Comments Add Comment

१४ जिल्लाका १२ सय हेक्टरमा चियाखेती, सबैभन्दा धेरै झापामा

२९ असार, काठमाडौं । नेपालका विभिन्न जिल्लामा गरी १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती हुने गरेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणअनुसार १४ जिल्लाको १ हजार २ सय ६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक चिया खेती गरिएको छ ।

९ हजार २ सय ३६ किसानमध्ये ९ हजार १ सय २७ ले व्यक्तिगत रुपमा र १ सय ८ जनाले संस्थागत रुपमा चिया खेती गर्ने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । सबै भन्दा बढी झापामा ७ हजार १ सय ९५ दशमलब १५ हेक्टरमा र सबै भन्दा कम मोरङमा २५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।

शुक्रबार सर्वेक्षण नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले सबैभन्दा धेरै झापामा ८ करोड २५ लाख १७ हजार मेट्रिक टन र सबै भन्दा कम भोजपुरमा १ दशमलब ८ मेट्रिक टन गरी जम्मा १० करोड ८० हजार मेट्रिक टन हरियो चिया उत्पादन हुने गरेको पाइएको बताए । हरियो पत्ति बिक्रीबाट किसानहरुले वर्षमा १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ प्राप्त गर्ने गरेको पाइएको छ ।

११ हजार ४१ वटा चिया बगानमध्ये इलाममा सबै भन्दा धेरै ६ हजार ९ सय ९५ र सिन्धुपाल्चोकमा सबैभन्दा कम ८ वटा चिया बगान रहेको सर्वेक्षणले देखाएको छ । परम्परागत रुपमा चिया खेती गर्ने किसानहरुको संख्या अझै ठूलो रहेको छ ।

जम्मा ११ प्रतिशत कृषकले मात्रै अर्गानिक चिया खेती गर्ने गरेको पाइएको छ । ५९ प्रतिशतले परम्परागत रुपमा चिया उत्पादन गर्ने गरेका छन् । सर्वेक्षणबाट यस व्यवसायमा संलग्न संचालक/परिवारको सदस्यहरु १८ हजार १ सय ८० जना देखिन्छन् ।

व्यवसायिक चिया खेतीमा ३ हजार २ सय ४४ जना स्थायी र ३० लाख ९५ हजार २ सय ८४ जना अस्थायी कामदार संलग्न रहेको पाइएको छ । सर्वेक्षणले चिया खेती गर्ने व्यवसायीहरुमध्ये ८५ दशमलब ५ प्रतिशतमा प्रमुख सञ्चालक पुरुष र १४ दशमलब ५ प्रतिशतमा प्रमुख सञ्चालक महिला रहेको देखाएको छ ।

सर्वेक्षणले जम्मा ४ दशमलब ५ प्रतिशतले चिया खेती व्यवयास दर्ता गरेको, ५ प्रतिशतले खेतीका लागि ऋण लिएको देखाएको छ । चिया खेतीलाई कृषि अन्तर्गत नराखिएको र ऋणको सुविधा पनि प्राप्त नभएकाले त्यसतर्फ व्यवसायीहरु आषिर्त हुन नसकेको निष्कर्ष विभागले निकालेको छ ।

त्यसैगरी व्यवसायिक चिया खेती गर्ने किसानमध्ये ५३ दशमलब ५ प्रतिशतको मुख्य आयको स्रोत नै चिया खेती रहेको पाइएको छ । ९५ प्रतिशत व्यवसायीले आफ्नै जग्गामा चिया खेती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment