Comments Add Comment

कहिँ नभएको जात्राः फ्लप फिल्मको ‘सक्सेस पार्टी’

विदेशमा फिल्म चलाउन नेपालमा हिटको नौटंकी

साउन ४ गतेबाट रिलिज भएको चलचित्र ‘भैरे’ को निर्माणपक्षले बिहिबार बेलुकी काठमाडौंमा ‘सक्सेस पार्टी’ दियो । जबकि सो चलचित्रले नाफा कमाउनु त परै जावस, लगानीको आधा रकम पनि उठाएको छैन ।

अर्गानिक व्यपार गरेर नेपाली चलचित्रले ५१ दिन, १०० दिन मनाउनु अहिले दुर्लभ कुरा हो । तर, कृत्रिम दुनियाँले चलचित्र क्षेत्रका। मानिसहरुलाई पनि कृत्रिम नै बनाइदिएको छ । त्यसैले फ्लप चलचित्रले पनि हिट भएको नौटकी रच्ने सिलसिला चलिरहेको छ यहाँ ।
कलाकार र पत्रकारहरु उपस्थित ‘सक्सेस पार्टी’ मा ‘भैरे’ को निर्माण टिमले व्यापार कति भयो भनेर सार्वजनिक गर्न सकेन ।

व्यापारिक आँकडा प्राप्त नभएको बताइयो । तर, रमाइलो कुरा के भने ‘भैरे’ हिट भएको भन्दै सिक्वेलको रुपमा ‘भैरे २’ बनाउने घोषणा गरियो ।
यो चलचित्र नेपाली बक्स अफिसमा असफल भएको घाम जत्तिकै छर्लङ्ग छ । तर, हिट भएको भन्दै पार्टी गर्नुको उद्देश्य के त ? स्पष्ट छ, अब निर्माता विदेशमा चलचित्र लगेर लगानी उठाउन चाहन्छन् ।

विदेशमा दर्शक तान्नका लागि नेपालमा फिल्म हिट भएको देखाउनुछ । विभिन्न १२ वटा देशमा भैरे प्रदर्शन गरिने जानकारी दिइएको छ । यसकै लागि दर्शक बटुल्न केही लाख खर्च गरेर यो तिगडम गरिएको हो । हिट भएको सिनेमाको पार्टी गर्न त आनन्द नै आउँछ होला, तर असफल भएको सिनेमाको पार्टीले साँच्चै कस्तो आनन्द दिन्छ होला र ?

हुनत, यस्ता पार्टी दिने र केक काट्ने नौटंकी ‘भैरे’का निर्माताले मात्र गरेका होइनन् । वैशाख १४ गते रिलिज भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले एक सातामा १ करोड ग्रस कलेक्शन गरेको भन्दै यसकी निर्मात्री केकी अधिकारीले केक काटिन् ।

दैनिकजसो पत्रकार सम्मेलन भन्दै कार्यक्रम राखिन् । यो सबैको एउटै उद्देश्य थियो, विदेशमा चलचित्र चलाउनु । केकीको यो चलचित्र अहिले विश्वका विभिन्न देशमा चलिरहेको छ । केकी पनि विभिन्न देश पुगिरहेकी छिन् ।

नायिका ऋचा शर्माले निर्माण गरेको चलचित्र ‘सुनकेशरी’को केक काट्ने कथा पनि केकीसँग नै मिल्छ । विदेशमा चलचित्र बेच्नकै लागि नेपालमा चलचित्र हिट भएको हल्ला उनले पनि फिजाइन् । तर, यसले उनलाई खासै फाइदा हुन सकेन ।

यस्ता हल्लाले दिर्घकालिन रुपमा विदेशी बजार पनि विगार्छ । नराम्रा चलचित्र नेपाली दर्शकले नै रिजेक्ट गर्ने गरेका छन् । ती चलचित्रलाई विदेशी बजारमा पुर्‍याउँदा विस्तार हुँदै गएको चलचित्रको बजार फेरि धमिलो हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment