Comments Add Comment

अभिनेत्रीको रोजाइमा किन पर्छन् विवाहित पुरुष ? 

हलिउडकी चर्चित बालकलाकार हुँदै अहिलेकी चर्चित अभिनेत्री केटी होम्सले आफू २७ बर्षकी हुँदा ४३ बर्षको टम क्रुजसँग विवाह गरेर क्रुजकी तेस्री श्रीमती बनेकी थिइन् । उसैगरी क्यालिस्टा यस्ती नायिका हुन् जसले एमी अवार्ड नै तीनपटक प्राप्त गर्न सफल भएकी थिइन्, उनै होनहार अभिनेत्री क्यालिस्टासमेत ह्यारिसनकी तेस्री श्रीमती बन्न पुगिन् ।

हलिउडमा मात्र होइन, संसारभरिका सफल अभिनेत्रीहरुको सर्वेक्षण गर्ने हो भने (केही अपवादवाहेक) यही नियति देख्न सकिन्छ । सफल अभिनेत्रीहरुको वैवाहिक जीवन नै प्रायः असफल भएका घटना छन् हाम्रा आँखा अघिल्तिर ।

हिन्दी सिनेमा ‘अर्थ’ हेरिसकेपछि म ७०/८० को दशककी सवाना आजमीको जबरजस्त फ्यान बनेँ र उनका सिनेमाहरु खोजी खोजी हेर्न थालेँ । एक से एक चेतनामुलक सिनेमा छन् उनका । सामाजिक चेतनामूलक र हिंसाविरुद्धका आवाजहरुको जीवन्त प्रस्तुति हुन्छ उनको अभिनयमा । स्वअतित्वको पनि उत्तिकै वकालत गर्छिन् उनी आफ्नो अभिनयमा ।

आफ्नो अस्तित्वका लागि आफू केहीको भन्ने प्रमाणका लागि आफूले अभिनय गरेको सिनेमामा जीवन्त प्रस्तुति दिन कहीँ चुकेकी छैनन् उनी । तर, उनको निजी जीन्दगीमा भने चुकिन् सवाना । जाबेद अख्तरको हाँसीखुशी परिवारलाई लथालिङ्ग पारिदिएर आफूले जाबेद अख्तरसँग विवाह गरिन् भन्ने आरोप छ उनीमाथि । उनी जाबेद अख्तरकी दोस्री श्रीमती बनिन् ।

आखिर के कारण थियो त्यति उचाइमा पुगेकी मान्छेले एक विवाहित पुरुषसँग विवाह गर्न ? कस्तो ‘कन्ट्रास्ट’ हो यो रिल र रियलमा ?

उनीमात्र होइनन् बलिउडमा यस्ता घटना धेरै छन् । हेमा मालिनी, श्रीदेवि, शिल्पा सेठ्ठी, रानी मुर्खर्जी र करिना कपुर आदि नायिकाहरु आफैंमा सफल भएर पनि उनीहरुले विवाहित पुरुषहरुसँग नै विवाह गरे । विद्या वालन पनि यही कोटीमा पर्छिन् सिद्धार्थ रोय कपुरकी दोस्री श्रीमती बनेर ।

हाम्रो नेपालमा पनि यस्तो नभएको होइन । मिथिला शर्मादेखि जल साह अनि गरिमा पन्तले पनि आफू सफल भैसकेपछि विवाहित पुरुषहरुसँग नै विवाह गरे ।

कारण के हो त ?

जसरी सफल नायकहरुसँग विवाह गर्न युवतीहरुबिच प्रतिस्प्रर्धा हुन्छ त्यस्तो युवतीको ममिलामा हुँदैन । किनभने युवतीहरु जब सफलताको सिँढीमा पुग्छन् त्यो बेला उमेर घर्किसकेको हुन्छ । पुरुषको उमेरले केही अर्थ राख्दैन । तर, युवतीको उमेरले धेरै अर्थ राख्दछ । प्राकृतिकरुपमै सायद त्यो पनि एउटा कारण हुन सक्छ ।

यदि सफल अभिनेत्रीहरुको उमेर धेरै बिति नसकेको भए पनि पुरुषहरु महिलाको सफलतालाई अंगाल्न सजिलै सक्दैनन् । अक्सर पुरुषहरु आफूभन्दा सफल युवती चाहँदैनन् । उनीहरुलाई आफूभन्दा हर कुरामा कमजोर स्टाटस भएकी श्रीमती चाहन्छन् ।

र, अर्को कुरा, अक्सर अभिनेत्रीहरु नै चाहँदैनन् कि आफूभन्दा तल्लो ‘स्टाटस’ भएको पुरुषसँग विवाह गर्न ।

अभिनेत्रीहरुको जीवनपद्दति सामान्य युवतीहरुको भन्दा अलि फरक हुन्छ । उनीहरुले निश्चित अवधिमा धेरै काम सक्नुपर्ने हुन्छ, यस कारण पनि त्यस्तो भएको हुनसक्छ ।

अभिनेत्रीहरुहरुलाई हर कुरामा आफुभन्दा सक्षम नै श्रीमान हुनुपर्छ, बरु दोस्री तेस्री श्रीमती नै हुन किन नपरोस् । आफैमा केही हो भन्ने जान्दाजान्दै पनि फेरि आफू ‘सेक्यूर’ हुन चाहन्छन् उनीहरु आफूभन्दा परिपक्व जीवनसाथी रोजेर ।

अर्को कुरा हो प्रेम । संसारमा अधिक रुचाइएको चिज, यसले पनि धेरै प्रभाव पारेको हुन्छ मान्छेलाई । आफू जुन सर्कलमा आवद्ध हुन्छन्, जोसँग भेटघाट भैराख्नुपर्ने हुन्छ, यसरी देखभेट र सँगसँगै काम गर्नु पर्दा आफूभन्दा सिनियरसँग प्रेममा बाँधिएको थाहै पाउँदैनन् । यसरी प्रेममा अलग हुनुको साटो पुरानो सम्बन्धलाई डिलिट गरेर नयाँ जीवन शुरुवात गर्न उत्तम ठानेर पनि हुन सक्छ ।

यो एउटा अनुमानमात्र हो, प्रेम भैसकेपछि विवाहित र अविवाहित सोचि राख्दैनन् शायद । त्यसलाई विवाहमा परिणत गर्छन् । अर्को कुरा, एउटा अविवाहित पुरुषले प्रस्तुत गर्ने प्रेम , हेरबिचार र विवाहित पुरुषले प्रस्तुत गर्ने व्यबहार छुट्टै हुने गर्दछ । विवाहित पुरुषहरु पर्याप्त प्रेम दर्शाउँछन् अनि त सजिलै आकर्षित हुन्छन् महिलाहरु ।

मान्छे स्वभावैले स्वार्थी प्राणी हो नै अरुको बारे भन्दा आफ्नै बारे सोच्छ । आफूलाई जे गर्दा सुख प्राप्त हुन्छ, त्यही गर्दछ । पुरुष जब अनुभवी भैसक्छ, अथवा विवाहित पुरुष महिलाको सम्बन्धमा विज्ञ भैसक्छ, उनीहरुलाई युवतीहरु के मन पराउँछन् र के मन पराउँदैनन् सबै थाहा भैसकेको हुन्छ र सजिलै प्रभावित गर्न सक्छन् अर्की युवतीलाई । प्रेमका साथै आफुलाई विशेष ध्यान दिएको सबैलाई राम्रो लाग्छ नै । स्वाभावैले धेरैभन्दा धेरै प्रेम रुचाउने जातको हो मान्छे ।

अर्को कुरा, सफल अभिनेत्रीहरु आफैंमा सफल हुन्छन् र फेरि त्यो सफलताबाट ओर्लन चाहँदैनन् त्यही स्टाटसमै रहिरहन अर्थात ‘चमकधमक’ लाई स्थायित्व दिन पनि उनीहरुलाई आफूभन्दा सफल पुरुष चाहान्छन् । अविवाहित पुरुषहरु अक्सर संघर्षरत हुन्छन् । तर, विवाहितहरु सेटल भैसकेका हुन्छन् । यसले गर्दा युवतीका प्रत्येक इच्छाहरु सजिलै पूरा गरिदिन सक्छन् । एउटा ब्याजलर ब्वाईफ्रेण्डले कुनै बिशेष दिनमा ‘घर’ उपहार देला भने कुनै विवाहित पुरुषले अझ ठूलो ‘बंगला’ उपहार दिन सक्छ । यही फरक छ ।

यसरी विलासी जीवन बिताउनका लागि पनि अविवाहितभन्दा विवाहित पुरुष नै सवल हुन्छन् र यसले गर्दा पनि अभिनेत्रीहरुको आकर्षण अविवाहितभन्दा विवाहित पुरुष हुन पुगेको हुन सक्छ ।

स्पष्ट भन्नुपर्दा आर्थिकरुपले सम्पन्न र आफूभन्दा सिनियर पुरुष नै सफल अभिनेत्रीहरुको रोजाईमा पर्छन् । यसको अर्थ, सबै सफल अभिनेत्रीहरु यही चाहन्छन् भन्न खोजिएको भने होइन । अक्सर यस्तै देखिएको छ फिल्मी संसारमा ।

एउटा पुरुष जब सबै कुरामा सम्पन्न भैसक्दा ऊ विवाहित मात्रै होइन एकदुई वटा छोराछोरीको बाबु समेत बनिसकेको हुन्छ । कोही पुरुष पहिली श्रीमतीलाई छाडेर सम्बन्धविच्छेद गरेर बसेका हुन्छन् भने कोही दोस्रो विवाह गर्नकै लागि पहिलोलाई छाडिदिन्छन् । भनौं- अर्को विवाह गर्नका लागि सम्बन्धविच्छेद गर्छन् ।

पुरुषहरु घरमा श्रीमती हुँदाहुदै पनि आशक्ति, आकर्षण या प्रेममा पर्छन् । किन त ?

मेरा एक विवाहित पुरुषमित्र भन्छन् – ‘आशक्ति, आकर्षण या प्रेम जे उपनाम दिए पनि आखिर मान्छे स्वाभावैले नयाँनयाँ ‘टेस्ट’ मन पराउने जात हो यसमा महिला-पुरुष भन्ने हुन्न । पुरुष बढी स्वतन्त्र छ यस कुरामा र सजिलै एउटीलाई छाडेर अर्की अंगाल्न सक्छ । यसको मुख्य कारण नै सेक्स हो । भन्न हिच्किच्याउदैन ऊ ।

सकेसम्म धेरै महिलाहरुसँग सम्बन्ध राख्न रुचाउने जातका हुन् पुरुषहरु भन्दा अतियुक्ति नहोला । हलिउडका अभिनेताहरुको सेक्स सम्बन्ध हजार जना भन्दा बढी महिलाको संख्या त हामीले फिल्मी खबरहरुमा पढेकै थियौं । हालै प्रदर्शित सञ्जय दत्तको बायोपिक फिल्म ‘सन्जु’ मा स्वीकारेका छन् तीन सय आठ जना महिलासँगको सेक्स सम्बन्ध ।

यस उदाहरणबाट पनि स्पस्ट हुन्छ कि आखिर पुरुषहरु के चाहन्छन् भन्ने कुरा । सबैको चाहना उस्तै हुन्छ भन्न खोजिएको होइन । समग्रताबाट लिइएको नमूनामात्र प्रस्तुत गरिएको हो ।

यस ब्रह्माण्डमा उदेकलाग्दो कुरा चाँहि यही छ कि ‘एक्स्ट्रा अफेयर’ कोही पनि रुचाउँदैनन् । तर, यस सम्बन्धलाई सम्पूर्ण रुपमा तिरस्कार गर्न कोही पनि लागिपरेका छैनन् । भगवानका पालाको श्रीकृष्णकी राधा होस् या वर्तमानको ‘ताजमहल’ । साहजाँहले पनि त आफ्नी दोस्री श्रीमतीकै नाममा बनाएका थिए ताजमहल । कति महिमा र ख्याति छ यो प्रेमको प्रतीक भनेर संसारभरि । प्रेमीहरुको तीर्थ बनेर अमर अटलरुपमा ठडिंरहेको रहेको छ ।

तर, यसको वास्तविकता त एउटी महिलालाई धोका दिएर अर्कोलाई प्रेम खन्याएर कुन बहादुरी गरेका थिए र साहजाँहले ? खासमा धोकाको प्रतीक ठानेर उहिल्यै ध्वस्त बनाउन पर्ने होइन र त्यो ताजमहल ? हामी यो कस्तो विरोधभासमा छौं ? धोका हामीलाई मन पर्दैन तर धोकालाई नै पूजा गरिरहेका हुन्छौं । चलन यस्तै छ यहाँ । यसरी नै चलिरहेको छ र यसरी नै चलिराख्छ पनि शायद ।

राधा-कृष्णको प्रेमलाई उत्कृष्ट नमूना मान्ने हामीहरु अभिनेत्रीहरुको रोजाई किन विवाहित पुरुषहरु पर्छन् भनेर सोच्नु सायद अर्को ‘कन्ट्रास्ट’ विषय हो कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment