Comments Add Comment

गण्डकी प्रदेशका ११ पौरखी किसान पुरस्कृत

६ साउन, पोखरा । व्यवसायिक रुपमा कृषि पेसा अंगाल्दै आएका उद्यमीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश प्रमुख उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो ।

प्रदेश प्रमुख बाबुराम कुँवरले सर्वोत्कृष्ट १ सहित १० किसानलाई नगदसहित सम्मान गरे । ५० हजार रुपैयाँसहितको सर्वोत्कृष्ट पुरस्कार हेम्जा गाई फार्मका घनश्याम तिमिल्सिनाले प्राप्त गरे ।

१ सय १० वटा दुधालु गाई भैंसी पालेका उनले अर्गानिक तरकारी उत्पादनका लागि २५ टनेलमा खेती गर्दै आएका छन् । दूध र तरकारी गरी उनले वाषिर्क ५० देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

यसैगरी २ दसकदेखि स्याङ्जामा व्यावसायिक कफी खेती गर्दै आएक वोधराज अर्यालले उत्कृष्ट कृषकको पुरस्कार पाए । अर्गानिक कफी जापान निर्यात गर्दै आएका उनले कफी, सुन्तला र अन्य खेतीबाट वाषिर्क २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनीसहित उत्कृष्ट कृषक ९ जनालाई मन्त्रालयले जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा नवलपुर हुप्सेकोटका यामबहादुर रजाली मगर, म्याग्दीका भेडापालक किसान मनबहादुर पुर्जा, पोखराका पोल्ट्री व्यवसायी तेजबहादुर भट्टराई, कास्कीका क्षेत्रद्विप रेन्बो ट्राउट कास्कीका इन्द्र गौचन, नवलपुरका सुवेदी नमुना पशु विकास फार्मका दधिराम सुवेदी, तनहुँ म्याग्देका सुन्तला किसान सुकनारायण श्रेष्ठ छन् ।

रजाली मगरले तरकारीबाटै बर्सेनि १५ लाख भन्दा बढी कमाउँछन् । म्याग्दीका पुर्जाले भेडा पालेर बार्षिक १२ लाख आम्दानी गर्छन् । पोखरामा लामो समयदेखि पोल्ट्री व्यवसायमा संलग्न भट्टराईले वाषिर्क १ करोड भन्दा बढी कमाइ गर्दै आएको उक्त अवसरमा जानकारी गराइयो । गौचनले वाषिर्क ३५ लाख, सुवेदीले मासिक ८ लाख र श्रेष्ठले वाषिर्क ३७ लाख रुपैयाँ कमाउने गरेका छन् ।

२ सय ६५ भैंसी पालेर वार्षिक ५० देखि ५५ लाख कमाउँदै आएका जानकारी एग्रो फार्म कास्कीका दीपक तिमिल्सिना पुरस्कृत भए । कास्कीको लेखनाथमा स्थानीय जातका कुखुराको अनुसन्धान र संरक्षणमा क्रियाशील लेखनाथ हृयाचरीका राजेन्द्र अधिकारीलाई प्रदेश प्रमुख कुँवरले नगदसहित सम्मान गरे ।

कृषिलाई उपेक्षा नगरौं : प्रदेश प्रमुख कुँवर

प्रदेश प्रमुख बाबुराम कुँवरले बोली र भाषणमा कृषि प्राथमिकतामा परे पनि सो अनुसार काम नभएको भन्दै दुख व्यक्त गरे । प्रदेशका उत्कृष्ट किसानलाई सम्मान गर्दै उनले विभिन्न आँकडा र लेखनामा कृषिमा व्यावसायीकरण भनिने गरे पनि व्यवहारमा लागु हुन नसकेको भनाइ राखे ।

किसानलाई सम्मान गर : पुरस्कृत कृषक

प्रदेश प्रमुख उत्कृष्ट कृषक पुरस्कार पाउने किसानहरुले आफ्नो कर्ममार्फत देश विकासमा योगदान पुर्‍याउने किसानलाई सरकार र नागरिकस्तरबाट सम्मान हुनुपर्ने बताएका छन् । उनीहरुले भने, ‘व्यवसायिक किसान मैलो कपडा लगाएको, सुविधा भोगी हुनुहुँदैन भन्ने भनाइ अब चिर्नुपर्छ । यो पेसालाई सबैतिरबाट सम्मानित बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment