Comments Add Comment

मदन भण्डारीको स्मरणमा फलफूलको बगैंचा निर्माण

१४ असार, चितवन । जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन चितवनले बिहीबार फलफूलको बगैंचा निर्माण गरेको छ । चितवनको कालिका नगरपालिका २ स्थित थाङ्गखोला सामुदायिक वनमा फाउण्डेसनले बगैंचा बनाएको हो ।

फाउण्डेसन चितवन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा सामुदायिक वनमा आयोजित फलफूल वृक्षारोपण कार्यक्रममा दुई सय सुन कागती र २० वटा एबोकाडोको विरुवा रोपिएको छ । करिब दुई विगाहा क्षेत्रफलमा ती विरुवा रोपिएको फाउण्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिए । फाउण्डेसनले क्रमशः पाँच विगाहा क्षेत्रफलमा फलफूलका विरुवा रोप्ने उनले बताए ।

सामुदायिक वनको जग्गामा रोपिएका ती विरुवाको गोडमेल, मल, आवश्यक औषधोउपचार र संरक्षण जस्ता कार्य फाउण्डेसन र उपभोक्ता समूहले संयुक्त रुपमा गर्नेछन् । बगैंचाबाट आउने प्रतिफल भने सामुदायिक वनको नै हुने गरी बगैंचा बनाइएको अध्यक्ष भट्टराईले बताए ।

सो बगैंचाको डिजाइन र आवश्यक प्राविधिक तयारी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्राध्यापक विशाल श्रेष्ठ र सरोज सापकोटाको नेतृत्वमा प्राविधिक सचेत सुवेदी र सरस मरासिनीले गरेका हुन् ।

सो अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले प्रदेश सरकारले सामुदायिक वनहरुलाई उत्पादनसँग जोडेर फलफूल र जडिबुटी खेती गर्न प्रोत्साहन गर्ने नीति लिएको बताए ।

जननेता मदन भण्डारीको जन्म २००९ साल आषाढ १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment