Comments Add Comment

निजी डेरीले चलाए बन्द रहेको चितवन मिल्क

असोजदेखि नियमित सञ्चालन गर्ने तयारी

२०, साउन, चितवन । लामो समयदेखि बन्द रहेको नेपालकै ठूलो पाउडर दूध कारखाना चितवन मिल्क लिमिटेड निजी डेरीहरुले सञ्चालन गरेका छन् ।बन्द रहेको उद्योगमा निजी डेरीहरुले दूध उपलब्ध गराएपछि प्रसोधनको काम हुँदै आएको छ ।

भूकम्प गएपछि०७२ वैशाखबाट उद्योग पूर्णरुपमा बन्द भएको थियो । उद्योगबाट उत्पादित पाउडर दूध बिक्री नभएको र दूधको अभाव भएपछि उद्योग बन्द हुनुका मूल कारण थिए ।

उद्योगले गत पुस महिनाबाट निजी डेरीहरुको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीहरुमा खपत नभएको दूध उद्योगमा ल्याएर पाउडर र बटर बनाउँदै लैजाने गरेको छ ।

संघले दूध प्रशोधन गरेवापत उद्योगलाई भाडा तिर्ने गरेको छ। तर, उद्योग नियमित सञ्चालन हुन भने सकेको छैन ।

नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डेरीहरुसँग बचेको दूध उद्योगलाई भाडा तिरेर पाउडर र बटर उत्पादन गर्दै आएको बताए ।

संघले एक किलो पाउडर दूध उत्पादन गर्दा मूल्य अभिबृद्धि कर बाहेक १०५ रुपैयाँ र बटर उत्पादन गर्दा प्रतिकिलो ४७ रुपैयाँ उद्योगलाई तिर्दै आएको छ ।

सरकारले भारतबाट पाउण्डर दूध ल्याउन रोक लगाएपछि डेरीहरुले यो विकल्प रोजेका हुन् ।

यसरी तयार पारिएको पाउडर दूध एक वर्षसम्म बिगि्रदैन । संघका सदस्य उद्योगहरु आफ्नैले खपत गर्ने गरी पाउडर उत्पादन गरेको गरिएको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

असोजदेखि नियमित सञ्चालन गर्ने तयारी

चितवन मिल्क लिमिटेडका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको जनाएका छन् ।

उद्योगले असोजबाट डेरी हृवाईटनरको नियमित उत्पादन शुरु गर्नेछ । त्यसपछि क्रमशः अन्य उत्पादन बढाउँदै लैजाने योजना उद्योगको छ ।

चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थहरु उपयोग गर्न नेपाल डेरी उद्योग संघ सकारात्मक बनेको छ । यसले उद्योगको मार्केट बलियो बन्ने विश्वास सञ्चालकहरुको छ ।

संघ सकारात्मक भएपछि उद्योग नियमित सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

चितवन मिल्क उद्योगले तीन प्रकारको पाउडर दूध उत्पादन गर्न सक्छ । उद्योगले होल मिल्क पाउडर, डेरी हृवाईटनर र क्रिम मिल्क पाउडर उत्पादन गर्ने गर्दछ ।

दैनिक एक लाख ५० हजार लिटर दूधको पाउडर बनाउने क्षमता उद्योगसँग छ । यो नेपालमा नै सवैभन्दा धेरैं हो ।

त्यसैगरी घ्यू, दही, पनिर र पाउँच दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ । उद्योग स्थापनाको शुरुका वर्ष नेपालको दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो ।

हाल नेपालमा दुग्ध विकास संस्थानसँग दैनिक ३ टन र सुजल डेरीसँग दैनिक ५ टन धूलो दूध उत्पादन गर्ने क्षमताका प्लाण्ट छन् ।

नेपालमा तीन अर्व हाराहारीमा वाषिर्क १० हजार मेट्रिक टन पाउडर दूध आयात हुँदै आएको थियो । जसको ४५ प्रतिशत खपत दुग्ध विकास संस्थान (डीडीसी), ४५ प्रतिशत निजी डेरी र बाँकी बेकरी, बिस्कुट लगायतका उद्योगले खपत गर्ने गरेका थिए ।

अहिले सरकारले पाउडर दूध आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा यहाँको पाउडर दूधले बजार पाउने अवस्था सिर्जना भएको छ । व्यवसायीहरु उत्साहित बनेका छन् ।

भारतमा बिक्री नभएको गुणस्तरहिन पाउडर दूध समेत नेपाल भित्रिदा यहाँको गुणस्तरको दूधले बजार पाउन र प्रतिस्पर्धा गर्न सकेको थिएन ।

भारतीय पाउण्डर दूध २५ किलोको बोरा खरिद गर्दा नेपालमाभन्दा तीन हजार रुपैयाँ सस्तो पर्ने गरेको थियो ।

किन बन्द भयो उद्योग ?

भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरामा बि.सं. २०६६ सालमा आठ विगाहा क्षेत्रफल स्थापित उद्योगमा एक अर्ब रुपैयाँभन्दा भन्दा बढी लगानी छ ।

पाउडर दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग भूकम्पपछि पूर्ण रुपमा बन्द भएको हो ।

भूकम्पको समयमा उपकरण र भवनमा आंशिक क्षति पनि भयो । मजदुरहरुको समस्या पनि त्यतिबेला निकैं चर्किएको थियो ।

राजनीतिक संक्रमणको मार झेलेको उद्योगमा १७२ जना मजदुर कार्यरत रहेका थिए । वाषिर्क रुपमा ८ करोडको हाराहारीमा घाटा व्यहोर्न थालेपछि उद्योग सञ्चालनमा कठिनाइ भएको थियो ।

कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत् भार कटौती, बन्द हडताल, निर्वाध रुपमा विदेशी दुग्धजन्य पदार्थ भित्रिएपछि उद्योग सञ्चालन गर्न र नेपाली बजारमा प्रतिस्पर्धा गर्न निकै कठिनाइ भएपछि उद्योग बन्द भएको सञ्चालकको भनाई छ ।

चितवनमा दूधको रकम कम्पनीले भुक्तानी गर्न नसक्दा अन्यत्रका डेरी तथा मिल्कहरुले यहाँको दूध लगे ।

भुक्तानी राम्रो नहुनु, उचित मुल्य समेत मिल्कले नदिने गर्नाले यहाँका किसानहरु अन्यत्रै दुघ बेच्न बाध्य भए । तर, अहिले परिस्थिती बदलिएको छ ।

नोक्सानी बढ्दै गएपछि व्यहोर्दै गएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको चितवन मिल्क सञ्चालनको जिम्मेवारी सरकारले लिइदिन उद्योगले आग्रहसमेत गरेको थियो ।

उद्योग सञ्चालकहरुले २० प्रतिशत आफ्नो लगानी र बाँकी ८० प्रतिशत नेपाल सरकारको लगानीमा उद्योग सञ्चालनका लागि प्रस्ताव समेत गरेका थिए ।

उद्योगले दैनिक १५ टन पाउडर दूध र एकदेखि डेढ लाख लिटरसम्म प्रशोधित दूध उत्पादन गर्ने क्षमता राख्दछ ।

देशको पाउडर दूधको ३० प्रतिशत नेपाली बजार चितवन मिल्कले धान्ने दावी सञ्चालकको छ ।

उद्योगले गुणात्मक दूध उत्पादनका लागि भन्दैं ५ हजार होलिस्टेन, ५ हजार जर्सी र ५ हजार मुर्रा भैसीको उच्च नश्ल वीर्य भारतबाट आयात गरी किसानहरूलाई वितरणसमेत गर्‍यो । तर, अपेक्षाकृत नतिजा नआएपछि उद्योग बन्द भएको थियो ।

तर, अब समय परिस्थिती फेरिएकोले उद्योग निर्वाध रुपमा सञ्चालन हुने विश्वास सञ्चालकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment