Comments Add Comment

पोखरा विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैन : पर्यटनमन्त्री अधिकारी

६ भदौ, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने स्पष्ष्ट पारेका छन् ।

बुधबार निर्माणाधीन विमानस्थलमा टर्मिनल भवन बनाउनको शिलान्यास गर्दै उनले विमानस्थलका लागि थप जग्गा आवश्यक नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गरे ।

‘जग्गा अधिग्रहण हुन्छ भनेर हल्ला नफिजाऔं, अब जग्गा अधिग्रहण हुँदैन, कुनै सामान्य कम्पोनेन्टका लागि जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर मात्र जग्गा खरिद हुन्छ, अब भ्रम र अन्यौलमा नबसौं’ उनले भने ।

मन्त्री अधिकारीले रन-वे का लागि थप जग्गा आवश्यक नभएको समेत बताए । पोखराको भौगोलिक अवस्था अनुसार १९२ देखि २०० सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २ हजार ५ सय मिटरको रन-वे नै पर्याप्त हुने मन्त्री अधिकारीको भनाइ छ । रन-वे बढाउँदैमा विमानस्थलको क्षमता नबढ्ने उनले दाबी गरे । विज्ञले भन्दैमा आत्तिइहाल्न नपर्ने बताउँदै उनले रन-वे बढाउने कुनै योजना नभएको बताए ।

‘यहाँको भौगोलिक धरातल नै यस्तो छ, ठूलठूला बोइङ उडाउन यहाँ सम्भव छैन, १९२ देखि २०० सिट क्षमताको जहाज त २५०० मिटरको रन-वे मा पनि मज्जाले आउँछ, त्यसैले थप जग्गा आवश्यक छैन र अधिग्रहण पनि गरिदैन ।’

विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा अधिग्रहण गर्ने हल्ला चलिरहँदा मन्त्री अधिकारीले भने अब कुनै पनि कामका लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको बताएका हुन् । उनले पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा चाहिए अहिले विमानस्थलभित्रै बनाउन सकिने र थप जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरिद गर्न आफूले निर्देशन दिइसकेको जानकारी गराए ।

टर्मिनल भवनको शिलान्यास

निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा टर्मिनल भवन बनाउन शुरु भएको छ । टर्मिनल भवनको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार पूजापाठसहित शिलान्यास गरे ।

बुधबार शिलान्यास गरिएको सो टर्मिनल भवन मिड जुलाई २०२० सम्ममा निर्माण सक्ने विमानस्थल निर्माण कम्पनी सिएएमसीले जनाएको छ । कम्पनीका अनुसार कुल १४ हजार वर्ग मिटरको टर्मिनल भवन बन्नेछ । जुन अन्तर्राष्ट्रिय उडानका लागि ८ हजार र आन्तरिक उडानका लागि ६ हजार वर्गमिटरको क्षेत्रफलमा हुनेछ ।

त्यस्तै, आगामी असोज महिनादेखि विमानस्थलको रन-वे पनि निर्माण गर्न शुरु गरिने भएको छ । टर्मिनल भवनको उद्घाटनका लागि विमानस्थल पुगेका मन्त्री अधिकारीले भने, ‘रन-वे निर्माण अबको एक/डेढ महिनाभित्रमा शुरु हुन्छ ।’ उनले २०१९ को जुन वा जुलाई सम्ममा रन-वे बनिसक्ने दाबीसमेत गरे । मन्त्री अधिकारीले, ‘निर्माणाधीन पोखरा विमानस्थलको रन-वे २०१९ को जुन/जुलाईसम्ममा सिद्धिन्छ । २०१९ बाटै यो रन-वे आकस्मिक अवतरणको लागि सञ्चालनमा ल्याउछौं ।’

मन्त्री अधिकारीले पोखरा विमानस्थलको काम अत्यन्तै तीब्र गतिमा भइरहेको भन्दै सम्झौताअनुसार २०२१ सम्ममा पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वाषिर्क ५ लाखले हवाई यात्रा गर्नसक्ने छन् । तर यो दैनिक १२ घण्टाको दरले मात्र हो । चौबिसै घण्टा खुल्ला गर्ने हो भने यो ठ्याक्कै दोब्बर क्षमताको हुनेछ ।

मन्त्री अधिकारीले पोखरा विमानस्थलसँगै अन्य विमानस्थलको निर्माणले पनि तिव्रता पाएको बताएका छन् । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २०२० सम्ममा चौबिसै घण्टा सञ्चालन गर्ने गरी विस्तारको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment