Comments Add Comment

प्रदेश ५ को संसद अवरोध खुलाउन मुख्यमन्त्रीले थाले कांग्रेससँग छलफल

५ असार, बुटवल । प्रदेश ५ सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रदेश सभा बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मुख्यमन्त्री शंकर पोखरेलबीच छलफल शुरु भएको छ ।

प्रदेश सभा बैठक सुचारु गर्ने र विपक्षीका माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा सहमति जुटाउने उद्देश्यले मुख्यमन्त्री पोखरेलकै पहलमा छलफल भएको हो ।

बुटवल मिलनचोक सडक डिभिजन परिसरमा रहेको मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार बिहान प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलसहितका केही सांसदसँग छलफल गरिएको हो । मुख्यमन्त्री पोखरेलले कांग्रेसका नेताहरुलाई बिहान ८ बजेको समय दिएर छलफलका लागि आफ्नै निवासमा बोलाएका थिए । तर झण्डै एक घण्टा ढिलो मात्रै मुख्यमन्त्रीसँग छलफल शुरु भएको थियो ।

मुख्यमन्त्रीसँगको छलफलअघि कांग्रेस सांसदहरुबीच अनौपचारिक छलफल भएको थियो । छलफलमा आफूहरुले उठाएका विषयको चित्तबुझ्दो गरी सम्वोधन नभएसम्म प्रदेश सभा बैठक चल्न नदिनेमा विषयमा सहमति भएको संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले बताए । ‘हाम्रा माग सम्बोधन नभएसम्म संसद चल्न नदिने भन्नेमा साथीहरुले जोड दिनुभएको छ,’ नेता पोखरेलले अनलाइनखबरसँग भने, ‘मुख्यमन्त्री ज्यूसँग एक डेढ घण्टा छलफल चलेपछि संसद सुरु हुने/नहुने थाहा हुन्छ ।’

मुख्यमन्त्रीसँगको छलफलमा कांग्रेस संसदीय दलका नेता पोखरेल, सचेतक निर्मला क्षेत्री, सदस्यहरु रमा अर्याल, अष्टभुजा पाठक लगायत सहभागी छन् ।

मुख्यमन्त्री आफैंले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७५।०७६ को बजेटमा प्रदेशका स्थायी संरचना निर्माण र अन्य महत्वपूर्ण विकास निर्माणमा बजेट विनियोजन नभएको भन्दै कांग्रेस सांसदहरुले सोमबारको प्रदेश सभाको बैठक अवरुद्ध गरेका थिए । कांग्रेसको विरोधपछि प्रदेश सभा बैठक मंगलबार एक बजेसम्मका लागि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment