Comments Add Comment

सुधार नभए कालिमाटी बजार हटाउने मन्त्री खनालको चेतावनी

१९ असार, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन् ।

आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिइएको छ, त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाइन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कालिमाटी फलफूल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढी लिएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए ।

‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाइकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिएको भेटियो । दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो,’ मन्त्री खनालले भने, ‘यो हदैसम्मको लापरबाही हो । समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु ।’

कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरुसमेत राखिएको उनको गुनासो छ ।

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्‍याउने वातावरण बनाउने पनि विश्वास दिलाए । उनले भने, ‘अहिले त धेरै लेयरहरु देखिएका छन्, ती सबै तोड्न जरुरी छ, ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु ।’

खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भने, ‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परीक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुैन मात्रामा सोडा पाइएको छ, तर धेरैजस्तो दुधमा दुध नफाटोस भनेरमात्रै सोडा प्रयोग गरेको पाइयो, अब त्यसो पनि गर्नभएन, उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमासमेत कोलिफार्म भेटिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment