Comments Add Comment

एउटा सडक दुर्घटनाले ढाकालाई अस्तव्यस्त बनायो

२१ साउन, काठमाडौं । सवारी दुर्घटनामा दुई स्कुले विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर एक साताभन्दा बढी समयदेखि बंगलादेशको राजधानी ढाका अस्तव्यस्त बनेको छ । युवाहरुको बाहुल्यता रहेको प्रदर्शनमा सहभागीहरुले सडक सुरक्षाका लागि तत्काल कदम चाल्न माग गरेका छन् ।

आन्दोलन मुलुककै प्रमुख संकटका रुपमा देखिएको छ र १ करोड ८० लाख मानिसको बसोबास रहेको ढाकामा हिंसात्मक झडपहरु पनि हुन थालेका छन् ।

कसरी सुरु भयो आन्दोलन ?

२९ जुलाईमा दुई स्कुले विद्यार्थी तीव्र गतिमा रहेको बसको ठक्करबाट मारिए । अर्को बसलाई उछिनेर यात्रुहरु भएको ठाउँमा पुग्न खोज्दा बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।

ढाकामा सवारी दुर्घटना दिनहु भइरहेको हुन्छ । बंगलादेशमा गत वर्ष मात्र सवारी दुर्घटनामा परी ४ हजार बढीको मृत्यु भएको छ ।

तर, यो पटक सामाजिक सञ्जालमा निकै आक्रोस देखियो, जसले छिट्टै आन्दोलनको रुप लियो । हजारौं विद्यार्थीहरु सडकमा आएका छन् र शहर ठप्प भएको छ ।

प्रदर्शनकारीहरुले ट्रक, बस र कारहरु रोकेका छन् र सवारी चालकको लाइसेन्स हेर्ने गरेका छन् । उनीहरुले सवारी साधन सडकमा गुडाउन लायक छ कि छैन पनि हेर्छन् ।

‘हरेक ठाउँमा भ्रष्टाचार छ र चकलेट बेचे जसरी लाइसेन्स बाँडिएको छ’ १७ वर्षे प्रदर्शनकारीले भने ।

अनि हिंसा सुरु भयो

विद्यार्थीहरु राजधानी ढाकाको सडकमा दिनहुँ जम्मा भएर प्रदर्शन गर्ने गरेका छन् । बसहरु चलेका छैनन् । शनिबारबाट भने प्रदर्शन हिंसात्मक हुन थालेको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरको गोली हानेको छ, जसबाट थुप्रै विद्यार्थी घाइते भएका छन् । प्रदर्शनकारी र सरकार समर्थित समूहबीच झडप हुन थालेको छ ।

सोमबार पनि क्याम्पस र आवास क्षेत्र आसपासमा नै हिंसात्मक झडपहरु भएका छन् । स्थानीय अस्पतालका एक डाक्टरले डेली स्टारलाई बताएअनुसार कम्तिमा ४० जना घाइते भएका छन्, जसमध्ये अधिकांश विद्यार्थी छन् ।

सरकार समर्थित समूहमाथि पत्रकारहरुमाथि आक्रमण गरेको आरोप समेत लागेको छ ।

सरकारविरुद्ध झुटा प्रचार गरेको आरोपमा चर्चित फोटोपत्रकार सहिदुल्लाह अलाम पक्राउ परेका छन् । अलजजिरामा सरकारको आलोचना गरेको केही घन्टामै उनी पक्राउ परेका हुन् । एम्नेष्टी इन्टरनेशनलले उनको रिहाइको माग गरेको छ ।

सरकारले आइतबार साँझबाट थ्रीजी र फोर जी इन्टरनेट सेवा बन्द गरेको थियो । किनकी युवा प्रदर्शनकारीहरु सामाजिक सञ्जालमार्फत एकअर्कासँग जोडिएका थिए ।

सरकारले कसरी सम्बोधन गर्दैछ ?

आइतबार प्रधानमन्त्री शेख हरिनाले आइतबार प्रदर्शनकारीहरुलाई घर फर्किन आग्रह गरेकी थिइन् । तर, उनको अपील विद्यार्थीहरुले अस्वीकार गरेका छन् ।

सोमबार मात्र बंगलादेश सरकारले सडक सुरक्षाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । साथै मन्त्रिपरिषद्ले लामो समयदेखि विचाराधीन सडक यातायातसम्बन्धी नयाँ कानुन समेत पास गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरुलाई खुसी पार्न सरकारले जानीबुझी सवारी दुर्घटनामा ज्यान लिनेलाई मृत्युदण्ड दिइने बताएको छ । तर, आन्दोलन तत्काल अन्त्य हुनु पर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment