित्रको सिक्वेल कसरी बन्छ भन्दै सो समयमा टिप्पणी पनि भयो । तर, अब यो चलचित्र नबन्ने पक्का छ । निर्माताले चलचित्र असफलताको पीडा सिक्वेल घोषणा गरेर निभाउन खोजेको देखिएको छ ।

नायिका रेखा थापाले चलचित्र ‘कसले चोर्‍यो मेरो मन २’ बनाउने भनेर मिडियामा समाचार आएको थियो । उनले, सविर श्रेष्ठलाई निर्देशक लिएर यो चलचित्र बनाउने बताए पनि अब यो चलचित्र बन्ने-नबन्ने एकिन छैन । किनकी, रेखा अहिले स्टारडम धरापमा परेर अत्तालिएकी छिन् । उनी यतिबेला ‘मालिका’ नामक चलचित्र बनाउनतर्फ लागेकी छिन् ।

निर्देशक साजन श्रेष्ठले प्रेमकथामा आधारित रहेर चलचित्र ‘इन्डलेस लभ’ बनाउने घोषणा गरे । चलचित्रको एक भ्यालेन्टाइन गीत युटुबमा पनि सार्वजनिक गरियो । तर, यो गीत सार्वजनिक भएकै १ बर्षभन्दा बढी भैसकेको छ । चलचित्र बन्ने अत्तोपत्तो छैन । यो चलचित्र पनि घोषणा गरेर नबनी ओइलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment