Comments Add Comment

शेरबहादुरलाई भीष्मराजको प्रश्नः नेतृत्वमा जनजाति खोई ?

२० भदौ, काठमाडौं । ‘कहिलेकाहीँ त लाग्छ, कांग्रेसलाई चुनौति दिने पार्टी आए त्यहीँ मिसिन्थेँ । यो बडेमानको आकारभित्र सम्पूर्ण सिद्धिएको जस्तो भएर बस्ने रहर छैन । तर, समयले त्यो ठाउँ पनि कहाँ दिएको छ र ? हिजो लाखापाखा लागेकाहरू धमाधम कांग्रेसमा फर्कँदैछन् ।’

कांग्रेस नेतृत्वमा जनजातिहरुको घट्दो उपस्थितिबारे कुराकानी गर्दैगर्दा केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले माथिको वाक्यांश उद्धृत गरेका हुन् । कुराकानीका क्रममा उनले कांग्रेसबाट फुटेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा यो पार्टीको बैकल्पिक पार्टी बनोस् भन्ने लागेको पनि सुनाए । ‘कांग्रेस छाडा भयो । डोमोक्रेटहरु जाने ठाउँ नै भएन’ उनले भने, ‘मिलोस् भन्दा पनि दुबै फलोस फुलोस् भन्ने थियो । तर, फेरि मिल्यो राम्रो भयो ।’

धेरै कमजोरीका बाबजुद कांग्रेसको विकल्प नभएको भन्दै उनले अब आउने युवा पुस्ताले अहिलेको नेतृत्वले बिर्सिएका आदिवासी जनजातिका मुद्दा सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे ।

कांग्रेसको ८० सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना आदिवासी जनजाति छन्, उनीहरुमध्ये चार जना गुरुङ छन् भने नेवार तीनजना छन् । तामाङ र लिम्बू एक/एक जना छन् । थकाली एकजना छन् । तर, जनजातिमा सबैभन्दा ठूलो हिस्सा (७.१२ प्रतिशत जनसंख्या) भएको मगर समुदायका एकजना पनि छैनन् कांग्रेसमा । पूर्वमा बाहुल्य रहेको राई समुदायको पनि कांग्रेस केन्द्रीय कार्यसमितिमा उपस्थिति शून्य छ ।

हिजो पार्टीको शीर्ष नेतृत्वमा नपुगे पनि भीमबहादुर तामाङ, बलबहादुर राई, भूविक्रम नेम्वाङहरु कांग्रेसमा सम्मानित नेताका रुपमा चिनिन्थे । दिवंगत भएका भीमबहादुर, बलहादुरहरु नै कांग्रेसका त्यस्ता जनजाति नेता हुन्, जसलाई सिंगो आदिवासी जनजाति समुदायले नेताका रुपमा स्वीकार गरेका छन् ।

कमदजम (कर्णाली,महिला, दलित, जनजाति, मधेसी) को नारा दिएर राष्ट्रिय राननीतिमा स्थापित भएका शेरबहादुर देउवा पार्टी सभापति हुँदा पनि किन कांग्रेस जनजातिमैत्री हुन सकेनन् ? जनजातिहरु नेतृत्वमा मात्रै नदेखिएका हुन् कि जनजाति समुदायसँगै कांग्रेस टाढिएको हो ? कांग्रेस नेता भीष्मराज आङदेम्बेसँग गरिएको कुराकानीको सम्पादित अंशः

अब हामी नबोले को बोल्छ ?

नेपाली कांग्रेसमा अझै निर्वाचनको समीक्षा सकिएको छैन । महासमिति बैठकमा पनि यही समीक्षा हुन्छ । तर, निर्वाचन पराजयको समीक्षा गर्दा एकले अर्काको टाउकोमा दोष लगाएर मात्रै पुग्दैन । अन्तरघातलाई दोष दिएर मात्रै पनि पुग्दैन । यी पनि कारण होलान् । तर, सबैभन्दा ठूलो प्रश्न कांग्रेसले आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत वर्गलाई निर्वाचनको बेलामा खोज्यो कि खोजेन भन्ने हो ।

मुस्लिमको मक्का मदिना, हिन्दुको पशुपतिनाथ भने जस्तै कांग्रेसको तीर्थस्थल मोरङलाई भनिन्छ । कृष्णप्रसाद कोइरालादेखि वीपी कोइरालाजस्ता नेताको क्षेत्र हो । तर, त्यही ठाउँमा बारबार लिम्बुवानको मुद्दा किन उठ्छ ?

केन्द्रीय कार्यसमितिको बैठकमा मैले प्रदीप गिरीजीलाई सम्बोधन गरेर सोधेको छु, तपाईंको व्याख्यामा पार्टीको ‘स्कूल अफ थट’ बनेको छ, तपाईँको व्याख्याभित्र आदिवासी जनजाति छ कि छैन ? कांग्रेसबाट फुटेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा तपाईले नै कदमजमको नारा ल्याउनुभयो । त्यो नारालाई व्यवहारमा उतार्न सकेको खोई ? हिजो वीपी कोइराला, किसुनजीहरू हुँदा भन्न जरुरी थिएन । किनभने उहाँहरूले व्यवहारमा लागू गर्नुभएको थियो । आज सबै कुरा भन्नुहुन्छ तर, व्यवहारमा लागु भएको छैन ।

पार्टीको यो दुर्दशा हुनुमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत वर्गको उपेक्षा महत्वपूर्ण हो । हिजो कांग्रेसका लागि लडेकाहरू कहाँ छन् ? आदिवासी जनजातिमध्ये सबैभन्दा बढी जनसंख्या भएको मगर कहाँ छ ? केन्द्रीय कार्य समितिमा जनजाति खोई ?

कांग्रेस कसैको पेवा होइन, बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति बोक्नेहरूको पार्टी हो । यसमा सबैखाले फूल फुल्छन् भन्ने विश्वासले हामी कांग्रेसमा लागिरहेका छौं । तर, अब हामी नबोले को बोल्छ भन्ने ठाउँमा म पुगेको छु र नेतृत्वलाई प्रश्न गरेको हुँ ।

मुस्लिमको मक्का मदिना, हिन्दुको पशुपतिनाथ भने जस्तै कांग्रेसको तीर्थस्थल मोरङलाई भनिन्छ । कृष्णप्रसाद कोइरालादेखि वीपी कोइरालाजस्ता नेताको क्षेत्र हो । तर, त्यही ठाउँमा बारबार लिम्बुवानको मुद्दा किन उठ्छ ? खोई यसलाई बुझ्ने प्रयत्न गरेको ? जातीय राजनीति गर्ने मभन्दा पनि जुनियर भाइहरूले पूर्वाञ्चल थर्काएर बसेका छन् । हाम्रा केन्द्रीय नेताहरूले यसको संवेदनशीलता बुझ्न सक्नु भएन ।

प्रेमराज आङदेम्बे, बलबहादुर राई, भूविक्रम नेम्वाङ, चन्द्र आङदेम्बे लगायतका नेताहरूले नेतृत्व गरेको ठाउँ हो, पूर्वाञ्चल । खोई भूगोलको संवदेनशीलता बझ्न सकेको ? नेताहरूले बुझ्न चाहनुभएन भने आफ्नो घर गरेर आए हुन्छ हामीलाई । तर, हामी त्योे वर्ग समुदायका मान्छे हौं, जसको सम्पूर्ण जीवन पार्टीमा लगानी भएको छ । त्यसरी पार्टीमा लाग्नेहरूलाई पार्टीले किन खोज्दैन, पुछ्दैन भन्ने हाम्रो प्रश्न हो ।

टिकट बाँड्दादेखिकै धेरै तीता अनुभव छन् मसँग । मैले जिल्लाका साथीहरूलाई तिमीहरू केन्द्रमा ज-जसको गुटमा लाग्ने हो लाग तर, जिल्लामा कांग्रेस मात्रै भएर काम गर भनेको छु ।

नुवाकोटमा कांग्रेसले तामाङ समुदायका नेतालाई नेतृत्वमा किन नराख्ने ? तर, केसी र महतहरुको झगडामा क्षेत्र मिलाउँदै जाँदा तामाङलाई अल्पमतमा पारेको आभाष हुन थाल्यो । यद्यपि अहिले जे जसरी भए पनि बहादुरसिंह तामाङ केन्द्रमा आएका छन् ।

रामचन्द्र (पौडेल) दाइ आफूलाई ‘जनजातिको नेता हुँ, मलाई जनजातिले भोट दिएका छन् भन्नुहुन्छ’ । मैले उहाँलाई भनेको छु, भोट त कांग्रेसजनले अरुलाई दिन सक्दैनन्, त्यसैले तपाईलाई दिए । तर, तनहुँमा मगर वा गुरुङलाई जिताएर ल्याउनुभयो भने मात्रै तपार्इँ जनजातिको पनि नेता बन्नुहुनेछ ।

नियन्त्रित छन् कि नेतृत्वमा छन् ?

कांग्रेसभित्र आदिवासी जनजाति नियन्त्रित छन् कि नेतृत्वमा छन् ? यो बहस सुरु भएको छ । सामाजिक मिडियामा आएको त्यस्तो बहसले मलाई पनि छुन्छ । सम्पूर्ण कुरा सिध्याएर, पार्टीमा लागेर, जेलनेल खाएर पनि जनजातिले आग्रह पूर्वाग्रह राखेका छैनन् । यसरी लागेका वर्ग समुदायलाई नेतृत्वमा ल्याउने योजना ल्याउन सकेन भने वा नियन्त्रणमै राख्न चाह्यो भने कांग्रेस कसरी अगाडि बढ्न सक्ला ?

जो इमान्दार छन्, जसले पार्टीलाई शीरमा राखेर अगाडि बढेका छन्, क्रान्ति र पार्टीका लागि सर्वस्व दिन तयार भएका छन् त्यस्ताहरू विस्तारै विस्थापित हुँदै जान्छन् । रातारात धनाढ्य भएका, जो हिजो कहाँ थियो थाहा थिएन । र विभिन्न नाता गाँसेर रातारात धनी भएकाहरू पार्टी नेतृत्वमा हावी हुन आईपुगे । आफूले अंगालेको सिद्धान्त, दर्शनलाई यो विषयसँग जोड्न सकेनौं र समानुपातिकतको नाममा व्यापार गरे जस्तो गर्ने हो भने पार्टी सिद्धिनुको विकल्प छैन । बहुमत नै आयो भने पनि त्यो हात्तीपाइले रोग लागे जस्तो मात्रै हुन्छ । किनभने मुख्य समस्या वर्ग, समुदाय हो । आदिवासी जनजाति, दलित, महिला, मधेशी, अल्पसंख्यकलाई समेट्न सक्नुपर्छ । त्यसमा पनि जनजाति त खम्बै थिए ।

०४६ साल भन्दा अगाडि सबै आफूजस्तो लाग्थ्यो । कुनबेला मरिन्छ भन्ने थाहा थिएन । सँगै चिया खाइन्थ्यो, लोकतन्त्र प्राप्तिका निम्ति लड्ने साझा अभिलाषा थियो । आज रातारात सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्नेहरू हावी भए । यो सबै पार्टीमा छन्, कांग्रेसमा पनि छन् । अहिलेको जस्तो लोकपि्रय मत ल्याउनुपर्ने निर्वाचन प्रणालीमा इमान्दार नेता कार्यकर्ताले सम्पत्ति भएकाहरुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?

जतिसुकै काम गरे पनि हारेपछि इतिहास मेटिन्छ । ‘जो जिता उही सिकन्दर’ हो । चन्दा दिएरै टिकट पाएको रहेछ भने पनि जितेपछि उसैलाई नेता मान्नुपर्ने अवस्थामा पुगिँदो रहेछ ।

शेरबहादुर र रामचन्द्रले सक्दैनन्

उर्बर उमेर क्रान्ति र पार्टीमा लगायौं । तर, प्रजातन्त्र आए पछि पार्टीले त्यो क्रान्तिकारीपनलाई संस्थागत गर्न सकेन । क्रान्तिमा लागेर आएकाहरूले पटक-पटक हारेर मात्रै चुनाव जितेका छन् । जित्ने ठाउँमा दिइएको छैन । चाहे भीमबहादुर तामाङ होस्, चाहे भूविक्रम नेम्वाङ ।

पछिल्लो समय बलबहादुर राई जस्तो सम्मानित नेताको विषयमा पनि विवाद सिर्जना गरिदिए । बहुदल आएपछि उहाँहरू जस्ता नेतालाई जित्ने ठाउँमा दिएको भए कांग्रेसमा जनजातिहरूको आकर्षण बढिराख्ने थियो होला । उनीहरुलाई हार्ने ठाउँमै दिइयो । त्यतिबेलाका क्रान्तिकारीहरू पैसा खर्च गरेर निर्वाचन जित्ने कुरा सोच्न पनि सक्दैनथे । त्यसैले बेलैमा व्यापार, व्यावसायमा लाग्ने साथीहरू पार्टीमा हाबी भएका छन् ।

पार्टीमै लागेर विपन्न भएका इमान्दार जनजातिहरू विस्तारै-विस्तारै नियन्त्रित बन्छन् । नियोजितै त नभनौं तर, कांग्रेसमा जुन वर्ग हावी हुँदै आयो, जसले गफमा ठूलो-ठूलो संस्कृतिको कुरा गरे । पार्टीलाई सबै जाति, भाषा, धर्म, संस्कृतिको हो भने, तर उनीहरूले व्यवहारमा त्यो लागु गराउन सिन्कोसम्म भँचाउन सकेका छैनन् ।

सँधैभरि यस्तै रहन्छ भन्ने मलाई लाग्दैन । कांग्रेस यही अवस्थामा रहनु भनेको जानाजान जातीय पार्टीको खोजी गर्नु हो । भलै, त्यसका लागि नेपालको भूगोल, माटो पानी तयार छैन । त्यसैले कांग्रेसको नयाँ पुस्ताले यसको संवेदनशीलता बुझ्छ होला । शेरबहादुर देउवा र रामचन्द्र पौडेलजीहरूको पुस्तले भने सक्दैन । यसमा म प्रदीप गिरीजीलाई पनि जोड्न चाहन्छु । उहाँ पनि यस्तो विषय सोच्न बुढो भइसक्नुभयो ।

हिजो कर्णाली, दलित, महिला, जनजाति, मधेसीको मुद्दा उठाएको टीम यही हो । खै त ? यो बुझाउन सक्यो ? सकेन भन्दा पनि महत्वपूर्ण कुरा बुझ्नुपर्नेले बुझ्न चाह्यो कि चाहेन भन्ने हो । कांग्रेस प्रजातान्त्रिकबाट शुरु भएको समावेशीता कार्यान्वयनको विषयले शेरबहादुरजीलाई जस त दियो । तर, कागताली परेको थियो जस्तो गरेर छोड्नुभयो । तर, कांग्रेसको नयाँ पुस्ताले यसलाई नजरअन्दाज गर्नुहुँदैन । यसलाई मुद्दा बनाउन सक्नुपर्छ, आन्दोलनका रुपमा अगाडि लैजान सक्नुपर्छ । यद्यपि त्यो पुस्ता नेतृत्वमा पुग्दा उनीहरूको मानसिकता कस्तो हुन्छ म भन्न सक्दिनँ । तर, यो मैले भनिरहेको स्पिरिट छोड्नु भने हुँदैन । बुढाहरूले विस्मृतिमा पुर्‍याएको, तर कांग्रेसको मेरुदण्डको रुपमा रहेको विषयलाई छोड्नुहुँदैन ।

हाम्रा पनि कमजोरी छन्

कांग्रेसले समावेशिताको सवालमा सबै नकारात्मक मात्रै गरेको छ भन्न खोजेको होइन । पार्टीका विभिन्न संरचनामा समावेशीको सिद्धान्तअनुसार सहभागी बनाउने काम भएको छ । चाहे त्यो आरक्षित कोटाबाट किन नहोस् । सक्षम साथीहरू आरक्षण बाहिरबाट पनि आएका छन् । धनराजजी र म आफैं खुल्लाबाट आयौं ।

कहिलेकाँही त लाग्छ, कांग्रेसलाई चुनौति दिने पार्टी आए त्यहीँ मिसिन्थेँ । यो बडेमानको आकारभित्र सम्पूर्ण सिद्धिएको जस्तो भएर बस्ने रहर छैन । तर, समयले त्यो ठाउँ पनि कहाँ दिएको छ र ?

आदिवासी जनजातिको विषयमा अनावश्यक रुपमा आक्रामक भएर लाग्न पनि जरुरी छैन । तत्काल सडकमा नारा लगाउँदा मीठो सुनिएला, तर त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने सोच्नुपर्छ । जस्तो- एकल जातीय पहिचानको कुरा गलत सावित भइसकेको छ । त्यस्तो कुराले हामीलाई टुँगोमा पुर्‍याउँदैनथ्यो, पुर्‍याएन पनि । तर, हामीले पनि हिजो पार्टीलाई तर्साउने काम गर्‍यौं ।

लिम्बुवानका साथीहरू भेट्दा म अहिले भन्ने गर्छु, लिम्बुवान हिजो भूगोल थियो । लिम्बुवान भनेको जाति हो भन्ने काम त तिमीहरूले गर्‍यौ, लिम्बुवान भन्दा तर्सिने अवस्था त तिमीहरूले बनायौ भनेर भन्छु ।

म सँधै बहुपहिचानको पक्षमा उभिएँ । नेपालको भूगोल एकल जातीय पहिचानबाट उठेको होइन भनेर भाषण गरेँ । काँग्रेस मोरङले पहिचानको विषयमा बोल्ने नेता नपाउँदा मलाई बोलाउनु भयो । त्यहाँ पनि मैले आफ्नो यही कुरा राखें । त्यसपछि मलाई देशविदेशमा जनजातिहरूले कालो झण्डा देखाए । हङकङदेखि कोरियासम्म मविरुद्ध मुर्दावादको नारा लाग्यो ।

तर, उनीहरू आज त्यही ठाउँमा आएका छन् । अर्थात् हिजो एकल जातीय नारा लगाउनेहरू आज बहुपहिचानमा आएका छन् । उनीहरूलाई लोकतान्त्रिक बाटोमा ल्याउन कांग्रेसले भूमिका खेल्नुपर्‍यो नि । कांग्रेसले पहल गर्न हामी जस्ता नेताहरू साह्रै धेरै नकारात्मक भएर मात्रै पनि नहुने रहेछ ।

यसका बाबजुद कहिलेकाँही त लाग्छ, कांग्रेसलाई चुनौति दिने पार्टी आए त्यहीँ मिसिन्थेँ । यो बडेमानको आकारभित्र सम्पूर्ण सिद्धिएको जस्तो भएर बस्ने रहर छैन । तर, समयले त्यो ठाउँ पनि कहाँ दिएको छ र ? हिजो लाखापाखा लागेकाहरू धमाधम कांग्रेसमा फर्कँदैछन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment