Comments Add Comment

लिस्नु कपको फाइनलमा डीवाईसी र नवयुवा भिड्दै

२१ साउन, बुटवल । लिस्नु युवा क्लबको आयोजनामा कोटिहवामा जारी १८ औं लिस्नु कप नकआउट फुटबलको फाइनल आज सोमबार हुंदैछ ।

क्लबस्तरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधिका लागि डीवाईसी सियारी– १ र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटीपिपल रुपन्देही आमनेसामने हुँदैछन् ।

पशुपति माविको मैदानमा दिउँसो साढे ३ बजे शुरु हुने खेलमा आफ्नो टिमले जित हासिल गर्ने दुबै टिमको दावी छ । दुवै टिम सेमिफाइनल खेलेका खेलाडीलाई नै मैदानमा उतार्ने तयारीमा छन् ।

आफ्नो टिममा ए डिभिजन खेलेका अनुभवी, इनर्जेेटिक युवा, तीनजना विदेशी र स्थानीय समेत गरी राम्रा खेलाडीको कम्बिनेसन रहेकाले उपाधि जित्ने डीवाईसी सियारी–१ का क्याप्टेन कृष्ण लामाले दावी गरे ।

‘सेमिफाइनल खेलेका खेलाडी नै फाइनल खेल्दैछन् र उपाधि जित्छौं भन्नेमा ढुक्क छौं’, क्याप्टेन लामाले भने ।

डीवाईसीबाट क्याप्टेन लामासहित आइभोरीकोस्टका एकजना र तान्जानियाका २ जना विदेशी खेलाडी मैदानमा उत्रिनेछन् भने गोलरक्षकमा सुदुरपश्चिम टिमबाट खेलेका टेकेन्द्र थापा, राष्ट्रिय खेलाडी जाङ्गु शेर्पा, दीपेश श्रेष्ठ, जनक कार्की, सुसन लामा, अजय थापा र गौतम श्रेष्ठ खेल्दैछन् । सोम थापा र राज पौडेल अतिरिक्त खेलाडीको रुपमा रहेका छन् ।

उता नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटीपिपलका अध्यक्ष अमित थापा श्रीसमगर पनि फाइनल खेल आफ्नो टिमले जित्ने दावी गर्छन् । नवयुवाले गोलकिपर विशाल सुनारलाई आफ्नो जितको बलियो आधार र आशा मानेको छ । सुनार राष्ट्रिय टिम अण्डर १६, अण्डर १८ हुंदै हालै मात्र थ्रीस्टार क्लबमा अनुबन्ध हुन सफल युवा खेलाडी हुन् ।

यस्तै डिफेन्समा सेमिफाइनल खेलको म्यान अफ द म्याच भएका साहिल राना पनि टिमको जितका लागि योगदान गर्नसक्ने उदियमान खेलाडी हुन् । नवयुवाले पनि सेमिफाइनल खेलेकै खेलाडीहरु फाइनलमा उतार्ने क्लबका अध्यक्ष श्रीसको भनाई छ । नवयुवाबाट पनि तीनजना विदेशी खेलाडी (एकजना क्यामरुनका र २ जना स्टोनियाका ) खेल्दैछन् भने अन्य खेलाडीहरुमा २ जना झापाका छन् ।

यस्तै सुनौलीका भोटे गुरुङ,अमन श्रीसमगर,प्रताप श्रीसमगर पनि खेल्दैछन् । ‘विपक्षी टिम पनि बलियो छ, तर हामीले पनि मेहनत गरेर खेल्छौं र जित्ने आशा छ’–क्लबका अध्यक्ष श्रीसले भने । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेलसंगै समापन र पुरस्कार वितरणका लागि अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा आउने क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment