Comments Add Comment

गरिब परिचयपत्र वितरणमा अवरोध गरेको भन्दै तीन जना पक्राउ

२२ साउन, अछाम । धनीलाई गरिब र गरिबलाई धनीको परिचयपत्र वितरण भएको भन्दै पञ्चदेवल-विनायक नगरपालिका-६ तोलीमा नाराबाजी गर्ने तीनजना स्थानीयबासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दान बहादुर रावल, अमर रावल र कलम शाहीलाई नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ ।

गरिब घर धुरी परिचयपत्र वितरणमा नगरपालिकाको टोली सोमबार उक्त वडामा पुग्दा स्थानीयले नाराबाजी सहित आक्रमणको प्रयास गरेको भन्दै वडाबाट पत्र आएपछि तीनजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विनायकले जानकारी दिएको छ ।

टेबुल, कुर्सी, दराज तोडफोड गर्नुको साथै वडा कार्यालयमा रहेका केही कागजात समेत नष्ट गरिएको र रकमसमेत लुटिएको आरोप छ । तर प्रहरीमा रकम लुटपाटको कुनै जानकारी नभएको बताइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारका अनुसार घटनाको बारेमा विस्तृत बुझ्ने काम भइरहेको बताए । ‘म बाहिर थिएँ, राति पुगेँ घटनाबारे विस्तृत बुझ्दै छौं,’ तण्डुकारले भने ।

नगरपालिकाका उपप्रमुख अम्भिका चलाउनेले असन्तुष्टि राख्ने कानुनी प्रक्रिया हुँदाहुँदै अभद्र व्यवहार गर्ने व्यक्ति कानुनी कठघरामा आउनुपर्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् ।

भरपर्दो सुरक्षा नभएसम्म उक्त वडामा परिचयपत्र वितरणको काम रोकिने नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अष्टराज गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment