Comments Add Comment

विमानस्थल क्षेत्रमा अक्षरयात्रीः बाँकी घरबास उठेन भनेर खुसी हुनुपर्छ

१७ भदौ, पोखरा ।

दिनुपर्छ सरकारले हामीलाई उचित निकास
विचल्लीमा पर्छौ भने लैजाऊ विकास

कवि शंकर ज्ञवालीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रमा पुगेर गीतका यी हरफ सुनाए । विमानस्थलका लागि सरकारले थप जग्गा अधिग्रहण गर्ला, नगर्ला भन्ने त्रासमा रहेका प्रभावित क्षेत्रका वासिन्दाका पक्षमा उनले रचना प्रस्तुत गरे ।

सरकारले विमानस्थल बनाउँदा उचित मुआब्जा दिनपर्ने, विस्थापितको पीडा र समस्याको हल हुनुपर्ने पक्षमा शनिबार पोखराका केही कविहरुले प्रभावित क्षेत्रमै पुगेर कविता लेखेर सुनाए ।

उड्दै आउनेछन् हावासरी
विशाल बहुतले हावाजहाजहरु
र, ल्याण्डिङ गर्नेछन्
हाम्रा घर, आँगन र खेतबारी पुरेर बनाएको
ठूलो अन्तर्राष्ट्रिय बिमानस्थलमा

नवनीत साहित्य सागरका अध्यक्षसमेत रहेका कवि लक्ष्मण थापाले स्थानीयका खेतबारी पुरेर बनेको विमानस्थलले आहात होइन विकास हुँदैछ भन्ने राहत दिलाउनुपर्ने कविता भाव व्यक्त गरे । सन्दर्भ थियो, १५७ औं अक्षरयात्राको ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै विभिन्न फरकफरक ठाउँमा अक्षरयात्रा गर्दै आएको छ । त्यसैक्रममा भदौको शृंखला विमानस्थल प्रभावित क्षेत्रमा भएको हो ।

अक्षरयात्राका सहभागीले विमानस्थल निर्माण गर्दै गर्दा प्रभावित क्षेत्रका वासिन्दाको दीर्घकालीन समस्याको पनि हल गर्नुपर्ने आवाज उठाए ।

राम्रो छोड सम्बन्ध टुटेन भनेर खुसी हुनुपर्छ
खुलेआम हामीलाई लुटेन भनेर खुसी हुनुपर्छ
यो निर्माणले कसको हित हुन्त बता ए समय
आˆनो बाँकी घरबास उठेन भनेर खुसी हुनुपर्छ

कवि शितल गिरीले विमानस्थल प्रभावित क्षेत्रमै पुगेर मुक्तकका यी हरफहरु सुनाए । आफ्नो थातथलो छुट्ने, नछुट्ने, अरुको घरबास उठेर पनि आˆनो उउठ्दा खुसी हुनेपर्ने अवस्थाको सिर्जना भइरहेकोप्रति कवि गिरीले इंकित गरे ।

प्रभावित क्षेत्रमा पुगेका केही कविहरुले तद्स्थानीय रचना लेखेर सुनाए भने केहीले त्यहाँको अवस्था र स्थानीयका दुखलाई नियालेर फर्केका छन् ।

अक्षरयात्रामा कवि हेमन्त हितैसी, गोविन्दरवण पराजुली, मोहन भण्डारी, भरत पोखरेल लगायतले विमानस्थल र सरकारले लगाएको करमाथि रचना सुनाए ।

प्रभावित क्षेत्रको नेतृत्व गरिरहेका संघर्ष समितिका संयोजक तथा कवि गनेस पौडेलले स्थानीयको अवस्थाका विषयमा जानकारी गराएका थिए । ‘मझेरीपाटन, छिनेडाँडा पोखराका पुरानोमध्येको गाउँ हो । यहाँको आˆनै मौलिक महत्व, परम्परा र संस्कृति छ,’ पौडेलले भने, ‘विमानस्थलकै कारण विस्थापित हुँदा उसको ठाउँमात्रै छुट्दैन, पुस्तेनी सम्बन्ध, संस्कार, संस्कृति र एउटा समाजै छुट्ने स्थिति छ ।’

सन्ध्याका अध्यक्ष अमृत सुवेदीले महिनाको तेस्रो शनिबार ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ जीवनलाई नजिकबाट नियालेर तद्स्थानीय रचनामार्फत आवाजहरुलाई उजागर काम अक्षरयात्राले गर्दै आएको बताए । ‘अक्षरयात्रा निरन्तर चल्ने साहित्यिक अभियान हो । यात्रामा जुन ठाउँ पुग्छौं, त्यहाँको जीवन र जगतलाई यर्थाथतालाई तद्स्थानीय सिर्जनामार्फत बाहिर ल्याउने काम गछौं,’ अध्यक्ष सुवेदीले भने ।

विमानस्थल निर्माणका लागि थप जग्गा अभिग्रहण गर्नका लागि भन्दै पत्र पुगेपछि प्रभावित क्षेत्रका वासिन्दा आन्दोलनमै उत्रिए ।

सरकारको गौरवको परियोजनाका लागि पनि दीगो हिसाबले नसोचि पटक-पटक जग्गा अधिग्रहण गर्ने र उचित मुआब्जा पनि नपाउने भएकाले आन्दोलित स्थानीय आन्दोलित भएका छन् ।

सरकारले स्थानीयको सहमतिमै थप जग्गा अधिग्रहण गर्ने आधिकारिक भनाइ आएपछि यतिबेला आन्दोलन भने रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment