Comments Add Comment

बन्दले छेकेन ट्होंटेको रौनक, हेर्नुस् ९ तस्वीर

२९ साउन, पोखरा । गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वमध्येको एक हो, ट्होंटे पर्व । उभौली र उद्यौली ट्होंटेका रुपमा यो पर्व वर्षको दुई पटक बनाइन्छ । चैत र साउनको अन्तिम मंगलबार धुमधामले यो पर्व मनाउने गरिन्छ ।

यसपटकको उद्यौली ट्होंटे पनि पोखरामा बन्दको बाबुजुद धुमधामले मनाइएको छ । टोल-टोलबाट झाँकीसहित गुरुङ समुदाय निस्किए । तमु धिं नेपालको आहृवानमा टोल-टोलबाट विभिन्न गुरुङ संगठनका ब्यानर, झाँकीसहित ट्होंटेमा सडक उत्रिए । गुरुङको जातीय पोसाक तथा विभिन्न जनवारदेखि, भूत, प्रेमका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी पोखराका सडकमा निस्किए ।

गुरुङ समुदायका विभिन्न हातहतियार, बाजा बजाउँदै झिलीमिली पोसाकमा बालबालिका, किशोरकिशोरीदेखि बुढापाकासम्म र्‍यालीमा सहभागी बने । ‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका निस्किएको र्‍यालीले बजार परिक्रमा गर्दै नयाँ बजारस्थित तमु धिं नेपालको कार्यालयमा पुगेर समापन भयो ।

ट्होंटेमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँडा, भाला लगायतका विशेष हतियार लिएर ढ्याङग्रो, छेली लगायतका बाजा बजाई नाँचगान गर्ने चलन छ ।

ट्होटें दुई शब्दबाट बनेको हो । ट्हो को अर्थ गाउँ ठाउँ र टेंको अर्थ लखेट्नु हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ तमु समुदायले ट्होंटे पर्व मनाउने चलन छ । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा लिइदैं आएको छ ।

भूत, प्रेम, भगाउने, रोगब्याधी हटाउने विश्वासका साथ यो पर्व मनाउने प्रचलन रहेकेा संस्कृतिकर्मी डा. जगमान गुरुङले बताए । ‘श्रीपञ्चमीबाट उभौली सुरु हुन्छ । दिन घमाइलो हुन्छ । कराङकुरुङ चरा दक्षिणी गोलार्थबाट उत्तरी गोलार्धतिर लाग्छन् । यसले उभौलीको संकेत गर्छ,’ संस्कृतिकर्मी गुरुङले भने, ‘उद्यौली नागपञ्चमीतिर पर्छ । उत्तरी गोलार्धबाट कराङकुरुङ चरा फेरि दक्षिणाी गोलार्थतिर झछन् ।’

कर्‍याङकुरुङ चराले लिने दिशाजस्तै उभौली ट्होंटेमा गाउँ तलबाट पूजा गर्दै माथि उक्लने र उद्यौलीमा गाउँमुनिबाट पूजा गर्दै माथि जाने प्रचलन रहेको गुरुङले बताए ।

यसपटकको उधौली ट्होंटे बगर टुँडिखेलतिरबाट पूजाआजा गरी ट्होंटे खेल्दै नयाँबजारस्थित तमु धिंमा पुगेर सेतीमा बिसर्जन गरिएको छ । ठ्याक्कै कहिलेदेखि ट्होंटे मनाउन थालियो भन्ने एकिन तथ्यांक नभए पनि यो गुरुङ जातीको मौलिक र सांस्कृतिक पर्व भएको गुरुङले बताए ।  

कास्कीको मर्दी खोलादेखि पूर्व पर्वत र स्याङ्जाको उत्तर भेगसम्म र मर्दी खोलाको पूर्व मौजा, मादीको सिल्दुजुरे थाक गाउँ आसपाससम्मका गुरुङ समुदायले मनाउने मुख्य चाडको रुपमा ट्होंटे विकास भएको डा. गुरुङको भनाइ छ । अहिले यो चाडले ब्यापकता पाएको छ । पोखरा र आसपासमात्रै होइन देशका विभिन्न ठाउँसँगै विदेशमा रहेका नेपालीलेसमेत ट्होंटे पर्व मनाउने प्रचलन बढेको छ ।

तमु धिं नेपालको अगुवाइमा २०५२ सालदेखि साउन र चैत्रको अन्तिम मंगलबार सामूहिकरुपमा मनाउन थालिएको हो ।

यसअघि गुरुङ समुदायले स्वतःस्फूर्त रुपमा यो पर्व मनाउने चलन थियो । ट्होंटेको अवसरमा निकालिएको र्‍याली तमु धिं नेपालमा पुगेर औपचारिक कार्यक्रमपछि सकिएको थियो । कार्यक्रममा उत्कृष्ट झाँकी निकाल्ने समूहलाई प्रोत्साहन तथा सम्मान गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment