Comments Add Comment

बिर्तामोडमा दुई दिनदेखि बाह्र सय टेलिफोन अवरुद्ध

१६ असार, बनियानी, झापा ।  झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनियर सुधिरकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार तीन ठाउँमा प्राइमरी केवल चुँडिदा एक हजार २०० सय लाण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको हो । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ’, उनले भनेयो, “मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौँ ।”

टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताए ।

यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुँडिएको बताउनुभयो । ‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उनले भने, “टेलिकमसँग सहकार्य गरेर चुँडिएको तार मर्मत गरिनेछ ।”

यसअघि पनि बिर्तामोड– ५ को बजार क्षेत्रको फुटपाथ खाली गर्ने क्रममा नगरपालिकाले सरोकारावाला कसैलाई खबर गरेको थिएन । जसका कारण खानेपानीको पाइपलाइन ठाउँ–ठाउँमा फुटे पनि लामो समयसम्म मर्मत भएन ।

हाल यहाँको सडकको दुबै किनारबाटै ढल बगिरहेको छ, भने फुटपाथ हिलाम्मे भएको छ । भत्काइएको फुटपाथ र ढल निर्माण भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment