Comments Add Comment

बक्स अफिस लागू भए पनि निर्माताले डाटा हेर्न पाएनन्

साउन १ गतेबाट काठमाडाै भित्रका २० वटा हलमा इ-टिकेटिङ सिस्टमैसँगै बक्स अफिस सर्भर कनेक्सन भयो । सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस लागू भएको औपचारिक घोषणा गरे ।

साउन ४ गतेबाट रिलिज भएका चलचित्रका निर्माताले आफ्नै मोबाइलमा बक्स अफिसको माध्यमबाट चलचित्रको दैनिक व्यापार हेर्न पाउने आश गरेका थिए । तर, शुक्रबारबाट रिलिज भएका चलचित्र ‘भैरे’, ‘चक्कर’ र ‘पण्डित बाजेको लौरी’ का निर्माताले सोमबारसम्म बक्स अफिस डाटा हेर्न पाएका छैनन् ।

बक्स अफिस डाटालाई हेरिरहेका मनिष पण्डित भन्छन्- ‘हामीले शुक्रबार, शनिबार र आइतबारको व्यापारको भ्यालिडिटी चेक गरिरहेका छौ । शुक्रबार र शनिबारको काम सकिएको छ भने, आइतबारको आज सक्छौ । हलमा मान्छे खटाएर हामीले अनुगमन पनि गरिरहेका छौ । हलको डाटा र सर्भरमा देखिएको डाटा एउटै छ कि छैन भनेर पहिला चेक गर्नुपर्छ ।’

उनले मंगलबारसम्म साउन ४ मा रिलिज भएका चलचित्रका निर्माताले बक्स अफिसको आइडी र पासवर्ड पाउने स्पष्ट पारे । उनले भने- ‘मल्टिप्लेक्समा खासै समस्या छैन । तर, एउटै शोमा हजारसम्म टिकट विक्री हुने सिंगल हलमा समस्या हुन्छ कि भन्ने लागेको थियो । शनिबार काठमाडौंको गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा समस्या आउन सक्छ भन्ने सोचेका थियौ । तर, यसमा हामी सफल भएका छौ ।’

उनका अनुसार निर्माताले बक्स अफिसको आइडी र पासवर्ड पाएपछि आफ्नो चलचित्रको व्यापारिक कारोबार चाहेकाे समयमा हेर्न सक्नेछन् । हलमा टिकट काट्दै गर्दा निर्माताले लाइभ हेर्न अझै केही समय लाग्ने उनको भनाई छ । इन्टरनेटको गतिमा यो कुरा भर पर्ने भएकाले यसका लागि नेपाल टेलिकमसँग कुरा भैरहेको पण्डितले बताए । ‘त्यो सिस्टम बन्छ, एक-दुइवटा कुरामा हामी हेर्छौ । मुख्य कुरा इन्टरनेट नै हो, एनटीसीसँग मिलेर, सस्तो मुल्यमा वर्कआउट गरिरहेका छौ ।’

डाटा चेक गर्ने र फ्रिक्वेन्सी बढाउने काममा लागेकाले पनि साउन ४ गते रिलिज भएका चलचित्रका निर्माताले बक्स अफिसबाट व्यापार हेर्न नपाएका हुन् । तर, मंगलबारबाट निर्माताले त्यो सुविधा पाउने पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment