Comments Add Comment

‘प्रचण्डकी नातिनी’ भर्सेस स्मिता दाहाल

‘प्रचन्डको नातिनी’ भन्दा कस्तो लाग्छ ?

प्रश्न सुनेर उनी फिस्स हाँसिन् । अघिल्तिर झुकेको कपाललाई पन्छाइन् । कालो जिन्स र कलेजी रंगको क्वाटर स्लिभ टिसर्टमा ठाँटिएकी । पार्शियल हाइलाइट कपाल । ठिक्कको मेकअप ।

स्मिता दाहाल ठूली भैसकेछिन् ।

कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहको प्रेक्ष्यलयमा उक्लदा उनी जम्माजम्मी ११ बर्षकी फुच्ची थिइन् ।

त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत-साधनामा छिन् । यसबीचमा पाँच दर्जन गीत रेकर्ड गराइसकिन् । तर, आजको दिनसम्म उनलाई चिनाउन त्यही विशेषण झुन्ड्याइन्छ, ‘फलानोको नातिनी’ ।

हामीले पनि उनलाई यही जिज्ञासा राखेका थियौं

स्मिताले उही शालिन मुस्कानका साथ भनेकी थिइन्, ‘हजुरबासँग जोडिएर आउँदा अबियस्ली प्राउड फिल हुन्छ ।’ दोस्रो पंक्तिमा उनले यो वाक्य पनि जोडिन्, ‘तर, म आफ्नै नाममा चिनिन चाहन्छु ।’

स्मिताको पारिवारिक चिनारी यस्तो छ । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी । उमेर २० बर्ष । पढाई विविए, केएमसी कलेज ग्वार्कोबाट । रुची, गाउने र नाच्ने ।

उनको व्यवसायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाएकी छिन् । त्यो पनि दर्जनौं । एकल संगीतिक प्रस्तुत दिइसकेकी छिन् । तीन वटा एल्बम सार्वजनिक भइसकेको छ, स्मिता, स्मिता-२ र रागिनी । शास्त्रिय संगीत सिकिरहेकी छिन् ।

सुनाइहालौं, स्मिताको स्वरवद्ध गीतको भिडियो ‘पानी कुवा’को यतिबेला युट्युवको ट्रेन्डिङमा छ । भिडियोमा कार्टुन्ज क्रु, पि्रयंका कार्कीलाई फिचरिङ गराइएको छ । गीतमा स्मितालाई साथ दिएका छन्, सरोज ओलीले । दिनेश थपलियाले लेखेको, वसन्त सापकोटाले संगीत दिएको यो डान्सिङ नम्बरले स्मितालाई बढी चर्चामा ल्याएको छ । सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिएको छ ।

नातिनीले गाएको गीतमा हजुरबाले (जसलाई स्मिता बाबा सम्बोधन गर्छिन्) कति चाख राख्दो हो ? हामीले सोध्यौं ।

‘उहाँलाई गीत मनपर्छ, चासो राख्नुहुन्छ’ स्मिताले सुनाइन्, ‘अघि भर्खर पनि मोबाइलमा हेर्दै हुनुहुन्थ्यो, कति भ्युज पुगेछ भनेर ।’

हजुरआमा भन्छिन्, ‘नक्कली नहुनु ।’

उमेरले लाउने, खाने बेला । किशोरवयको उत्तरार्द्धमा पुगेकी उनलाई रमझम मनपर्छ । घुम्न, पिज्जा खान, गीत सुन्न पाउँदा उनको मन फुरुंग हुन्छ ।

हामीले सोध्यौं, ‘फेसनप्रति कति रुची छ ?’

‘नर्मल’ स्मिताले भनिन्, ‘ठिकठिकै, त्यती धेरै पनि होइन, कम पनि ।’

मेकअप गर्न कति जाँगर चल्छ ?

स्मिता, ‘चाहिने जति त गर्नैपर्‍यो नि ।’

गरगहनामा सजिन कति रहर लाग्छ ?

‘अँह’ माझी औंलामा लगाएकी सानो औंठी देखाउँदै भनिन्, ‘यी एउटा रिङ मात्र लगाएकी छु ।’

ड्रेसअप गर्न, मेकअप गर्न कति समय लाग्छ ?

स्मिता, ‘लाग्छ होला, त्यस्तै आधा घण्टा ।’

स्मिता फेसन कन्सस छिन् । अफुलाई सुहाउँदो पहिरनमा ठाँटिन्छिन् ।

तर हजुरआमा सीता दाहाललाई त्यती तडकभडक मन पर्दैन । परिवारका सबै सदस्यलाई ‘आउट अफ फ्रेम’ जान दिदैनन् । रमझम गर्नु परोस् वा फेसन, परिवारका ‘कन्ट्रोलर’ सीता दाहाल नै हुन् ।

‘हजुरआमालाई नक्कली भएको मन पर्दैन’ स्मिता भन्छिन्, ‘तडकभडक रुचाउनु हुन्न ।’ हजुरआमाको यस्तो प्रवृत्तिलाई उनले निको मानेकी छिन् । ‘कोही त घरमा कन्ट्रोल गर्ने, व्यालेन्स गर्ने पनि त चाहियो’ स्मितालाई यस्तै लाग्छ ।

हजुरबा रसिक

स्मिताको गीत कस्तो छ, युट्युबमा कति हेरियो ? हजुरबा पुष्पकमल दाहाललाई चासो लाग्छ । उनी बेलाबखत आफ्नो मोवाइलमा नातिनीको भिडियो हेर्छन । गीत सुन्छिन् ।

‘उहाँ गीतमा इन्जोए गर्नुहुन्छ’ स्मिता भन्छिन्, ‘प्राय सुनिरहनुहुन्छ ।’

स्मिताको भनाईमा हजुरबा हरेक दिन केही समय गीत सुन्नुहुन्छ । मोवाइलबाट पुराना गीतहरु । खासगरी नारयाण गोपालको । खाना खाने समयमा ।

मुड चल्यो भने नातिनीको गीत सुन्छन् ।

स्मितालाई औंधी माया गर्ने भनेका हजुरबाले नै हो । ‘उहाँ केटाकेटीलाई साह्रै माया गर्नुहुन्छ, पुलपुल्याउनु हुन्छ’ स्मिता भन्छिन् । तर, हजुरबाको मुड सधै एकनास हुँदैन । कहिले केही समस्यामा भएजस्तो गम्भीर र, कहिले फुरुंग ।

‘टेन्सन भएको जस्तो लाग्यो भने त्यती बोलिदिन’ स्मिता भन्छिन्, ‘अरु बेला खाना खाने समयमा कुराकानी हुन्छ ।’

बेलाखबत पारिवारिक जमघट हुन्छ । त्यस्तो बेला घरमै पकाएर मिठो-मसिनो खाने गर्छन् । सबैलाई मनपर्ने, चिकेन मम । स्मिता भने पिज्जामा बढी रमाउँछिन् । यस्तो जमघटमा स्मितालाई फर्माइस आउँछ, गीत सुनाउन । उनी गाइदिन्छिन् ।

रणभूमीमा एउटा धुन

जतिवेला स्मिता जन्मिइन्, त्यसबेला माओवादी द्वन्द्व उत्कर्षमा थियो । वसाई दार्जिलिङमा । घरमा आमाबुवा के कुरा गर्नुहुन्छ, को-को भेट्न आउँछन्, के भन्छन्, किन आउँछन् ? स्मितालाई केही थाहा दिइएन । बुझ्ने उमेर भएको पनि थिएन ।

‘कहिले काही ममीहरुले बाबा, आमा भएको ठाउँमा लानुहुन्थ्यो’ स्मिता सम्झन्छन्, ‘त्यसबेला उहाँहरु इन्डियाकै कुनै घरमा भेटिन्थ्यो ।’ भेटमा प्रचण्डले नातिनीलाई काखमा लिन्थे र खेलाउथे । स्मितालाई त्यसबेला हेक्का थिएन, देश-दुनियाँले तिव्रताका साथ चासो राख्ने ‘प्रचण्ड’ उनै हुन् ।

उनलाई न माओवादी युद्ध थाहा थियो, न प्रचन्ड । उनलाई केवल आफ्ना हजुरबा थाहा थियो । हजुरआमा थाहा थियो । र, आफ्नै वालापन थाहा थियो ।

दार्जिलिङबाट आफुलाई कहिले काठमाडौं ल्याइयो भन्ने पनि उनलाई ठ्याक्कै याद छैन । तर, त्यसबेलासम्म उनमा गीतप्रति एक किसिमको लगाव थियो । गुनगुनाउँथिन् । गीत सुन्थिन् । ममी गंगा दाहालले उनलाई बढी उत्प्रेरणा दिइन् । स्मिताको पहिलो स्रोता पनि उनै गंगा । स्मिताको आवाज सुनेर यो राम्रो, त्यो नराम्रो भन्ने पनि उनै गंगा । स्मितालाई लाग्छ, आमाले जन्म मात्र दिदैनन्, सन्तानका रहर, इच्छा, आंकक्षामा आफ्नो खुसी खोज्छन् ।

स्मिता आफ्नै चिनारी

जरुर, ‘प्रचन्डकी नातिनी’ भन्दा गर्व लाग्छ उनलाई । तर, उनी आफ्नै ‘नेम र फेम’ बनाउन चाहन्छिन् । यस्तो नाम, जहाँ कुनै फुर्को जोड्न नपरोस् ।

कतिलाई लाग्दो हो, फलानोकी नातिनी भएकाले उनले गीत गाइन् । फलानोकी नातिनी भएकाले म्युजिक भिडियो बनाइन् । फलानोकी नातिनी भएकाले चर्चा पाइन् ।

यस्तो भनाईले स्मिताको भावनामा ठेस पुग्दैन ?

‘खासमा नि’ स्मिता भन्छिन्, ‘हजुरबासँग जोडिएर चिनिन पाउँदा गर्व हुन्छ नै । तर त्यसको साइड इफेक्ट के छ भने मेरो चिनारी हराएको छ ।’

‘फलानोका नातिनी’ भनिरहँदा उनले गरेको साधना, श्रम, लगाव र उनको खुवी, दक्षता त्यसै-त्यसै ओझेल पर्छ । स्मितालाई यही कुराको डर छ । जबकी आज उनी यस्तो ‘नेम र फेम’ खोजिरहेकी छिन्, जसमा अरु विशेषण झुन्डाउन नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment