Comments Add Comment

घाइते हुँदा पनि शक्ति गौचनका लागि खेलेँ – शरद भेषावकर

२१ साउन, काठमाडौं । नेपालको पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध अन्तिममा ब्याटिङ गर्न आएका शरद भेषावकरले आफू चोटग्रस्त रहे पनि शक्ति गौचनका लागि ब्याटिङमा गएको बताएका छन् ।

युरोप भ्रमण सकेर सोमबार नेपाली टोली स्वदेश फर्किएपछि अनलाइनखबरसँग कुरा गर्दै शरदले शक्तिको अन्तिम खेल भएका कारण आफूले अरु केही नसोचि उनकै लागि ब्याटिङमा गएको बताए ।

‘चोटले गर्दा खेल्न सक्छु भन्ने त थिएन । तर पनि क्रिजमा शक्ति थिए । उनको अन्तिम खेल भएकाले साथ दिन मन लाग्यो र म ब्याटिङमा गएँ’ शरदले सुनाए, ‘त्यो बेला अरु केही कुरा सोचेर भन्दा पनि शक्तिकै लागि पनि मैले खेल्नुपर्छ लागेर ब्याट समातेर गएको थिएँ ।’

नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गरिरहँदा शरद भेषावकर घाइते हुन पुगेका थिए । त्यसपछि नेपालको मध्यक्रममा पूरै ब्याटिङ लाइन बिग्रिएको थियो ।

१ सय ९० रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ कमजोर बनेको थियो । ज्ञानेन्द्र मल्ल र अनिल शाहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे पनि त्यसले निरन्तरता पाउन सकेन ।

उपकप्तान ज्ञानेन्द्र ५१, अनिल २१, कप्तान पारस खड्का १२, दिपेन्द्र ऐरी ३३ रन बनाएर आउट भए । त्यसपछि तीन जना ब्याट्सम्यान शून्यमै आउट हुँदा नेपाली पारी कमजोर बनिसकेको थियो । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका शक्ति गौचन एक्लै क्रिजमा ढटिरहेका थिए ।

त्यसपछि करण केसी र सन्दिप लामिछाने पनि आउट हुन पुग्दा घाइते रहेका शरद मात्रै ब्याटिङका लागि बाँकी थिए । नेपालको ऐतिहासिक खेल कमेन्ट्रि गरिरहेका कमेन्टेटरदेखि घरमै टेलिभिजनको पर्दामार्फत खेलको साक्षी बसिरहेका दर्शकले शरद ब्याटिङमा फर्कन सक्ने आश राखेका थिएनन् ।

दाहिने हातमा लागेको चोटका बाबजुद पनि सबैलाई चकित पार्दै शरद ११ औँ क्रममा ब्याटिङमा आए । उनी १५ बल खेलेर ४ रन बनाउँदा शरद आउट भए ।

खेल सकिएपछि पनि हातमा लागेको चोटका कारण शरद निकै सकससँग सबैसँग हात मिलाइरहेका थिए । ‘चोट छिटै निको होला भन्ने आशा छ । अब यहाँ थप परिक्षणहरु गर्छौं र डाक्टरको सल्लाहअनुसार अघि बढ्छौं’ शरदले भने ।

कप्तान पारस खड्काले पनि शरदको हातमा लागेको चोटको थप परिक्षण आवश्यक रहेको बताएका छन् । ‘शरदको चोट फिल्डिङ गर्दा औँलामा लागेको चोट हो । अब थप परिक्षण गरेपछि बाँकी कुराहरु प्रष्ट हुन्छन् । के गर्ने भन्ने निर्णय जाँच पछि नै थाहा हुन्छ’ खड्काले भने ।

पहिलो एकदिवसीयमा ५५ रनले पराजित भएको नेपाल दोस्रोमा एक रनले विजयी भएको थियो । हातमा लागेको चोटकै कारण शरदले दोस्रो खेल गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment