Comments Add Comment

बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान

दैनिक १३ सय लिटर दूध बिक्री, मासिक २१ लाख कमाइ

१५ साउन, गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु बडाहाकिम थिए, घरमा कुनै अभाव थिएन । बाबुको चाहना छोरालाई सैनिक अधिकृत वा निजामती कर्मचारी बनाउने थियो ।

तर बाबुको चाहनाको ठीक उल्टो उनी किसान भएर निस्किए । तीनै लहडी व्यक्ति यसवर्ष देशभरकै सर्वाेकृष्ट किसान बने ।

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका राजेन्द्रराज पन्त कामधेनु गाईपालन केन्द्रका सञ्चालक हुन् ।

काठमाडौमा हुर्के बढे पनि उनी धेरैले अवहेलना गरेको कृषि र पशुपालन गर्न पुख्र्यौली थलो गोरखा आएका थिए । त्यसकै माध्यमबाट नेपालमा मात्र होइन विदेशमा पनि परिचित छन् ।

उनको गाईपालन केन्द्रमा अहिले जर्सी र होलिस्टिन जातका तीन सय ३५ वटा गाई छन् । १३ वटा गोठमा उमेर समूहअनुसार गाईलाई अलग अलग राखिएको छ । दैनिक करिब १३ सय लिटर दूध दुहुन्छन् उनी । उत्पादित दूध सिधै भक्तपुर लगिन्छ ।

‘६ बर्षको सम्झौता छ, एक दिन बिराएर उनीहरु आफै लिन आउँछन्,’ पन्तले भने । उनले गोठबाटै प्रतिलिटर ५९ रुपैयाँमा बिक्री गर्छन् । दूध बेचेरै मासिक २१ लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ ।

उनको गाई फार्ममै चिस्यान केन्ऽ पनि छ । दूध दुहुन चार वटा मेसिन छन् । भकारो सोहोर्ने, घाँस काट्ने गरी २० जनालाई रोजगारी दिएका छन् । कुल तीन सय रोपनी क्षेत्रफलमध्ये दुई सय ८० रोपनी क्षेत्रफलमा घास खेती गरिएको छ । नेपियर, सिम्बुसेतिया, मोलाटो, गायो, गिदरी, दबदबे लगायतका १८ थरीका घास खेती हुन्छन् ।

यसरी सुरु भयो गाईपालन

बडाहाकिम बाबुको चाहना छोरा सैनिक वा निजामती कर्मचारी बनोस् भन्ने थियो । तर उनको ध्यान बाबुको इच्छाविपरीत खेती किसानीतर्फ देखिएपछि परिवारको साथ पाएनन् । ‘म एक्लो छोरा, पोलिटिकल साइन्समा बिए पनि गरिसकेको थिए, घरमा जागिर खानुपर्छ भन्थे,’ पन्तले अनलाइनखबरसँग भने, ‘म खेती किसानी गर्छु भन्दा राम्रो मान्नुभएन ।’

परिवारले साथ नदिए पनि उनले हार खाएनन् । खासमा उनले काठमाडौंमा १४ वर्षको हुँदैमा कुखुरापालन सुरु गरेका थिए । त्यसबाट केही रकम पनि जम्मा पारेका थिए । त्यही पैसा लिएर फलफूल खेती गर्ने भन्दै २१ बर्षको उमेर (२०३२ सालमा) उनी पुर्ख्यौली थलो च्याङ्ली आए ।

करिब ३५ हजारको लगानीमा उनले आँप, लिची, भुइँकटहर, अम्बालगायतका फलफूल खेती शुरु गरे । उनले तनहुँको डुम्रेमा फलफूल पसलसमेत खेले । केही समय राम्रै आम्दानी भयो । खेती गर्न आवश्यक मलका लागि उनले २०३४ सालमा सात वटा भैंसी गोरखपुरबाट किनेर ल्याए । भैंसी किन्नका लागि उनले परिवारलाई गुहारेनन् । बरु कृषि विकास बैंकबाट एक लाख ऋण निकाले ।

खेती गर्दै जाँदा फलफुलमा किरा लाग्न थालेपछि उनले विषादी प्रयोग गरे । तर विषादीको असरले चराहरु बारीमै मर्न थालेपछि उनले फलफुल खेती छाडेर गाइ पाल्ने निधो गरे । २०५२ सालमा भारतको सिलगुढीबाट सात लाखमा सात वटा गाई किनेर ल्याए । गाई किन्नका लागि उनले कृषि विकास बैकबाट पुन १८ लाख ऋण निकालेका थिए । फलफुल खेती छाडेर अब उनी पुरै गाई र भैंसीपालनमा केन्द्रित भए ।

२०५४ सालमा पोखराबाट थप १२ र २०५६ सालमा स्याङ्जाबाट १२ गरी २४ वटा गाई ल्याए । गाईको दूध नजिकैको सहकारीमा लगेर बेच्ने गथ्र्ये । ‘२०५२ सालतिर ३०/३५ लिटर दुध हुन्थ्यो, बोकेर सहकारीमा बेच्न लान्थे,’ पन्तले भने ।

भैसीको तुलनामा गाईले बढी दूध दिने भएपछि उनी गाईपालनमा मात्र केन्द्रित भए । २०६० सालमा भएका सबै भैसी बेचिदिए । विस्तारै गाईको संख्या बढाउदै लगे ।

गाईलाई चाहिने दाना उनी आफै उत्पादन गर्छन् । जाडो मौसमा गाइलाई तातो पानी खुवाउन सोलार जडान गरेका छन् । दूधमात्र मात्र होइन बाच्छा बेचेर पनि उनले आम्दानी गरिरहेका हुन्छन् । बर्षको ५-६ वटा बाच्छा राष्ट्रिय प्रजजन केन्द्र पोखरा पठाउने उनी बताउँछन् । एउटा बाच्छाको तीसदेखि ६० हजारसम्म लिने पन्त बताउँछन् ।

गाईपालन केन्द्र भ्रमणमा आउनेहरुबाट उनले बार्षिक तीन लाख आम्दानी गर्छन् । ‘भ्रमण आउने एउटा टोलीसँग दुई हजार रुपैयाँ लिन्छु, एक घण्टा प्रशिक्षण दिन्छु,’ उनले भने । स्वदेशबाट मात्र नभई विदेशबाट पनि उनको गाईफार्म भ्रमणमा आउने गरेको उनी बताउछन् । मंसिरदेखि असारसम्म त उनको फार्म हेर्नेको भीड नै लाग्छ ।

गाई पालेरै उनले थुपै्र सम्मानहरु पाएका छन् । २०७३/७४ सालमा उनले २६ लाख अनुदान रकम पाए । यसै वर्ष उनी सर्वोत्कृष्ट कृषक घोषित भए र नगद दुई लाखसहित राष्ट्रपति सर्वाेत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भए । ‘घरबाट बारम्बार गाइपालन छोडेर जागिर खान आइज, बडा हाकिमको छोरा भएर यस्तो काम गर्न हुन्न भन्नुहुन्थ्यो तर म गइन, अहिले सर्वाेत्कृष्ट किसान भएर सम्मान पनि पाएको छु निकै खुशी लाग्छ,’ पन्तले अनलाइखबरसँग भने ।

उमेरले ६४ पुगिसके उनी । तर उनको जोश र जाँगरमा भने कत्ति कमि आएको छैन । उनी गाईपालनमै व्यस्त छन् ।

छोराहरु राजीवराज र राजकुमार पन्तले पनि बाबुकै बाटो पछ्याएका छन् । वाणिज्यशास्त्रमा स्नातक तह पास गरेका दुई छोराहरु बाबुले सञ्चालन गरेको गाईफार्ममै व्यस्त हुन्छन् । गाईपालनकै सन्दर्भमा पन्तले धेरै देश भ्रमण गरिसकेका छन् । अब उनको योजना आफ्नै दूध डेरी खोल्ने छ ।

नेपालीले गाईपालन गर्न सक्दैनन् भन्ने मानसिकता रहे पनि आफूले गरेर देखाएको पन्त बताउँछन् । सशस्त्र द्वन्द्वको समयमा भने उनलाई यो व्यवसाय अघि बढाउन निकै कठिन भयो । ‘२०५२ साल देखि २०६० सालसम्म म त अन्योलमा थिए, कहिले बन्द, संकटकाल जस्ता कारणले झण्डै हार खाइसकेको थिएँ तर धैर्य गरेर बसेँ, अहिले सफलता मिल्यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment